कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

फास्ट ट्रयाकमा ‘झारा टार्ने’ निर्णय

काठमाडौँ — संघीय संसदको राज्य व्यवस्था समितिले स्थलगत अध्ययनसहित पाँच दिन घण्टौं बैठक बसे पनि काठमाडौं–तराई फास्ट ट्रयाकबारे ठोस निर्णय लिन सकेन । डीपीआरबिनै काम लगाइएको विषय छायामा पारेर समितिले आयोजना निर्धारित समयमै बन्ने गरी अन्तरमन्त्रालय समन्वय गर्न प्रधानमन्त्री कार्यालय, रक्षा र गृह मन्त्रालयलाई निर्देशन दियो ।   

फास्ट ट्रयाकमा ‘झारा टार्ने’ निर्णय

समितिकै सदस्यले यो निर्णयलाई झारा टार्ने खालको भनेका छन् । ‘निर्देशन त दियौं तर झारा टार्ने खालको मात्रै भयो,’ एक सदस्यले भने, ‘निर्देशन दिने बेला हामीबीच कार्यक्षेत्रमै विवाद भयो । यति धेरै छलफल गरेको देखाउन मात्रै निर्देशन दिइएको हो ।’ अर्का एक सदस्यका अनुसार के निर्देशन दिने भन्ने बहसमा तीन घण्टा बितेको थियो । ‘चारपटक सच्याएर मात्रै अन्तिम निर्णय गर्न सक्यौं,’ उनले भने ।


नेपाली सेनाले निर्माण गरिरहेकाले फास्ट ट्रयाक आफ्नो कार्यक्षेत्रमा पर्ने जिकिर गर्दै समितिले खोकना र बुङ्मती क्षेत्र अनुगमन गरी ५ दिन बैठक बसेको थियो । अनुगमनबाट फर्केपछि स्थानीय, आयोजना हेर्ने सेनाका अधिकारीलाई समेत बोलाएर छलफल गरिएको थियो ।


समितिले बुधबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा र सेनाका अधिकारीसँग छलफल गर्‍यो । कात्तिक १५ मा अनुगमन जानुअघि पनि यस विषयमा छलफल भएको थियो । हरेक बैठकमा सभापति शशि श्रेष्ठ र सदस्यहरूको प्रस्तुति हेर्दा डीपीआरबिनै ठेक्का लगाइएको फास्ट ट्रयाकको काम रोक्न निर्देशन दिने छाँट देखिन्थ्यो । बुधबारको बैठकमा समिति सदस्य र मन्त्रीहरूले कार्यक्षेत्रमै प्रश्न उठाएपछि समिति हच्किएको हो ।


खोकना र बुङ्मतीका जनप्रतिनिधि, सरोकारवाला र स्थानीयले निवेदन दिएपछि स्थलगत अनुगमन गरिएको समितिले जनाएको छ । शुक्रबारको बैठकको निर्णय छ, ‘आयोजनाबाट स्थानीयलाई मुआब्जा कम भएको, सांस्कृतिक, ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सम्पदा मासिने सम्भावना देखिएको, अन्तिम डीपीआर तयार नगरी आयोजनाको काम भएको, जनप्रतिनिधि र सरोकारवालासँग भएको सहमति कार्यान्वयन नभएको विषयमा समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।’ भौतिक पूर्वाधार निर्माण यो समितिको कार्यक्षेत्रभित्र नै पर्दैन । समिति सभापति श्रेष्ठले आफ्नो कार्यक्षेत्रमै छलफल गरेको दाबी गर्दै स्थानीयको माग सम्बोधन हुने र समन्वय गरेर बेलैमा काम सक्ने वातावरण बनाउन योगदान गरेको बताइन् ।


प्रकाशित : मंसिर २९, २०७५ २१:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?