भारतमा भेटियो ३३ किलो सुन, तस्करीमा संलग्न दुई जना पक्राउ- समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भारतमा भेटियो ३३ किलो सुन, तस्करीमा संलग्न दुई जना पक्राउ

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतमा दुई नेपाली ३३ किलो सुनसहित पक्राउ परेका छन् । उक्त सुन सनम शाक्य हत्या प्रकरणसँग जोडिएको हुन सक्ने आशंका गरिएको छ । तस्कर समूहले २०७४ माघ पहिलो साता दुबईबाट भित्र्याएको सुन ओसारपसारका क्रममा हराएको भनिएको थियो ।

फाइल तस्बिर ।

भारतीय राजस्व अनुसन्धान अधिकारीले साताअघि कोलकाताबाट नयाँदिल्ली जाँदै गरेको कारको फल्स बटममा लुकाइएको सुनसहित दुई नेपाली पक्रिएका हुन् ।


उनीहरूले बरामद सुनबारे कोलकातास्थित नेपाली महावाणिज्य दूतावासमा पत्राचार गरेपछि मात्रै तथ्य बाहिर आएको हो । पक्राउ पर्नेमा इटहरी घर भएका हेमकुमार शर्मा र राकेशप्रसाद रहेको भारतीय अधिकारीले जनाएका छन् । स्रोतका अनुसार हेमकुमार लामो समयदेखि कोलकाता र सिलिगुडी आउजाउ गरिरहेका थिए । उनका साथबाट नक्कली लाइसेन्ससमेत बरामद भएको छ । महावाणिज्यदूत एकनारायण अर्यालले अवैध सुनसहित दुई नेपाली पक्राउ परेको सूचना गृह मन्त्रालयमा पठाइसकिएको बताए ।


सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा प्रहरी अधिकारीकै भूमिका शंकास्पद देखिएपछि सरकारले २०७४ चैत २० गते सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । विघटित उक्त समितिका एक सदस्यले पक्राउ परेका भनिएका दुई नेपालीको संगठित सुन तस्करीका मुख्य योजनाकार चूडामणि उप्रेती (गोरे) सँग कुनै कनेक्सन भेटिइनसकेको बताए ।


प्रहरी अधिकारीहरूका अनुसार अन्तर्राष्ट्रिय विमानस्थलबाट अक्सर ३३ किलो नै सुन तस्करी हुने गर्छ । त्यसैले बरामद सुन पहिलेकै हो भन्न सकिन्न । २०७३ पुस २१ मा पनि विमानस्थलबाट बाहिरिएको साढे ३३ किलो सुन बरामद भएको थियो । प्रहरी अधिकारीले संगठित सुन तस्करीका मुख्य योजनाकार गोरेको मूलथलो झापा भएको र पक्राउ परेकाहरू पनि छिमेकी जिल्लाका भएकाले उनीहरूबीच केही सम्पर्क हुन सक्ने आशंका गरेका छन् । तर पक्राउ परेकाहरूको विस्तृत बयान नआएसम्म केही भन्न नसकिने उनीहरूले जनाएका छन् ।


अधिकांश अभियुक्त धरौटीमा रिहा

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या आरोपमा जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका अधिकांश अभियुक्त उच्च अदालतको आदेशबाट मुक्त भइरहेका छन् । भरिया भनिएकाको हकमा भने थुनामा राख्ने जिल्ला अदालतको आदेश सदर भएको छ । फागुन १९ गते मोरङ प्रहरीले आपराधिक समूह स्थापना गरी १७ अर्ब १ करोड ८० लाख मूल्य बराबरको करिब ३८ क्विन्टल सुन तस्करीसहित शाक्यको हत्या गरेको माग दाबी गर्दै ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।


दुई साता लामो थुनछेक बहसपछि जेठ ८ गते न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले तत्काल प्रहरी नियन्त्रणमा रहेका ३१ मध्ये २९ लाई थुनामा राख्ने आदेश दिएको थियो । आदेश बदर गरिपाउँm भन्दै अभियुक्तहरूले उच्च अदालतमा निवेदन दिएका थिए । उच्चले निलम्बित एसएसपी दिवेश लोहनी, पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपी प्रजित केसी, व्यापारी सञ्जय खेतान भनिने प्रभात अग्रवाल, रामकुमार तिवारी र मदन सिलवाललाई तारिखमा छोड्ने आदेश दिइसकेको छ ।


उच्चले डीएसपी सञ्जयबहादुर राउतसहित १० जनाको हकमा जिल्ला अदालतको निर्णयलाई सदर गरेको छ । जिल्लाबाट साधारण तारिखमा छुटेका अमर थापामगर र ५ हजार धरौटीमा छुटेका कृष्ण खडकालाई पुन: थुनामा राख्न उच्चले आदेश दिएको छ । त्यसैगरी भरिया भनिएका नरेन्द्र कार्की, मोहन काफले, मदन घिमिरे, लाक्पा शेर्पा र राजन कुमारको हकमा जिल्लाकै आदेश सदर गरेको छ । पछिल्लोपटक गत बिहीबार न्यायाधीश नागेन्द्रलाभ कर्ण र थीरबहादुर कार्कीको इजलासले सुन व्यवसायी विमल पोद्दार र आरके भनिने राजेन्द्रकुमार शाक्यलाई १०–१० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

प्रकाशित : मंसिर २९, २०७५ २१:११
प्रतिक्रिया
पठाउनुहोस्

‘बागदरबार भत्काउनु पर्दैन’

दामोदर न्यौपाने

काठमाडौँ — पुरातत्त्व विभागले गठन गरेको विज्ञ समूहले ऐतिहासिक बागदरबार भत्काउन नपर्ने प्रतिवेदन दिएको छ । सर्वोच्च अदालतले बागदरबारको फेरि अध्ययन गरेर प्रतिवेदन अदालतमा पेस गर्न पुरातत्त्व विभागलाई दुई साताअघि आदेश दिएको थियो ।

काठमाडौं महानगरपालिका रहेको बागदरबार । सर्वोच्च अदालतको आदेशपछि बनेको विज्ञ टोलीले यसलाई प्रबलीकरण गरेर जोगाउन सकिन्छ भनेर प्रतिवेदन दिएको छ । तस्बिर : दामोदर/कान्तिपुर

विभागले इन्जिनियर अध्ययन संस्थानका पूर्वडिन संरचनाविद् प्रेमनाथ मास्के, पुरातत्त्व विभागका पूर्वमहानिर्देशक कोषराज आचार्य र वास्तुकलाविद् काई बाइजे सम्मिलित टोली अध्ययनका लागि मंसिर १७ गते खटाएको थियो ।

बागदरबार नभत्काउन सर्वोच्च अदालतले दिएको आदेश खारेज गर्न काठमाडौं महानगरपालिकाले दिएको रिटको सुनुवाइ गर्दै सर्वोच्च अदालतले स्वतन्त्र विज्ञको टोली खटाई अध्ययन गर्न प्रधानन्यायाधीश ओमप्रकाश मिश्र र न्यायाधीश अनिलकुमार सिन्हाको संयुक्त इजलासले मंसिर ४ गते आदेश दिएको थियो ।

विभागले टोली गठन गर्दा ‘विवादित भवन सबलीकरण गर्न सकिने स्थितिमा छ वा सो भवन भत्काई पुनर्निर्माण गर्नुपर्ने नै हो भन्ने सम्बन्धमा स्पष्ट रायसहितको प्रतिवेदन पेस गर्ने’ एकबुँदे कार्यदेश दिएको थियो । ‘उक्त विवादित भवन भत्काउन नपर्ने र उक्त भवनको विद्यमान संरचनात्मक भागको मर्मत गरी पुनरुत्थान गर्नुपर्ने,’ प्रतिवेदनमा उल्लेख छ, ‘उक्त भवनलाई भूकम्प प्रतिरोधी बनाउन आवश्यक सबलीकरण गर्नुपर्नेसमेत देखिन्छ ।’

काठमाडौं महानगरपालिकाले आफूले प्रयोग गरिरहेको बागदरबार भत्काउने तयारी गरेपछि त्यसलाई जोगाउन सम्पदा संरक्षण अभियन्ता सर्वोच्च अदालत गएका थिए । रिट निवेदनको सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश दीपकराज जोशीको एकल इजलासले नभत्काउन विपक्षीका नाममा आदेश दिएको थियो । प्रधानमन्त्रीदेखि महानगरका मेयरसम्म विपक्षी बनाएर बागदरबार भत्काउने कार्य तत्काल रोक्न उत्प्रेषण परमादेशलगायत अन्य जो चाहिने आदेश, आज्ञा जारीको माग गर्दै वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मा, वरिष्ठ अधिवक्ता रमा पन्त खरेल, काठमाडौं स्कुल अफ लका विद्यार्थी सञ्जय अधिकारी, सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठले अन्तरिम आदेश माग गर्दै रिट दर्ता गरेका थिए । त्यही आदेश खारेज गर्न महानगर सर्वोच्च गएको थियो ।

अन्तरिम आदेश खारेज गर्ने निर्णय गर्न भएको बहसका क्रममा बागदरबारबारे प्रतिवेदनमै विवाद देखिएपछि अदालतले यस विषयमा स्पष्ट पार्न विभागलाई आदेश दिएको थियो । बागदरबारको विषयमा पुरातत्त्व विभागकै दुईथरी पत्र प्राप्त भएपछि अदालत दोधारमा परेको थियो । ‘‘यस विवादित भवन/दरबारको सबलीकरण गरी वर्तमान स्वरूपमा जोगाउन सकिने भन्ने परामर्शदाताको सुझाव रहेका कारण सो भवन भत्काउने कार्य तुरुन्त नगर्नू भनी पुरातत्त्व विभागबाट मिति २०७४ कात्तिक १५ को पत्रमार्फत पत्राचार भएको तर सो पत्राचारविपरीत कामनपाले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनका आधारमा भवन भत्काई पुनर्निर्माण गर्ने भनेर २०७५ जेठ १४ मा विभागले पुनर्निर्णय गरेको देखिएकाले सो भवन सबलीकरण हुन सक्ने हो वा होइन भन्ने विषय नै विवादित रहेको देखियो,’ अदालतको आदेशमा छ, ‘अब स्वतन्त्र विज्ञहरूको टोली खटाई उक्त टोलीबाट विवादित भवन सबलीकरण गर्न सकिने स्थितिमा छ वा सो भवन भत्काई पुनर्निर्माण गर्नुपर्ने हो भन्ने सम्बन्धमा स्पष्ट रायसहितको प्रतिवेदन १५ दिनभित्र यस अदालतमा उपलब्ध गराउनू ।’

प्रतिवेदन आएपछि मात्रै अन्तरिम आदेश खारेज गर्नुपर्ने हो वा होइन भनेर छलफल गरिने अदालतले जनाएको छ । रिटमा उल्लेख भएका विषय गम्भीर प्रकृतिको सरोकार, चासो र महत्त्वको विषय भएकाले मुद्दाको किनारा नलागुन्जेल भवन भत्काउने कार्य अघि नबढाउन आदेश दिइएको थियो । ‘निवेदनमा दाबी लिइएको बागदबार पुरातात्त्विक महत्त्वको नेपालको ऐतिहासिक दरबारसमेत भएकाले यस रिट निवेदनको किनारा नलाग्दासम्मका लागि सो बागदरबारको विद्यमान स्वरूप परिवर्तन गरी कुनै पनि निर्माणसम्बन्धी काम नगर्नू, नगराउनू, सो दरबारको हाल यथास्थितिमै संरक्षण गर्नू गराउनू भनी विपक्षीको नाममा अन्तरिम आदेश दिइएको छ,’ न्यायाधीश जोशीले दिएको आदेशमा उल्लेख छ ।

भुइँचालो गएयता बागदरबारको अध्ययन गरेर प्रतिवेदन दिएको यो पाँचौं पटक हो । यसअघि पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाले चार पटक अध्ययन गरिसकेका छन् । वरिष्ठ पुरातत्त्वविद् तारानन्द मिश्र, विभागका प्रमुख पुरातत्त्व अधिकृत रामबहादुर कुँवर र पुरातत्त्व अधिकृत प्रकाश खडका सम्मिलित टोलीले गरेको अध्ययनमा बागदबार जोगाउन सकिने प्रतिवेदन दिएको थियो । त्यही प्रतिवेदनका आधारमा बागदरबार सबलीकरण गर्न विभागले महानगरलाई निर्देशन दिएको थियो ।

यही प्रतिवेदनअनुसार महानगरले तीन वर्षअघि दरबारलाई सबलीकरण गरेर त्यहाँ सांस्कृतिक संग्रहालय बनाउने योजना सार्वजनिक गरेको थियो । सबलीकरणका लागि बजेटसमेत छुट्याएको थियो । महानगरमा विद्यासुन्दर शाक्य मेयर भएपछि फेरि दरबारलाई भत्काउने प्रक्रिया अघि बढाएका थिए । यससम्बन्धी समाचार कान्तिपुरमा प्रकाशित भएपछि २०७४ कात्तिकमा पुरातत्त्व विभागले दरबार भत्काउने प्रक्रिया अघि नबढाउन पत्राचार गरेको थियो । विभागसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि भत्काउने प्रक्रिया रोक्न पत्राचार गरेको थियो ।

रोकिएको झन्डै १० महिनापछि पुरातत्त्व विभागले फेरि भत्काउन अनुमति दिएको थियो । अनुमतिपत्र पाएपछि महानगरले लिलामका लागि सूचना सार्वजनिक गरेको थियो । सार्वजनिक सूचनाअनुसार ५ वटा कम्पनीले प्रस्ताव पेस गरेको महानगरले जनाएको छ । लिलाम मूल्य ३ करोड ७५ लाख रुपैयाँ रहेको थियो । कबोल मूल्य ४ करोड १ लाख रुपैयाँ रहेको महानगरले जनाएको छ ।

पहिला रोकेको विभागले अहिले प्राचीन स्वरूप नमासिने गरी, प्राचीन निर्माण सामग्री प्रयोग गर्ने गरी निर्माण गर्न अनुमति दिएको थियो । यो अनुमतिसमेत उत्प्रेषण परमादेशमार्फत रद्द गर्न माग गरिएको छ ।

प्रकाशित : मंसिर २९, २०७५ २१:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×