कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

प्रहरीले महिलामाथि एसिड प्रहार गरे भनिएको घटना अदालतबाट कुटपिट ठहर

रमेशकुमार पौडेल

चितवन — बहालवाला प्रहरी नायब निरीक्षक (सई)ले महिलामाथि एसिड प्रहार गरे भनिएको घटनालाई अदालतले कुटपिट ठहर गरेको छ । 

प्रहरीले महिलामाथि एसिड प्रहार गरे भनिएको घटना अदालतबाट कुटपिट ठहर

वैशाख ९ गते भरतपुर महानगरपालिका–१० त्रिचोकमा एक जना महिलामाथि एसिड खन्याएको आरोपमा रत्ननगरमा कार्यरत ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक (सई) रामचन्द्र खनिया समातिएका थिए । सई खनियामाथि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा दायर भएको थियो ।


चितवन जिल्ला अदालतका न्यायाधीश विनोदकुमार गौतमले बिहीबार यो मुद्दा कुटपिटमा परिणत हुने फैसला गरेको अदालतका सूचना अधिकारी केशव पौडेलले जानकारी दिए । सई खनिया विरुद्ध जेठ ३ गते चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।


मुद्दा दायर भएपछि उनलाई पुर्पक्षका लागि थुनामा राख्न भरतपुर कारागार चलान गरिएको थियो । पछि उच्च अदालतले खनियालाई धरौटी लिएर तारेखमा छाड्न भनेको थियो ।


‘ज्यान मार्ने उद्योग अन्तर्गतका गतिविधिहरू नभएको अवस्थामा मुद्दा कुटपिटमा परिणत भएको हो । अब यो निर्णय चित्त नबुझेर अपिल भएमा जिल्ला अदालतको फैसला सदर नभए मात्रै यो सरकारवादी मुद्दा रहन्छ । नभए व्यक्तिवादी मुद्दामा परिणत भयो’ चितवन जिल्ला अदालतका सूचना अधिकारी केशव पौडेलले भने । बहालवाला प्रहरीले नै मलिहामाथि एसिड प्रहार गरेको भनेर त्यो बेला यो खबरले सबैको ध्यान तानेको थियो ।


घटना भएको भोलिपल्ट वैशाख १० गते चितवन आएका गृहमन्त्री रामबहादुर थापाले पीडित महिलालाई अस्पतालमा नै गएर भेटेका थिए । उनले दोषीलाई कडा कारबाही गर्ने आश्वासन दिएका थिए ।


गोरखा स्थायी घर भई भरतपुरमा डेरामा बस्दै आएकी २८ वर्षीय कल्पना श्रेष्ठमाथि सई खनियाले एसिड खनाएको चितवन प्रहरीले जानकारी दिएको थियो । उनको लामो समयसम्म भरतपुर अस्पतालमा उपचार भएको थियो ।


‘महिलामाथि खन्याइएको रसायन एसिड नभएको प्रमाणित भएको थियो । यसैका आधारमा यो मुद्दा ज्यान मार्ने उद्योग नहुने ठहर भएको हुनुपर्छ’ अभियुक्त रहेका सई खनियाका तर्फबाट बहस गरेर अधिवक्ता जगन्नाथ भण्डारीले भने । सई खनियाले कल्पनालाई आफूले दुई लाख रुपैयाँ ऋण दिएको र फिर्ता माग्दा दिन आनाकानी गर्दै आएको बयान दिएका थिए ।


घटना भएको दिनमा ऋण फिर्ता गर्ने विषयमा कुरा हुँदा कल्पना आफैले आफ्नो शरीरमाथि बोतलमा रहेको झोल पदार्थ खन्याएको सई खनियाको बयानमा उल्लेख थियो । कल्पनाले भने ऋण लिएको कुरा अस्वीकार गर्दै आएकी थिइन् । ‘अस्पतालले सुरुमा घातक रसायन भने पनि पछि एसिड नभएको परीक्षण प्रतिवेदन आएको थियो’ अधिवक्ता भण्डारीले भने ।


कल्पनाका श्रीमान् किसन श्रेष्ठको जाहेरीका आधारमा प्रहरीले अनुसन्धान गरेर अदालतमा मुद्दा दायर भएको थियो । ‘फैसला भयो भन्ने सुनेको छु । के कस्ता भयो राम्रोसँग बुझ्न पाएको छैन । म अहिले तनाव मै छु । पछि वकिलसँग कुरा गरेर के भएको हो, के गर्ने हो भन्ने बारेमा राम्रोसँग बुझ्नुपर्ला’ कल्पनाका श्रीमान् किसनले भने । किसन नेपाली सेनामा कार्यरत छन् ।


यो पनि पढ्नुहोस्ः

महिलामाथि एसिड खन्याएकाे अाराेपमा सई पक्राउ

महिलामाथि एसिड फ्याक्ने प्रहरी जेल गए

प्रकाशित : मंसिर २७, २०७५ १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?