२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

सेतकचिनी निकासीमा डेढ दर्जनविरुद्ध उजुरी

जाजरकोट — जथाभावी जडीबुटी चोरी निकासी र वन फँडानी गर्ने डेढ दर्जन व्यवसायीविरुद्ध डिभिजन वन कार्यालयमा उजुरी परेको छ ।

बारेकोट गाउँपालिका ४ स्थित ढोटाचौर सामुदायिक वन क्षेत्रमा व्यवसायीले हजारौं क्विन्टल सेतकचिनी चोरी निकासी गर्नुका साथै सयौं रूख फँडानी गरेको आरोप उनीहरूमाथि छ ।


बारेकोट गाउँपालिका ४ का वीरबहादुर शाही, रविलाल रावत र कालीबहादुर रावतले किटानी उजुरी दिएका थिए । शाही ढोटाचौर सामुदायिक वनका अध्यक्ष हुन् । डिभिजन वन अधिकृत मञ्जुर अहमत कार्यालयको कामको सिलसिलामा काठमाडौंमा रहेकाले उजुरीको अनुसन्धान प्रक्रिया अघि बढ्न सकेको छैन ।


सेतकचिनी चोरी निकासी तथा वन फँडानी आरोपमा बबिता जडीबुटी स्टोर्स देवालगायत प्रोप्राइटर जुम्ला, गुठीचौर गाउँपालिका ५, कुम्रीका भीमबहादुर भण्डारी, निर्मल जनरल स्टोर्स एन्ड सप्लायर्सका प्रोप्राइटर जुम्ला, गुठीचौर गाउँपालिका १ का निर्मल ऐडी, सुष्मा एन्ड सुसल जडीबुटी स्टोर्सका प्रोप्राइटर जुम्ला र गुठीचौर गाउँपालिका ५ का सूर्यबहादुर शाहीविरुद्ध उजुरी दिइएको हो ।


त्यस्तै गुठीचौर गाउँपालिका १ का जनक थकाली, २ का गोपाल बोहरा, जुम्ला, पातारासी गाउँपालिका ३ का जंगवीर बोहरा, गुठीचौर गाउँपालिका ३ गज्र्याङकोटका टंक गिरीलगायत डेढ दर्जनको नाममा उजुरी परेको हो । उनीहरूलाई सामुदायिक वन समिति र डिभिजन वन कार्यालयको अनुमतिबिना जडीबुटी चोरी निकासी तथा वन फँडानी आरोप लागेको छ ।


उजुरीमा व्यवसायीले ढोटाचौर सामुदायिक वन क्षेत्रअन्तर्गत पर्ने दियावाल्ना, लामाडाँडा, गडुल्ने, बार्या, सदन, सुपाकुना, नीलपहरलगायतबाट जबर्जस्ती ५० हजार क्विन्टल सेतकचिनी (खिराङ्लो) संकलन तथा चोरी निकासी गरेको जनाइएको छ ।


त्यस्तै व्यवसायीले सेतकचिनी पकाउन दाउराको निहुँमा सोही वन क्षेत्रमा पाइने भोजपत्र, चिमालो, ठिकुरे सल्ला, कैंयसी, डिग्रे धुपी, रइसलगायत प्रजातिका ५ हजार रूख र हजारौं निगालोको फँडानी गरेको आरोप लगाइएको छ । व्यवसायीले पाटनमा हजारौं जनशक्ति प्रयोग गरी जथाभावी वन फँडानी तथा जडीबुटी चोरी निकासी गरेको अध्यक्ष शाहीले बताए ।

प्रकाशित : मंसिर २७, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?