तातोपानी नाका खुल्ने आशा : यसरी बनाइँदै छ चीन जोड्ने मितेरी पुल 

अनिश तिवारी

तातोपानी (सिन्धुपाल्चोक) — चिनियाँ सरकारी कम्पनी ‘तान् सुन रोड एण्ड ब्रीज कम्पनी’ ले मितेरी पुलको पुनर्निर्माणलाई तिव्रता दिएको छ । भूकम्प, बाढी, बर्खापिच्छे पहिरोले ध्वस्त मितेरी पुलमाथिको बेलीब्रिजको ‘ब्रीज’ निकाल्ने काम धमाधम भइरहेको छ । भुकम्प र भोटेकोसी बाढीले क्षतिग्रस्त मितेरी पुलको तल्लो भाग जिर्ण भएपछि तत्कालै बेलिब्रीज राखिएको थियो । 

‘बेलीब्रीजको ‘ब्रीज’ निकाल्ने र पुलको तल्लो भागबाट ‘डाइर्भसन’ बनाएर ‘ट्रयाक’ खन्ने काम भइरहेको छ,’ चिनियाँ ब्रीज कम्पनीका ठेकेदार ‘पुबु क्वी जी’को भनाइ उद्धृत गर्दै भोटेकोसी गाउँपालिकाका प्रमुख राजकुमार पौडेलले भने। आउँदो ‘मे’ महिनामा यहाँको भौतिक संरचनाको काम सकिसक्ने कार्ययोजना लिएको ठेकेदार कम्पनीले बाढीपछि राखिएका ‘सर्पोट रड’हरु निकालेको उनले सुनाए।

‘ब्रीज’ निकालिसकेपछि केही प्राविधि तैयारी सकेपछि तत्कालै पुरानो संरचना भत्काउन सुरु गरिनेछ। पुल पारीबाट तल्लो छेउसम्म जोडिएको ट्र्याक बनाइसकेपछि मेसिनबाट भत्काउने कार्य गरिने उनको भनाइ छ। सरकारी सम्झौतानुसार आहिलेको ८ मिटर मितेरी पुललाई पछि १२ मिटरको फराकिलो बनाइने कम्पनीले जनाएको छ।
मितेरी पुलपारीको खासासम्मको बजारक्षेत्रलाई ठुला र अत्याधुनिक मेसिनबाट नयाँ प्रविधि अपनाएर पुनर्निर्माण भइरहेको छ। चीनको खासा र कुतीको बीचमा रहेको छेपसाङमा पहिरो जाँदा आएको भोटेकोसी बाढीले तहसनहस भएको सीमावर्ती क्षेत्रको सबै भौतिक संरचनाको मर्मत थालिएको छ।

चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन ग्रुप कम्पनी (सिआरसीसी)ले सीमा जोड्ने सडकको मर्मत सम्भार गरिरहेको छ। ‘सुख्का बन्दरगाह र सडक तथा पुलको कामलाई एकैसाथ अगाडि बढाइनुले नाका खुल्ने शुभ संकेत मिलेको देखिन्छ,’ उनले भने।
तातोपानी क्षेत्रको लिपिङको सडक बनाइसकेपछि सवारी आउजाउ गरेर एकपटक नाका खुलाइने छ। त्यसपछि मितेरी पुलको संरचनासँगै लिपिङ बजारको भग्नावेश बनेको संरचना भत्काउँदै लगिने चीनको योजना छ। चीनको सीमातर्फ सुरक्षार्थ बसेका प्रहरी अधिकारीका अनुसार तातोपानी नाका खुलाउनमा चीन पूर्ण तयारीमा जुटेको छ। क्षतिग्रस्त चिनको मितेरी पुलदेखि खासासम्मको ७ किमी सडक पुनर्निर्माण सकिने तरखरमा रहेको छ।

‘आउँदो ‘मे’ मा नाका खोल्नको लागि भनेर ५ महिना नबित्दै यहाँको भौतिक संरचना तयार बनाइँदैछ,’ खासादेखि मितेरी पुलसम्मको निरीक्षण अनुगमन गरिरहेका चिनियाँ प्रहरी कप्तान टसीले भने।

तातोपानी क्षेत्रको लिपिङको सडक बनाइसकेपछि सवारी आउजाउ गरेर एक पटक नाका खोलाइनेछ। त्यसपछि मितेरी पुलको संरचनासँगै लिपिङ बजारको भग्नावेश बनेको संरचना भत्काउँदै लाने चीनको योजना छ। सडकलाई विशेष रुपमा निर्माण गरिरहेको चीनले अन्य महत्वपूर्ण भौतिक संरचना बलियो बनाउने कार्ययोजना अघि सारेको उनले प्रष्ट्याए। सुख्का बन्दरगाहमा सिधै सामान ओराल्ने लक्ष्य राखेको चीनको केन्द्रिय सरकारले ३ महिनामै बन्दरगाह र ८ महिनामा सडकलाई सकाउन निर्देशन दिएको छ।

‘सुख्का बन्दरगाह रंगरोगन गरेर चिटिक्क भइसकेको छ, सबै भित्रि र बाहिरी संरचना बनाइँदैछ,’ सीमास्थित सशस्त्र प्रहरी बलका डीएस्पी कृष्णगोपाल गुरुङले भने। सीमामा व्यवस्थित सुरक्षामय वातावरण बनाइरहेका उनले कार्यरत चिनिया कम्पनीलाई सघाइरहेको जनाए।

‘उनीहरुले चाहे अनुसारको नियम अनुकुल सुरक्षा दिइरहेका छौं,’ उनले भने। यसअघि नाका खोल्नको लागि चीनले सुरक्षासम्बन्धी दुइपटक अनौपचारिक बैठक राखिसकेको छ। भुकम्पपछि सुनसान बनेको सीमाको भौतिक पुनर्निर्माण हुन थालेपछि हेर्न र घुम्न आउनेले तातोपानी धारा र होटेल भरिन थालेको उनको कथन छ।



प्रकाशित : मंसिर २३, २०७५ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्

झिँगापुर यात्रा

कथा
रत्न प्रजापती

काठमाडौँ — रमाइलो मेला चलिरहेको थियो । मेलामा झिँगापुरको एउटा झिँगा, मौरीगन्जको एउटा मौरी र पुतलीनगरकी एउटी पुतली पनि आएकी थिई ।झिँगा भुनभुन गर्दै घुम्दै थियो । मौरी गुनगुन गर्दै घुम्दै थियो । पुतली पनि फुरफुर गर्दै घुम्दै थिई । एक ठाउँमा पुगेपछि झिँगा, मौरी र पुतलीको जम्काभेट भयो ।

झिँगाले भन्यो, ‘ओहो मौरीदाइ, तपाईंपनि यहाँ ?’ मौरीले भन्यो, ‘अँ, म पनि यहाँघुम्न आएको ।’मौरीले भन्यो, ‘ओहो पुतली नानी, तिमी पनि यहाँ ?’ पुतलीले भनी, ‘हो दाइ, म पनि यहाँ मेला हेर्न आएको ।’‘आहा १ कस्तो रमाइलो । आज सबैसित भेट भयो ।’ झिँगा, मौरी र पुतलीले एकै स्वरमा भने । त्यसपछि झिँगा, मौरी र पुतली सँगसँगै मेलामा घुम्न थाले । सँगै घुम्न पाउँदा उनीहरूनिकै रमाए ।

‘बल्लबल्ल भेट भएको छ, आज मकहाँ जाऔँ न । कस्तो रमाइलो हुन्छ,’ पुतलीले भनी ।
‘होइन, आज मकहाँ जाऔँ न,’ मौरीले भन्यो ।
‘होइन होइन, आज मकहाँ जाऔँ न,’ झिँगाले भन्यो । कसकहाँ जाने होला त ? तीनै जना
दोधारमा परे ।
झिँगाले मनमनै सोच्यो– कस्तो होला त मौरीको मौरीगन्ज ? अनि कस्तो होला पुतलीको पुतलीनगर ? मौरीले मनमनै सोच्यो – कस्तो होला त पुतलीको पुतलीनगर ? अनि कस्तो होला
झिँगाको झिँगापुर ?
पुतलीले पनि मनमनै सोची – कस्तो होला त झिँगाको झिँगापुर ? अनि कस्तो होला मौरीको मौरीगन्ज ? सिंगापुरका बारेमा सबैले सुनेका थिए । सिंगापुर एकदमै सफा, सुन्दर र विकसित सहर हो भन्ने उनीहरूले सुनेका थिए ।
सिंगापुरसाग मिल्दोजुल्दो नाम गरेको यो झिँगापुरचाहिा कस्तो होला ? मौरी र पुतलीको मनमा निकै खुल्दुली मच्चिन थाल्यो । पुतलीले सुटुक्क मौरीको कानमा भनी, ‘झिँगापुर जाऔान ।’ मौरीले पनि पुतलीको कुरामा सहमत हुादै भन्यो, ‘हुन्छ हुन्छ, । कस्तो रहेछ झिँगापुर, एकपटक हेरेर आऔँ,’ मौरी र पुतली झिँगापुर जाने भएपछि झिँगा एकदम खुसी भयो । मौरी र पुतली
पनि झिँगापुरको यात्रामा जाने कुराले निकै रोमाञ्चित भए ।
सबैभन्दा अगाडि झिँगा उड्यो । त्यसपछि मौरी र पुतली उडे । उनीहरू रमाउँदै उड्दै उड्दै झिँगापुरतिर लागे ।
केहीबेर उडेपछि उनीहरू झिँगापुर पुगे । एउटा फोहोरको डुंगुरमा बसेर झिँगाले भन्यो, ‘यही हो हाम्रो घर । मेरो जहान र केटाकेटी यतैकतै खानेकुरा खोज्दै होलान् ।’
‘उफ्, केको दुर्गन्ध हो यो ?’ पुतलीले नाक
थुन्दै भनी । ‘फोहोरको नि अरू केको हुन्थ्यो ।
देखेनौ फोहोरको डुंगुर ?’ मौरीले फोहोरतिर औंल्याउँदै भन्यो ।
मौरी र पुतलीलाई त्यो फोहोरको डुंगुरमा बस्नै मन लागेन । फोहोरको गन्धले उनीहरूलाई वाक्वाकी लाग्न थाल्यो । उनीहरूले सिंगापुर त एकदम सफा, सुन्दर र विकसित सहर भनेर सुनेका थिए । तर यो झिँगापुरचाहिँ किन यस्तो फोहोर र दुर्गन्धित ? मौरी र पुतली मुखामुख गर्न थाले । थरीथरी फूलको मीठो बासना सुँघेर बसेका
मौरी र पुतलीलाई फोहोरको दुर्गन्धले रिँगटा नै लाग्न थाल्यो ।
झिँगाचाहिँ त्यही फोहोरमा निकै रमाइरहेको थियो । फोहोरको डुंगुरमा बसेर झिँगा खुसीले भुनभुन गर्न थाल्यो । मौरी र पुतली उसकहाँ आएकाले ऊ निकै खुसी भएको थियो ।
अरू झिँगाहरू मौरी र पुतली पाहुना आएको देखेर अचम्म मानेर हेरिरहेका थिए,
अब के गर्ने होला ? मौरी र पुतली दोधारमा परे । फोहोरको दुर्गन्धले नै रिँगटा लाग्न थालिसक्यो । अब त्यही फोहोरको डुंगुरमा कसरी बस्ने ? साथी भनेर आइसकेपछि त्यतिकै जान पनि भएन । साथीको अपमान गरेजस्तो हुन्छ । मौरी र पुतलीले त्यहाँबाट उम्कने उपाय सोच्न थाले ।
फोहोरको थुप्रोमा एउटा बिरुवा उम्रिएको रहेछ । मौरी र पुतली त्यसैमा बसे । मौरीले भन्यो, ‘पुतली बहिनी, अब कुनै बहाना बनाएर हामी यहाँबाट उम्किहाल्नुपर्छ । नत्र हामी बिरामी पर्छौं ।’
‘हो मौरी दाइ, म पनि त्यही सोचिरहेछु । अब हामी यहाँबाट छिट्टै उम्किनुपर्छ,’ पुतलीले भनी ।
झिँगाले खुसी हुँदै सोध्यो, ‘साथीहरू, के खानुहुन्छ तपाईंहरू ? तपाईंहरू यहाँ आउनुभएर मलाई असाध्यै खुसी लागिरहेको छ ।’
मौरीले यसो सोचेर भन्यो, ‘मेरो त आज व्रत छ । त्यसैले केही खानु हुँदैन ।’
मेरो पनि आज व्रत हो । त्यसैले म पनि केही खान्नँ,’ पुतलीले झट्टै भनी ।
‘ए... लौ, अब यहाँसम्म आएर तपाईंहरूलाई भोकै पठाउनु त मैले ?’ झिँगाले अपशोच मान्दै भन्यो । ‘ठीकै छ नि । अर्कोपल्ट आउँदा खाउँला नि त,’ मौरीले भन्यो ।
‘हो हो, अर्कोपल्ट आउँदा खाउँला नि । अहिलेलाई हामी जान्छौं है त,’ पुतलीले
हतारिँदै भनी ।
‘लौ त, त्यसो भए म के भनूँ अब । पछिपछि आउँदै गर्नू है त,’ झिँगाले अलिकति खिन्न
हुँदै भन्यो ।
‘हस्... हस्...’ भन्दै मौरी र पुतली त्यहाँबाट टाप कँसे । उड्दा उड्दै मौरीले भन्यो, ‘यो झिँगा त कस्तो फोहोरी जात पो रहेछ । अब यसकहाँ कहिल्यै नआउने है ।’
‘हो त, यस्तो फोहोरीकहाँ को आउँछ । म त अब कहिल्यै आउँदिनँ,’ पुतलीले भनी ।
मौरी र पुतलीको झिँगापुर यात्रा सार्‍है नरमाइलो भयो । झिँगापुर यात्राको अनुभव सार्‍है नमीठो भयो । त्यसपछि उनीहरूले कहिल्यै झिँगाको संगत नगर्ने र उसकहाँ कहिल्यै नजाने अठोट गरे ।

प्रकाशित : मंसिर २३, २०७५ १२:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्