२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

स्त्री शक्तिमा समर्पित किम्फ

काठमाडौँ — सेताम्मे हिउँ र जब्बर चट्टान हिमालको पहिचान । तर, जब यसलाई मान्छेसँग जोडिन्छ, हिमाल सपना र चाहनाको प्रतिक बनिदिन्छ । मान्छेले आफ्ना चाहना पूरा गर्न हिमालसँग कस्तो सम्बन्ध गाँसेका छन् ?

स्त्री शक्तिमा समर्पित किम्फ

यसलाई पहिले कुन रूपमा पुजिन्थ्यो अनि अहिले कसरी हिमाल रंगमञ्च बनिरहेको छ ? यी प्रश्नका जवाफ ‘माउन्टेन’ डकुमेन्ट्रीमा समेटिएका छन् ।


‘जब सहरहरू निर्माण भए हामीले सुख–सुविधा हासिल गर्न थाल्यौं,’ फिल्ममा भनिएको छ, ‘त्यसपछि हामीलाई खतरा महसुस गर्न मन लाग्यो । हामी हिमालतिर गयौं । हामी पैसा तिरेर खतरा हासिल गर्न थाल्यौं । यही क्रममा हिमाल मानव विलासीको रंगमञ्च बन्न थाल्यो ।’ सहर–बजारको कृत्रिमतामा हराएका मान्छेलाई हिमालले नै प्रकृतितर्फ फर्काएको कुरा फिल्ममा उल्लेख छ । अर्केस्ट्रा संगीतको उतार–चढावमा दृश्य दौडाइएका छन्, यो औधी सुन्दर लाग्छ ।


हिमाललाई जिउँदो पात्रका रूपमा प्रस्तुत गरिएको यही डकुमेन्ट्री शुक्रबार काठमाडौं अन्तर्राष्ट्रिय पवर्तीय फिल्म फेस्टिभल (किम्फ) को १६ औं संस्करणको उद्घाटन फिल्मका रूपमा प्रदर्शन गरिएको थियो । निर्देशक जेनिफर पिडमले ‘माउन्टेन’ लाई कवितात्मक फिल्म भन्न रुचाइन् । उनले यसअघि पनि ‘शेर्पा’, ‘मिराकल अन एभरेस्ट’ जस्ता डकुमेन्ट्री बनाएकी थिइन् । स्त्री शक्तिको सम्मानका रूपमा किम्फले यसपालि ‘वुमेन मुभ माउन्टेन्स’ थिम आत्मसात् गरेको छ ।


महिला निर्देशकले हिमाली कथामा बनाएको डकुमेन्ट्री देखाउनुअघि किम्फ आयोजकले पाँच महिलामार्फत फेस्टिभल उद्घाटन गराएको थियो । गायिका आनी छोइङ डोल्मा, पहिलो महिला माउन्टेन गाइड दावा याङजुम शेर्पा, पहिलो महिला टेम्पु ड्राइभर लक्ष्मी शर्मा र तबलावादक सरिता मिश्रले किम्फको ट्यागलाइन उल्लेखित ब्यानर देखाएर फेस्टिभल उद्घाटन गरे । फिल्ममार्फत आफूले धेरै ज्ञान बटुल्ने गरेको गायिका आनी छोइङले बताइन् ।


बीचका केही वर्ष कुमारी हलमा फेस्टिभल सञ्चालन गरे पनि किम्फ यसपालि पुरानै भेन्यु अर्थात् राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डमा फर्किएको छ । साथै, काठमाडौं महानगरपालिका सहआयोजकका रूपमा आबद्ध हुँदा आर्थिक भार कम भएको फेस्टिभल निर्देशक रम्यता लिम्बूले बताइन् । ‘हामीलाई घर फर्केजस्तो भइरहेको छ,’ उनले भनिन् । कार्यक्रममा उपस्थित कामपाका मेयर विद्यासुन्दर शाक्यले चाहिँ यस्ता काममा सहकार्य बढाउँदै लग्ने वाचा गरे ।


शाक्यले फेस्टिभलमा आएका विदेशी फिल्मकर्मीलाई फुर्सद मिले उपत्यका डुल्न पनि अनुरोध गरे । यहाँका विश्व सम्पदा नियाल्न उनले सुझाव दिएका थिए । काठमाडौं जस्तो ऐतिहासिक र सांस्कृतिक सहरमा पाहुनालाई स्वागत व्यक्त गर्दै उनले थपे, ‘हिमालका कारण नेपाल चर्चित छ । हिमालको थप अध्ययन गरेर विश्वभर यसबारे ज्ञान फिजाउन सकिन्छ ।’ किम्फले विश्वका विविध संस्कृति र भूगोल जान्ने अवसर प्रदान गरेको उनको भनाइ थियो ।


फेस्टिभल अध्यक्ष वसन्त थापाले महानगरपालिकासँगको सहकार्य महत्त्वपूर्ण र आवश्यक रहेको बताए । उनले फेस्टिभलमा ७० भन्दा बढी फिल्म समावेश गरिएको जानकारीसमेत दिए । तिनले दर्शकलाई मोहित गर्ने उनको भनाइ थियो ।


फेस्टिभलको पहिलो दिन ‘डोल्पा डायरी’, ‘मोक्ष’, ‘आरजे रिपर’, ‘स्मल कार्निभोरस इन इस्टर्न नेपाल’, ‘अ रोड’, ‘एन अनसर्टेन विन्टर’, ‘नोट्स फ्रम द वाल’ लगायत फिल्म प्रदर्शन गरिएका थिए । शनिबारको सूचीमा ‘नाम्लो’, ‘सुपरमंक’, ‘कथा ७२’, ‘मी भर्सेस माइन’, ‘अ ल्यान्ड सेप्ड बाई विमेन’, ‘इस्केप’ जस्ता फिल्म समाविष्ट छन् ।

प्रकाशित : मंसिर २२, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?