कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पोखरा विश्वविद्यालयमा तनाव, चार विद्यार्थी पक्राउ

लेखनाथ — स्ववियु सचिवको राजीनामा माग्दै विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएपछि पोखरा ३०, ढुंगेपाटनस्थित पोखरा विश्वविद्यालय परिसर बिहीबार तनावग्रस्त बन्यो । 

पोखरा विश्वविद्यालयमा तनाव, चार विद्यार्थी पक्राउ

विश्वविद्यालयका पदाधिकारीका कुर्सी कार्यकक्षबाट बाहिर ल्याएर जलाउन थालेपछि प्रहरीले धरपकड गरेको छ । प्रदर्शनमा उत्रिएका ४ विद्यार्थी पक्राउ परेका छन् । नेविसंघका विष्णु सुवेदी, फिरोज सुवेदी, विकास रानाभाट र दीपेन्द्र गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


उनीहरूलाई डाँडाको नाक प्रहरी चौकीमा राखिएको प्रहरीले जनाएको छ । प्रदर्शनमा उत्रिएका नेविसंघनिकट विद्यार्थीले उपकुलपति र स्ववियु अध्यक्षको कुर्सी जलाएका थिए । नेविसंघले सैद्धान्तिक परीक्षा सकिएपछि स्ववियुबाट विधानत: पदमुक्त हुनुपर्ने भन्दै आन्दोलन चर्काएको थियो ।


स्ववियु सचिव सुरज परियारले स्नातकको परीक्षा सकिएको १ महिनासम्म पनि राजीनामा नदिएको नेविसंघको आरोप छ । नेविसंघका विद्यार्थी प्रदीप सिग्देलले उपकुलपति र रजिस्ट्रारसमक्ष बुधबार आफ्नो माग पूरा गर्न २४ घन्टे अल्टिमेटम दिएको बताए । ‘स्ववियु सचिवले २ तिहाइको दम्भ देखाएर राजीनामा दिएका छैनन्,’ उनले भने, ‘विधानविपरीत गएपछि बाध्य भएर आन्दोलन गर्नुपर्‍यो ।’


स्ववियु अध्यक्ष सुनील तिमिल्सिनाले भने नेविसंघले स्ववियुलाई कुनै ज्ञापनपत्र नबुझाई एक्कासि कुर्सी जलाएको बताए । उनले विधान आफैंमा बाझिने खालको भएको दाबी गरे । ‘विधानमा स्ववियुको कार्यकाल दुई वर्षको हुनेछ भनिएको छ । अर्को बुँदामा सेमेस्टर सकिएपछि कार्यकाल सकिन्छ पनि भनिएको छ,’ उनले भने, ‘पद रिक्ततासम्बन्धी बुँदामा सेमेस्टर सकिएपछि रिक्त हुन्छ भन्ने कतै उल्लेख छैन ।’


बाधा अड्काउ फुकाउन अन्तिम निर्णय विश्वविद्यालयको कार्यकारी बोर्डले गर्ने भएकाले स्ववियुले निवेदन पठाइसकेको उनले जनाए । त्रिभुवन विश्वविद्यालयमा गत वर्ष यस्तै अवस्थामा निर्वाचित भएपछि दुई वर्ष रहन पाउने निर्णय गरेकाले पोखरा विश्वविद्यालयमा पनि उक्त नियम लागू हुनुपर्ने आफ्नो माग रहेको उनले बताए ।

प्रकाशित : मंसिर २१, २०७५ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?