भिसा नवीकरण गर्नै सास्ती : बंगलादेशमा नेपाली विद्यार्थी

अतुल मिश्र

ढाका/बंगलादेश — चिकित्सालगायत विभिन्न विधामा बंगलादेशमा अध्ययनरत करिब ५ हजार नेपाली विद्यार्थी बर्सेनि भिसा नवीकरण गराउनुपर्ने समस्याले पिरोलिएका छन् ।

नवीकरण क्रममा आफैं उपस्थित हुनुपर्ने र प्रहरी रिपोर्ट बनाउनुपर्नेलगायत झन्झटिला व्यवस्थाका कारण नेपाली विद्यार्थी आजित छन् । त्यसका लागि बर्सेनि अनावश्यक रूपमा समय र नाजायज पैसासमेत खर्चनुपर्ने स्थिति रहेको विद्यार्थी बताउँछन् ।


डेल्टा मेडिकल कलेज, ढाकाका एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत मनीष रेग्मी भन्छन्, ‘सबै थोक सहज रूपमै भए पनि एकपटक भिसा नवीकरण गर्दा केही जायज, नाजायज रकमसहित कम्तीमा ३ दिन खर्चनुपर्छ ।’ एकै पटक ५ वर्षका लागि भिसा नपाउँदा विद्यार्थी मारमा परेका हुन् । ढाकास्थित नेपाली दूतावासका अनुसार बंगलादेशमा हाल सबै विधामा अध्ययनरत विद्यार्थीमध्ये करिब ९५ प्रतिशतजति चिकित्सा क्षेत्रमा अध्ययन गरिरहेका छन् ।


विद्यार्थीहरूका अनुसार विगतमा अध्ययन अवधिभरका लागि एकैपटक भिसा दिने गरिएको थियो । दूतावासका अधिकारीले समेत ‘बंगलादेशी सरकारी निकाय’ सँग कुरा गर्दा पुष्टि नगरे पनि धेरैअगाडि ५ वर्षकै लागि समेत भिसा दिने गरिएको उल्लेख गरे । बंगलादेशको सम्बद्घ निकायले भिसा अवधिबारे स्पष्ट रूपमा बोल्ने गरेको छैन । केहीलाई अहिले पनि २ वर्षे भिसा दिन गरिएको दाबीसमेत दूतावास स्रोतले गर्‍यो ।


‘हामीले एक पटक भिसा लिएपछि बर्सेनि नवीकरण गर्नुपरेको थिएन,’ बंगलादेशबाटै चिकित्साशास्त्र अध्ययन गरेका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. भोला रिजालले भने । उनले सन् १९६६ देखि १९७२ सम्म बंगलादेशमै अध्ययन गरेका थिए ।


प्रहरी ‘भेरिफिकेसन’ मा अवैध रकम दिन नचाहने विद्यार्थीले भिसाका लागि महिनौं कुर्नुपर्ने स्थितिसमेत रहेको विद्यार्थीहरूको दुखेसो छ ।


सामान्य रूपमा भिसा नवीकरणका लागि कलेजबाट कागतपत्र लिएर आवेदन गर्न आफू रहेको क्षेत्रमा पर्ने ‘डिपार्टमेन्ट अफ इमिग्रेसन एन्ड पासपोर्ट अफिस’ जाँदा एक दिन लाग्छ । त्यहाँ २ महिनापछि आउन ‘स्लिप’ दिइन्छ ।


करिब दुई सातापछि प्रहरीले फोन गरेर प्रमाणीकरण (भेरिफिकेसन) गर्न बोलाउँछ । यो प्रक्रियामा समेत सबै कुरा सामान्य भए एक दिन लाग्छ । प्रहरीको काम सकेपछि २ महिनापछि बोलाइएको समयमै गएर भिसा लिन समेत एक दिन लाग्ने नेपाली विद्यार्थी बताउँछन् ।


बंगलादेशमै रहेका डा. जोगानन्द साह आफना साथीभाइको अनुभव औंल्याउँदै भन्छन्, ‘नवीकरण गर्न झमेला नभए ३/४ दिन र झमेला भए ३/४ साता वा अझ बढीसम्म लाग्ने स्थिति देखिएको छ ।’ डाइबिटिक एसोसिएसन मेडिकल कलेज, फरिदपुरमा एमबीबीएस चौथो वर्षमा अध्ययनरत निराकार श्रेष्ठ र उनका थुप्रै साथीको भिसा नवीकरण अनुभव दु:खद छ ।


उक्त कलेजमा पढ्ने २५ नेपालीमध्ये १० जनाले एकै पटक भिसा नवीकरणका लागि आवेदन गरेकामा ६ महिनामा बल्ल पाए । अझै १ जनाको नवीकरण भएको छैन । श्रेष्ठ भन्छन्, ‘यो प्रक्रियामा करिब दुई/तीन हजार रुपैयाँ खर्च हुनेमा २३ हजारजति नेपाली रुपैयाँ र त्यतिकै समय खर्च भयो ।


बंगलादेशका नेपाली राजदूत डा. चोपलाल भुसालले समेत बर्सेनि भिसा नवीकरण नेपाली विद्यार्थीका लागि ठुलै समस्या रहेको बताए । ५ वर्षका लागि भिसा दिँदा विद्यार्थीलाई राहत हुने जनाउँदै उनले भने, ‘भिसा नवीकरण ठुलै समस्या हो, बर्सेनि गर्दा आफैं प्रत्यक्ष जानुपर्ने र केही समय दिनुपर्ने हुनाले विद्यार्थीको पठनपाठन प्रभावित भइरहेको हुन्छ ।’ यसका लागि बंगलादेश सरकारसँग वार्ता गरिरहेको उनले जनाए । हाल नेपाली दूतावासले भिसा प्रकरणमा कूटनीतिक ‘लबिइङ’ गरिरहे पनि त्यहाँको संसद्बाटै यो नियम परिवर्तन गर्नुपर्ने हुन्छ ।


संसद्बाट नियम परिवर्तनबारे सकारात्मक आश्वासन पाएको औंल्याउँदै डा. भुसालले भने, ‘यो विषयमा बंगलादेशका प्रधानमन्त्री शेख हसिना, परराष्ट्रमन्त्री अबुल असन महमुद अलि र स्वास्थ्यमन्त्री मोहम्मद नासिमसँग हाम्रो कुराकानी भएको छ ।’ उनका अनुसार बंगलादेशका राजनीतिज्ञहरू संसद्मा यो प्रस्ताव लैजाने प्रक्रियामा छन् ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?