कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

निजगढ विमानस्थल निर्माणमा बाधक बनेका टाँगिया बस्तीवासी भन्छन्, ‘व्यवस्थापन गर, हामी छाड्छौं’

पवन यादव

सिमरा — प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्रमुख बाधक बनेका टाँगिया बस्तीका बासिन्दाले आफूलाई चाँडै सार्न सरकारसँग आग्रह गरेका छन् । आफूहरू विकासको बाधक नभएको भन्दै उपयुक्त स्थानमा सारेर चाँडो विमानस्थल निर्माणका लागि गति दिन आग्रह गरेका हुन् । 

निजगढ विमानस्थल निर्माणमा बाधक बनेका टाँगिया बस्तीवासी भन्छन्, ‘व्यवस्थापन गर, हामी छाड्छौं’


उपयुक्त स्थानमा सारिए आफूहरू जान तयार रहेको जितपुर सिमरा उपमहानगरपालिका १६, टाँगिया बस्तीकी देवीकुमारी आलेमगर बताउँछिन् । ‘बस्ती सर्छ सबैले भन्ने गरेका छन् तर कहाँ सर्ने, कसैलाई कुनै जानकारी छैन,’ उनले भनिन्, ‘पटक–पटक गाउँमा आएका ठूला नेताहरूको टोलीले बस्ती सार्ने भनेका छन्, कहाँ सार्ने हो, अहिलेसम्म कसैले भनेको छैन ।’ संसदीय टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल स्थलगत निरीक्षणका लागि बिहीबार टाँगिया बस्तीमा आएका थिए । उनले पनि बस्ती कहाँ सार्ने हो, स्पष्ट पार्न सकेनन् । वन मासेर आलेमगरको परिवारले १० कट्ठामा खेती गर्दै आएको छ । घर स्थानान्तरण भएपछि परिवारको भरणपोषण कसरी गर्ने चिन्ताले पूरै बस्तीलाई सताइरहेको उनले बताइन् ।

यहाँका बासिन्दाले प्रतिपरिवार २ बिघा ६ कट्ठा जग्गा पाउनुपर्ने, बस्तीमा रहेको घरको मुआब्जा पाउनुपर्ने माग अघि सारेका छन् । नेपाल नेतृत्वको ७ सदस्यीय टोलीले कुरा सुनेर मात्र फर्केको स्थानीय प्रेमबहादुर गोलेले बताए । ‘नेपालको भाषण सुन्दा बस्ती स्थानान्तरण गर्ने आश्वासन मात्र दिएको अनुभव भयो,’ उनले भने ।

बस्ती उठाउनुअघि प्रत्येक घरधनीलाई स्थानान्तरण हुने जग्गाको लालपुर्जा उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । ‘हाम्रो गोठ, गाईबस्तु पनि राज्यले नै ढुवानी गरिदिनुपर्छ,’ उनले भने । ‘अहिलेसम्म कहाँ जाने हो, सरकारी पक्षले टुंगो लगाउन सकेको छैन,’ टाँगिया बस्ती संघर्ष समिति अध्यक्ष रमेश सापकोटाले भने । बस्तीमा रहेका गुम्बा, मन्दिर पनि स्थानान्तरणको व्यवस्था मिलाउनुपर्नेमा उनले जोड दिए । टाँगिया बस्तीमा १४ सय ७६ परिवारको बसोबास छ ।

नेता नेपालले विमानस्थल निर्माणमा सहयोग पुर्‍याउन स्थानीयसँग आग्रह गरे । ‘टाँगिया बस्तीवासीले सहयोग नगरे विमानस्थल अन्यत्र जान सक्ने सम्भावना छ,’ उनले भने, ‘अन्यत्र सार्न धेरै चलखेल भएका छन् । हामीले यहीं विमानस्थल बनाउनुपर्नेमा सुरुदेखि नै जोड दिइरहेका छौं ।’ विमानस्थलकै लागि फास्ट ट्रयाक निर्माण भइरहेको उनले बताए ।

विमानस्थल निर्माण आयोजना कार्यालय सिमराका प्रमुख ओमनारायण शर्माले सकेसम्म कम रूख काटेर निर्माण गरिने दाबी गरे । विमानस्थलको डीपीआर निर्माणका लागि अध्ययन कार्य अहिलेसम्म जारी रहेको उनले जानकारी दिए ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?