१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

निर्मला हत्या प्रकरण : थप तीनमाथि अनुसन्धान

काठमाडौँ — निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न आशंकामा प्रहरीले थप तीन जनामाथि अनुसन्धान अघि बढाएको छ । एक जना राजधानीको सुन्धाराबाट पक्राउ परेका हुन् भने दुई जनालाई सोधपुछका लागि कञ्चनपुरबाट झिकाइएको हो ।

निर्मला हत्या प्रकरण : थप तीनमाथि अनुसन्धान

काठमाडौंमा पक्राउ गरिएका किशोरलाई महानगरीय प्रहरी वृत्त महाराजगन्जमा राखिएको छ । उनी निर्मलाकै गाउँ भीमदत्त नगरपालिका–१८ का हुन् । उनको डीएनए नमुना परीक्षणका निम्ति केन्द्रीय विधिविज्ञान प्रयोगशाला पठाइएको छ ।


यसअघि मुख्य दोषी भन्दै सार्वजनिक गरिएका व्यक्ति डीएनए परीक्षणबाट छुटेपछि प्रहरीले पछिल्लो पक्राउ र अनुसन्धान गोप्य राखेको छ । स्रोतका अनुसार सोमबार राति प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आफैं केन्द्रीय अनुसन्धान ब्युरो पुगेर बुझ्ने काम गरेका थिए ।


घटनाका बेला गाउँमै रहेका ती किशोरलाई यसअघि पनि अनुसन्धानका लागि पक्राउ गरी छाडिएको थियो । त्यसपछि उनी भारत गएका थिए ।


कञ्चनपुरस्थित संवाददाताका अनुसार लागूऔषध दुव्र्यसनीसमेत रहेका उनी दुई महिनाअघि कुखुरा चोरी आरोपमा पक्राउ परेको उनका काकाले जनाए । बुबा भारतमा रोजगारी गर्छन् । परिवार अस्तव्यस्त छ । घरमा कमै बस्ने उनी रातबिरात मात्र आउने गरेको काकाले बताए ।


निर्मला घर फर्किने बाटामा लागूऔषध दुव्र्यसनीको अखडा रहेको र तिनीहरूले एक्लै आउजाउ गर्ने किशोरीलाई अश्लील संकेत गर्दर्ै सताउने गरेको प्रहरीले सूचना पाएको थियो । प्रहरीका अनुसार अहिले अनुसन्धानमा तानिएका तीनै जना त्यस्ता गतिविधिमा संलग्न थिए ।


ब्युरोको आग्रहमा बाँकी दुई जनालाई कञ्चनपुर प्रहरीले काठमाडौं पठाएको हो । ‘केन्द्रबाट केही भेरिफाइ गर्नुपर्ने भन्दै मगाएकाले उनीहरूलाई बुधबार साँझ अभिभावकसँगै जहाजमा काठमाडौं पठाइएको हो,’ डीएसपी कृष्णराज ओझाले भने ।


दुवै किशोरका साथमा उनीहरूका बुबा गएका छन् । आफन्तका अनुसार दुवै जना १८/२० वर्षका छन् । एक कक्षा ११ मा पढ्छन् । ‘उनीहरूलाई पक्राउ गरिएको हैन, सोधपुछका लागि मात्र पठाइएको हो,’ ओझाले भने ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?