१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सत्य खोज्न जुटे पीडित

घनश्याम खड्का

सिरहा — सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिहरूको खोजी गर्ने आयोगले चार वर्षसम्म सत्य पहिल्याउन नसकेपछि द्वन्द्वपीडित आफैं यसलाई बाहिर ल्याउन अघि सरेका छन् । 

द्वन्द्वपीडित साझा चौतारीले सातै प्रदेशमा पुगी घटना सम्बन्धमा जानकारी बटुल्न सुरु गरेको हो । यो साता सिरहाबाट सुरु भएको यस अभियानलाई उनीहरूले ‘सत्यको बयान’ नाम दिएका छन् । ‘हामीमाथि के भएको थियो भनेर सोधखोजसमेत पनि राज्यले गरेन,’ चौतारीका निवर्तमान अध्यक्ष सुमन अधिकारी भन्छन्, ‘त्यसैले अब हामी आफ्नो कुरा आफैं बाहिर ल्याउन लागेका छौं ।’


चौतारीले प्रदेश २, ७ र ४ गरी पहिलो चरणमा मंसिर महिनाभर तीनवटा प्रदेशमा ‘सत्यको बयान’ लिने कार्यक्रम बनाएका छन् । त्यसै क्रममा आइतबार र सोमबार सिरहाको लहानमा प्रदेश २ का पीडितले सत्यको बयान दिएका छन् ।


‘कसैले सोध्न नआए पनि हाम्रै साथीहरू यसरी सम्झेर आइदिनुभएकामा खुसी लागेको छ,’ सत्यको बयानपछि मोरङ गोविन्दपुरकी ४२ वर्षीया लीलादेवी तामाङले भनिन् । पति टंक तामाङलाई प्रहरीले २०६० सालमा गाउँबाटै पक्राउ गरी लगेपछि कसरी आफ्ना दु:खका दिन सुरु भए भन्ने बयान उनले दिँदा सहभागी सबैका आँखा रसाएका थिए ।


‘उहाँलाई सबका अघिल्तिर पाता कसेर भ्यानमा हाली लगेका थिए, हालसम्म बेपत्ता हुनुहुन्छ,’ लीलादेवीले भनिन्, ‘त्यसबेला मोरङमा डीएसपी को थियो र प्रहरीले मेरा श्रीमान्लाई के गर्‍यो भन्ने अझै खुलेको छैन किनभने उहाँ पक्राउ परेको सत्य राज्यले अहिलेसम्म स्विकारेको छैन ।’


आफ्नो ज्यान तलमाथि पर्न गए श्रीमान् पक्राउ परेको सत्य त्यसै हराएर जाला भन्ने डर उनलाई लागेको थियो । घटनाको १५ वर्षपछि सार्वजनिक रूपमा यसबारे बोल्न पाएपछि भने यसै आधारमा बाँकी प्रमाण खोज्न जहिलेसुकै सजिलो हुने विश्वास उनलाई छ ।


पीडितहरूको उमेर बढ्दै जाँदा घटनाबारे नबिर्सिऊन् भनेर अनौपचारिक रूपमा भए पनि सत्यको सार्वजनिकीकरण गरी त्यसलाई भिडियोमा उतारेर राख्न लागिएको चौतारीले जनाएको छ । बाबु, काका र ठूलाबाबु, हजुरबा र फुपाजु गरी पाँचलाई २०५८ देखि २०६० बीचमा सेनाले हत्या गरेको घटना धनुषा सरसा गाउँकी २३ वर्षीया कल्पना यादवले सुनाउँदा पनि माहोल उस्तै भावुक बन्यो ।


सिरहामा भएको ‘सत्यको बयान’ मा लीलादेवी र कल्पनाजस्ता २७ जनाले आफ्नो घटनासँग सम्बन्धित सबुत प्रमाण, घटना मिति र पीडकको नामलगायत विषय खुलाएका थिए भने त्यसबाट आफ्नो जीवनमा हुन गएको क्षति र दु:खको कथा पनि पस्केका थिए ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?