कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

राष्ट्रपति आउँदा उडान रद्द

सुरज कुँवर

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आकाश र ग्राउन्डमा ‘होल्ड’ राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।

राष्ट्रपति आउँदा उडान रद्द

कतार एयरवेजको भीभीआईपी उडान बिहान ११.०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । उक्त विमान काठमाडौंमा १०.४० मा अवतरण गर्ने भनिएकामा आधा घण्टा ढिलो भएको थियो ।

त्यसपछि आधा घण्टाका लागि सबै व्यावसायिक उडान रोकिएका थिए । उडान डिले हुँदा पोखराका लागि बिहीबार तय गरिएका तीन उडान रद्द गर्नुपरेको बुद्ध एयरले जनाएको छ । भीभीआईपी उडान अवतरण गराइँदा सिमराको आकाशमा नेपाल वायुसेवा निगमको एयरबस, जेट एयरवेज तथा आन्तरिक तर्फका बुद्ध र श्री एयरलाइन्सका विमान ‘होल्ड’ मा राखिएका थिए ।

यता काठमाडौंबाट बाहिर जाने विमानलाई स्टार्टअप अनुमति दिइएको थिएन । पछि ट्राफिक चाप बढेकाले काठमाडौं टावरका एयर ट्राफिक कन्ट्रोलरले पश्चिमबाट काठमाडौं आउँदै गरेका श्री र बुद्धसहितका विमानलाई भरतपुरमाथिको आकाशमा होल्डमा राखे ।

काठमाडौंमा भीभीआईपी उडान हुने दिन दिनभर उडान डिले हुन्छन् । ‘आज उसै पनि बिहान नौ बजेमात्रै एयरपोर्ट खुलेको थियो, भीभीआईपी उडानका कारण आन्तरिक विमान तोकिएको समयभन्दा डेढदेखि २ घण्टासम्म डिले भए,’ एक निजी एयरलाइन्सका म्यानेजरले कान्तिपुरसँग भने ।

हिउँदयाममा हुस्सु र तुवाँलोलगायतका कारण पाइलटले आँखाले हेरेर गरिने उडान (भीएफआर) को दाँजोमा उपकरणका सहायतामा गरिने (आईएफआर) उडानमा भर पर्नुपर्छ । उपकरणको विधिबाट हुने उडानमा एउटा जहाज अवतरण भएको करिब ८/१० मिनेटपछि अर्को विमानलाई उड्न एटीसीले अनुमति दिन्छन् ।

काठमाडौंबाट सर्वाधिक उडान गर्ने बुद्ध एयरले बिहीबार ४४ वटा आन्तरिक उडानको तालिका बनाई टिकट बिक्री गरेको थियो । दिनभरै उडान डिले भएकाले पोखराका तीनवटा उडान रद्द गर्‍यो । ‘तीनवटा उडानका करिब २ सय यात्रुलाई काठमाडौंबाट पोखरा र पोखराबाट काठमाडौं ल्याउन सकिएन,’ सम्बद्ध स्रोतले कान्तिपुरसँग भन्यो ।

काठमाडौंबाट दैनिक आन्तरिकतर्फ एकतर्फी १ सय २५ हाराहारी उडान हुन्छन् भने यति नै संख्यामा काठमाडौं भित्रन्छन् । त्यसैगरी अन्तर्राष्ट्रियतर्फ ४८ विमान काठमाडौं आउँछन् र फर्किने पनि यति नै हुने गर्छन् ।

‘अरू सामान्य दिनमा जहाजबीचको सेपरेसन (होल्ड गरिने दूरी) १ हजार फिट हुन्छ, भीभीआई उडानलाई २ हजार फिटको सेपरेसनमा राख्नुपर्छ,’ एक वरिष्ठ एटीसीले भने । नेपाली आकाशभित्र जहाज छिरेपछि नेपाली एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले व्यवस्थापन गर्छन् ।

काठमाडौं विमानस्थलको टावरअन्तर्गत रहेका एयर ट्राफिक कन्ट्रोल सर्भिसअन्तर्गतका तीनवटा टावर (एरोड्रम कन्ट्रोल, एप्रोप र एरिया कन्ट्रोल) मा पनि रेटिङ प्राप्त (मूल्यांकन गरिएका वरिष्ठ) एटीसीको कमान्ड हुनैपर्छ ।

भीभीआईपी उडान अवतरण हुन लाग्दा विमानस्थलमा दमकल, सुरक्षाकर्मी, इन्धन टयाङकरलगायतलाई तयारी अवस्थामा राखिन्छ ।

प्रकाशित : मंसिर २१, २०७५ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?