१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘मिडियाले प्रधानमन्त्रीको खेदो खने’ 

काठमाडौँ — सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी ओलीको सहभागिता र अभिव्यक्तिलाई मिडियाले तोडमोड गरेको आरोप लगाएका छन् ।

‘मिडियाले प्रधानमन्त्रीको खेदो खने’ 

यस्ता समिटमा विगतमा तत्कालीन प्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र कृष्णप्रसाद भट्टराईलगायत पनि सहभागी भएको जनाउँदै उनले मिडियाले अहिले ओलीविरुद्ध मात्र खोइरो खनेको बताए ।


सञ्चार मन्त्रालयमा बिहीबार आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा उनले मिडिया जवाफदेही हुन नसकेको दाबी गरे । सग्लो व्यक्तिलाई क्षतविक्षत बनाएर सूर्यलाई हत्केलाले छेक्ने कोसिस गरिएको प्रतिक्रिया दिएका बाँस्कोटाले त्यसको जवाफदेहिता मिडियाले लिनुपर्छ कि पर्दैन भनी प्रश्न गरेका थिए । ‘यो त भक्तमान र दिलशोभा प्रकरणजस्तै भयो,’ उनले भने, ‘आक्षेप जे पनि लगाइदिएको छ । जवाफदेहिता लिइएको छैन । ती दुई प्रकरण अन्त्यमा पुष्टि भएनन् नि ।’


उनले प्रधानमन्त्री ओली र सरकारमाथि मिडियाले जे पनि आक्षेप लगाउने गरेको बताए । समिटमा प्रधानमन्त्रीले सभ्यता, एसियाली पूर्वीय दर्शन, मुलुकले प्राप्त गरेका शान्ति उपलब्धिको सन्देश बाँडे पनि मिडियाले त्यसलाई ओझेल पारेको उनको आरोप छ ।


‘प्रधानमन्त्रीज्यूले कुनै धर्मको आसक्ति र घृणा गर्नुभएको छैन,’ उनले भने, ‘बुद्ध धर्मको चर्चा भएको छ । हिन्दु धर्मको पनि कुरा भएको छ । त्यो नलेखेर किन खेदो र खोइरो खनिएको हो, बुझ्न सकिएन ।’ समिटमा मन्त्री बाँस्कोटा भने सहभागी थिएनन् ।


प्रकाशित : मंसिर २०, २०७५ २०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?