कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सडक निर्माणमा एसएसबीको अवरोध

दर्ता जग्गामा सडक खन्न नदिएको स्थानीयको गुनासो
भवानी भट्ट

(कञ्चनपुर) — भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सडक निर्माणमा अवरोध गरेको छ । स्थानीयको आग्रहमा भीमदत्त नगरपालिकाले वडा १० मा ट्रयाक खन्न सुरु गरेको थियो । एसएसबीले उक्त सडक दशगजामा पर्ने दाबी गर्दै काम अगाडि बढाउन नदिएको हो ।

सडक निर्माणमा एसएसबीको अवरोध

मंगलबार बिहान ट्रयाक खोल्ने तयारी गर्दा एसएसबीको टोली आएर काममा अवरोध गरेको छ । उक्त टोलीले दशगजाको पहिचान नभएकाले सडक निर्माण नगर्न भनेको थियो । नगरपालिकाका प्राविधिकहरुले सडक सर्भे गरिसकेका थिए । जनप्रतिनिधिले दशगजा बाहिर सडक निर्माण हुन लागेको जानकारी गराए पनि एसएसबीले काम सञ्चालन हुन नसक्ने अडान लिएको छ ।


गड्डाचौकीदेखि श्रीलंका टोलसम्म सडकको ट्रयाक खोल्न सर्भे भइसकेको छ । ४० बढी परिवारले आफ्नो दर्ता जमिन दिएर सडक खुलाउन माग गरेका छन् ।


भीमदत्त नगरपालिका १० गड्डाचौकीदेखि जिमुवासम्म स्थानीयले दर्ता जमिनमा सडक खोल्न आग्रह गरेपछि नगरपालिकाले सर्भे गरेर ट्रयाक खोल्ने तयारी गरेको थियो । सीमा क्षेत्रमा बसोबास गर्ने स्थानीय सडक नहुँदा भारतको खाली जमिन भएर घर आउजाउ गर्दै आएका छन् । सवारी साधनसमेत घरसम्म लैजान नसकिने भएकाले उनीहरुले आफ्नो दर्ता जमिनमै सडक खोल्न आग्रह गरेका छन् । ‘हामीले आफ्नो दर्ता जमिन दिएर सडक खोलिदिन आग्रह गरेका हौं,’ स्थानीय भुवन नाथले भने, ‘तर अहिले एसएसबीले दशगजा भन्दै काम गर्न दिइरहेको छैन, यदि दशगजा हो भने हामीलाई लालपुर्जा कसरी दिइयो ।’ उनले बाटो नहुँदा बर्खामा हिँडडुल गर्न निकै समस्या हुने र सवारी साधनसमेत अर्काकै घरमा राख्नुपर्ने बाध्यताका कारण आफ्नै जमिनमा सडक खोल्न नगरपालिकासँग आग्रह गरेको बताए ।


‘दशगजा छाडेर दर्ता जमिनमै ट्रयाक खोल्न लागेका हौं,’ भीमदत्त नगरपालिका १० का वडा सदस्य प्रेमबहादुर चन्दले भने, ‘एसएसबीले दशगजा हो भनेर जिद्दी गरिरहेको छ, तर हामीले दशगजा भन्दा १/२ मिटरभित्रै सडक खोल्न लागेका हौं ।’ उनका अनुसार गड्डाचौकीदेखि वडा नं. १० कै श्रीलंका टोलसम्म सडकको ट्रयाक खोल्न सर्भे भइसकेको छ । ४० बढी परिवारले आफ्नो दर्ता जमिन दिएर सडक खुलाउन माग गरेको उनले जानकारी दिए ।


सशस्त्र प्रहरीको ३५ नं. गण झलारीका प्रमुख एसपी विनोदराज श्रेष्ठले ट्रयाक खोल्न लागेको क्षेत्र दशगजामा पर्ने वा नपर्ने विषयमा जानकारी लिइरहेको बताए । ‘दशगजामा भारतीय पक्षको सहमतिबिना काम गर्न पाइँदैन,’ उनले भने, ‘यस विषयमा समन्वय गरेर अघि बढिनेछ, तत्काललाई ट्रयाक खोल्ने काम रोकिएको छ ।’


यसअघि पनि गत वर्ष गड्डाचौकी ब्रह्मदेव सडक कालोपत्रे गर्ने क्रममा पाइप राख्दा एसएसबीले अवरोध गरेको थियो । नेपाली भूभागमा निर्माण भइरहेको सडकमा पाइप राख्न नपाइने उसको अडान थियो ।

प्रकाशित : मंसिर १८, २०७५ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?