कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

दमकल किन्न भिक्षा संकलन

जनप्रतिनिधिलाई करोडौंका गाडी
अर्जुन राजवंशी

दमक — दमकल खरिदका लागि शिवसताक्षी नगरपालिकाका युवाले भिक्षा संकलन गरेका छन् । उनीहरूले नगरपालिकाले करोडौंको गाडी खरिद गर्न सकेको तर दमकल खरिद गर्न नसकेकाले सहयोग गर्न भिक्षा मागेको बताएका छन् ।

दमकल किन्न भिक्षा संकलन

भिक्षा संकलन कार्यको नेतृत्व तरुण दलले गरेको थियो । तरुण युवाले नगरको धरमपुर, झिलझिले, दूधे, नहरचोक र ब्याङडाँडामा एक रुपैयाँ भिक्षा मागेका थिए । शुक्रबार भिक्षा मागेर संकलन भएको करिब ५ हजार रुपैयाँ, ११ बोतल पानी र एउटा खाली बोतल बुझाउन युवा नगरपालिका पुगेका थिए ।


तरुण युवा भिक्षा बुझाउन आउने खबर पाएपछि मेयर चन्द्रकुमार शेर्मा कार्यालय गएका थिएनन् । कार्यालयमा रहेकी उपमेयर भोजकुमारी नेपालले दमकल खरिद गर्न संकलन गरिएको भिक्षा बुझ्न नमानेको तरुण नेता विनोद ढकालले बताए ।


उपमेयरले भिक्षा रकम बुझ्न नमाने पनि युवाहरू उपमेयरकै टेबलमा भिक्षा रकम राखेर हिंडेका थिए । ‘उपमेयरले भिक्षा रकम बुझ्ने दायित्व मेरो होइन भन्दै पन्छिन खोजिन् तर हामीले उहाँकै टेबलमा राखेर हिंड्यौं,’ ढकालले भने ।


उनीहरूले शिवसताक्षीमा दमकल नभएकै कारण गत आइतबार राति वडा नं. ७ लालझोडामा एकै परिवारका चार जनाको जलेर मृत्यु भएको आरोप लगाए । उनीहरूले मेयर शेर्माले दमकल पाल्न नसक्ने भनी सञ्चार माध्यममा दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको बताए ।


‘नगरपालिकाले एउटा रोलर, दुइटा टिपर, एउटा एस्काभेटर, दुइटा ट्रलीसहितको ट्याक्टर, १९ वटा मोटरसाइकल, एउटा स्कुटर, मेयरलाई ७० लाखको इसुजु डिम्याक्स गाडी र उपमेयरलाई टाटासुमो किनेर चलाउन सक्ने तर जनताको जीउधनसँग प्रत्यक्ष जोडिएको एउटा दमकल खरिद गर्न नसक्ने ?’ ढकालले प्रश्न गरे ।


लालझोडामा आगलागी हुँदा लक्ष्मण खनाल, उनकी श्रीमती र दुई छोराछोरीको जलेर मृत्यु भएको थियो । शिवसताक्षीमा अग्नि नियन्त्रणका लागि कुनै उपाय नहुँदा आगलागीबाट खनाल परिवार र दुईतले काठको घर पूरै जलेर खरानी भएपछि मात्रै नगरपालिकाको दमकल घटनास्थलमा पुगेको थियो ।

प्रकाशित : मंसिर १६, २०७५ ०७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?