कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आदित्यनाथ जनकपुर आउने निश्चित, तयारीमा जुट्यो प्रदेश सरकार

अजित तिवारी

जनकपुर — मंसिर २६ गते हुने राम–जानकी विवाह महोत्सवमा जन्ती बनेर भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुर आउने निश्चित भएको छ । आदित्यनाथको भ्रमण तयारीमा प्रदेश २ सरकार र जानकी मन्दिर व्यवस्थापनले काम थालिसकेको छ । 

आदित्यनाथ जनकपुर आउने निश्चित, तयारीमा जुट्यो प्रदेश सरकार

जानकी मन्दिर परिसरमा बिहीबारदेखि ठूलो मञ्च(स्टेज)को निर्माण सुरु भएको छ । राम–सीताको प्रतिकात्मक विवाहको सबै बिधिमा उपस्थित रहने गरी आदित्यनाथ आउने भएपछि यसवर्षको विवाह महोत्सवलाई विशेषरूपमा मनाइन लागिएको छ ।


विवाहपञ्चमीको सबै विधि जानकी मन्दिर र रंगभूमि मैदानमा सम्पन्न गरिने छ । विवाह महोत्सवका लागि प्रदेश सरकारले जानकी मन्दिरलाई ५० लाख विनियोजन गरेको छ ।


जानकी मन्दिर र रंगभूमि मैदानमा विशाल मञ्च र पन्डालको निर्माण भइरहेको छ । उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको भाषणको कार्यक्रम नरहे पनि उनीसँग आउने करिब ५ सय जन्तीका लागि मञ्च र पन्डाल निर्माण भइरहेको जानकी मन्दिर व्यवस्थापनले जनाएको छ ।

उत्तर प्रदेशको अयोध्याबाट आदित्यनाथसँगै साधु–सन्त सम्मिलित ५ सयजना जन्ती बनेर आउन लागेको प्रदेश सरकारले जनाएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले रामजानकी विवाह महोत्सवमा सहभागि हुन आदित्यनाथ जनकपुर आउने निश्चित भएको बताए ।


प्रदेश २ सरकारले आदित्यनाथको जनकपुर भ्रमण भव्य बनाउन तयारी थालिसकेको पनि मुख्यमन्त्री राउतले जानकारी दिए । ‘योगी आदित्यनाथको भ्रमण उदाहरणीय बनाउन प्रदेश सरकारले तयारी थालेको छ,’ मुख्यमन्त्री राउतले भने, ‘उहाँको सम्मानमा प्रदेश सरकारले दिवा भोज(भण्डारा)को समेत आयोजना गर्दैछ ।’

प्रदेश सरकारको कार्यालय रहेको जनकपुर चुरोट कारखानामा भोज आयोजनाका लागि तयारी सुरु गरिएको छ । भोजका लागि जचुकालिको कर्भड हल एरियाको खाली चौरमा ठूलो पण्डालको निर्माण गरिँदै छ । ‘मुख्यमन्त्री आदित्यनाथ र उहाँसँग आउने जन्तीका लागि भण्डाराको व्यवस्था मिलाएको छु,’ उनले भने, ‘साधु–सन्तसँगै बसेर आदित्यनाथले भोजन गर्नेछन् ।’


उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ मंसिर २६ गते अयोध्याबाट आउने जन्तीको अगुवाइ गर्दै जनकपुर पुग्दैछन् । प्रदेश सरकारका अनुसार आदित्यनाथ विवाहपञ्चमीको दिन जानकी मन्दिर र रंगभूमि मैदानमा हुने राम–सीताको प्रतिकात्मक वैवाहिक संस्कारको सबै विधिमा सहभागी हुनेछन् ।


नेपाल र भारत सरकारले औपचारिक घोषणा नगरेकाले आदित्यनाथको जनकपुर भ्रमणबारे अन्योल रहेका बेला मुख्यमन्त्री राउतले उनी आउने भनेर नै तयारी भइरहेको बताए । ‘आदित्यनाथ नआउने भए यहाँ (जनकपुरमा) प्रोटोकल अफिसर किन आए ? सुरक्षाका सबै टिम किन सक्रिय छन् ?,’ उनले भने, ‘मेरै अध्यक्षतामा ४–५ पटक सुरक्षा निकायको बैठक बसिसक्यो । आउने भएरै त यतिबिघ्न तयारी भइरहेको छ ।’


प्रदेश सरकारले आदित्यनाथको भाषण बारे कुनै कार्यक्रम नरहेको प्रष्ट पारेको छ । ‘उहाँ बिल्कुल जन्ती बनेर आउन लाग्नु भएको हो,’ मुख्यमन्त्री राउतले भने, ‘विवाह महोत्सवको सबै कार्यक्रममा सहभागी भएर फर्किनु हुनेछ ।’ जन्तीको भेषमा आउने आदित्यनाथले जानकी मन्दिरमा विशेष पूजाअर्चना गर्नेछन् । विवाहपञ्चमीमा नेपाल–भारतका हजारौं धर्मालम्बी जनकपुर पुग्छन् ।


भगवान राम–सीताको विवाहको सम्झनामा हरेक वर्ष मंसिरमा जनकपुरमा विवाहपञ्चमी महोत्सव आयोजना हुँदै आएको छ । नेपाल र भारतका हजारौंको सहभागिता रहने महोत्सवमा भारतको अयोध्याबाट जन्ती आउने चलन छ । २०६१ सालदेखि अयोध्याबाट समूहमै जन्ती आउने परम्परा थालिएको हो ।


जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले विवाहपञ्चमीमा भारतबाट विशेष पाहुना आउन लागेकाले यसपाली विशेष आयोजना गरिएको बताए । उनका अनुसार आदित्यनाथ आफैं ५ सय जन्ती बोकेर विवाहपञ्चमीमा जनकपुर आउँदैछन् ।

प्रकाशित : मंसिर १३, २०७५ १२:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?