कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

निर्मलाका बुवा विमानस्थलमै अलपत्र, स्वास्थ्य झन् बिग्रिएपछि काठमाडौं लैजाने तयारी

भवानी भट्ट

(कञ्चनपुर) — जहाजमा चढ्न नदिएपछि छोरीका हत्यारा सार्वजनिक गर्न माग गर्दै धर्नामा बसेका बेला बिरामी परेका निर्मलाका बुबा यज्ञराज र उनका आफन्त कैलालीको गेटा विमानस्थलमै अलपत्र परेका छन् ।

निर्मलाका बुवा विमानस्थलमै अलपत्र, स्वास्थ्य झन् बिग्रिएपछि काठमाडौं लैजाने तयारी

उपचारका लागि काठमाडौं लैजान विमानस्थल पुर्‍याइएका उनलाई एयरलाइन्सले विमानमा चढाउन नमानेका कारण अलपत्र परेका हुन् ।


छोरीका हत्यारा पत्ता लगाउनुपर्ने माग गर्दै दुई सातादेखि जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना बसेका उनलाई शनिबार साँझ बुद्ध एयरलाइन्सको विमानबाट काठमाडौं लैजाने तयारी थियो । त्यहीअनुसार श्रीमती दुर्गादेवीसँग २ जना अन्य आफन्तसहित साँझ कैलालीको गेटा विमानस्थल पुगेका थिए । तर एयरलाइन्सका कर्मचारीले यो रूप देखाएका व्यक्तिलाई विमानमा चढाउन नसकिने भनेपछि पन्त परिवार विमानस्थलमै अलपत्र परे ।


‘एयरलाइन्सका कर्मचारीले जहाजमा चढ्न दिएनन्, अन्त जान कुनै साधन पाइएन,’ यज्ञराजलाई उपचारका लागि लैजान लागेका उनका भिनाजु गजाधर भट्टले भने, ‘टिकट काटेर पनि जहाजमा चढ्न दिएनन् ।’ उनले अनुमति दिए आफ्नै खर्चमा गाडीको व्यवस्था गरेर भारततिर लैजान तयार रहेको बताए ।


जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यज्ञराजलाई थप उपचारका लागि जहाजबाट काठमाडौं लैजान ४ जनाको टिकटको व्यवस्था गरेको थियो । यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी, भिनाजु गजाधर र भाइ ईश्वर जोशीका लागि टिकट काटिएको थियो । तर साँझ अबेरसम्म पनि प्रशासनले कुनै व्यवस्था नगर्दा उनीहरू विमानस्थलमै अलपत्र परेका थिए ।


‘एम्बुलेन्सबाट भए पनि उपचारका लागि काठमाडौं लैजाने तयारी गर्दै छौं,’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले भने, ‘विमानस्थलमा यज्ञराजको अवस्था झन् बिग्रिएकाले कर्मचारीले जहाजमा चढ्न नदिएको जानकारी आएको छ ।’ उनले धनगढीबाटै एम्बुलेन्स खोजेर पठाउने विषयमा छलफल भइरहेको बताए ।


कात्तिक २५ गतेदेखि छोरीका हत्यारा पत्ता लगाउन माग गर्दै यज्ञराज अनिश्चितकालीन धर्नामा थिए । धर्ना बसेको तेस्रो दिनदेखि नै उनलाई न्यून रक्तचापसँगै ज्वरो र रुघाखोकीको समस्या देखिएको थियो । महाकाली अञ्चल अस्पतालका चिकित्सकहरूले चेकजाँच गरेर औषधि दिएपछि केही निको भएको थियो ।


केही दिनयता उनी जथाभावी बोल्ने, कतिबेला हाँस्ने, कतिबेला रुने, भेट्न आउनेलाई गालीगलौज गर्ने र हातपात नै गर्ने अवस्थामा पुगेका थिए । शुक्रबार उनी महेन्द्रनगर बजारमा गालीगलौच गर्दै हिँडिरहेका थिए । उनलाई प्रहरीको सहयोगमा बजारबाट धर्नास्थल पुर्‍याइएको थियो ।


‘लगातारको धर्ना र मानसिक थकानका कारण केही समस्या देखिएको हो,’ शुक्रबार यज्ञराजको स्वास्थ्य जाँच गरेका महाकाली अञ्चल अस्पतालका डाक्टर सुदीप खरेलले भने, ‘उनी उसै पीडामा थिए, त्यसैमाथि लगातारको धर्ना र धेरै मान्छेसँग बोल्दा थप तनाव भएको हुन सक्छ ।’ अहिले यज्ञराजलाई एकान्त र आरामको खाँचो रहेको उनले बताए । ‘अहिले मानसिक अवस्था बिग्रिसकेको छैन,’ डा. खरेलले भने, ‘तर अहिले नै आराम र उपचार नपाए भोलि समस्या हुन सक्छ ।’

प्रकाशित : मंसिर ८, २०७५ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?