३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

पार्क लथालि‌ङ्गबारे छानबिन समिति गठन

७ दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन

काठमाडौँ — सहरी विकास मन्त्रालयले गोकर्णस्थित ‘राष्ट्रिय सहिद तथा शान्ति पार्क’ निर्माण अवरुद्ध विषयमा छानबिन गर्न सहसचिव चत्रवर्ती कण्ठको संयोजकत्वमा समिति गठन गरेको छ ।

पार्क लथालि‌ङ्गबारे छानबिन समिति गठन

ठेकेदार कम्पनीहरू डेढ वर्षदेखि सम्पर्कविहीन भएपछि निर्माण अवरुद्ध भएको विषयमा सत्यतथ्य पत्ता लगाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गरेको मन्त्रालयका सचिव रमेशप्रसाद सिंहले जानकारी दिए । समितिमा वरिष्ठ डिभिजन इन्जिनियर एकराज अधिकारी र लेखा अधिकृत नानीबाबु सिपखान रहेका छन् ।

‘पार्क लथालि‌ङ्ग छ, निर्माणमा किन ढिलाई भयो ? भनेर तत्काल कारवाही प्रक्रिया अघि बढाउन निर्देशन दिएका छन्,’ उनले भने, ‘समितिले प्रतिवेदन बुझाउने बित्तिकै कानुनी प्रक्रिया अघि बढाउँछौं ।’ पार्कका अलपत्र छाडिएका भौतिक संरचनासमेत भत्कने अवस्थामा पुगेका छन् ।

सरकारले पार्क निर्माणका लागि ४६ करोड विनियोजन गरिसकेको छ । त्यसमध्ये २५ प्रतिशत रकम ठेकेदारले भुक्तानी लिइसकेका छन् । ६ सय ५० रोपनी जग्गामा पार्कका विभिन्न संरचना सुरु गरिएको छ ।

सरकारले २०६४ मा पार्क बनाउन चारवटा ठेकेदार कम्पनीलाई ठेक्का दिएको थियो । लामो समयदेखि काम हुन नसकेको जनगुनासोपछि सहरी विकासमन्त्री मोहमम्मद इस्तियाक राई गत मंगलबार पार्क निर्माणस्थल गोकर्ण पुगेका थिए । पार्कको अवस्था देखेर मन्त्री राईले ठेकेदारलाई कारबाही गर्न सचिव सिंहलाई निर्देशनसमेत दिएका थिए ।

०६२/६३ को लोकतान्त्रिक आन्दोलनको सम्झनामा सरकारले पार्क बनाउन थालिएको हो । डाँफे / गौरी / पर्वत /सुनौला खिम्ती जेभी, सूर्य / आवि /जनपथ/ जेभी, चक्रेश्वरी/ सूर्य/जीवन जेभी निर्माण कम्पनीले उक्त पार्कमा भौतिक संरचना निर्माणको ठेक्का लिएका थिए ।

प्रकाशित : मंसिर ६, २०७५ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?