कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी

न्यूनतम १ देखि बढीमा ३ वर्ष कालोसूचीमा राखिने 
विमल खतिवडा

काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालयले विवादित ठेकेदार कम्पनी पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने भएको छ ।

पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्ने तयारी

सिक्टा सिँचाइ आयोजना कार्यालय बाँकेले सम्झौताअनुसार काम नगरेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न गरेको सिफारिसमा सार्वजनिक खरिद अनुगमन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको छ । कोस्टाल पप्पु जेभीले २० जुन २०१६ मा ९८ करोड ८१ लाखमा २३ किलोमिटर डुडुवा शाखा नहर बनाउने ठेक्का पाएको थियो ।


ठेक्का सम्झौताको अवधि सकिँदा बल्ल ७ प्रतिशतमात्र काम गरेपछि आयोजनाले गत कात्तिक २९ मा पप्पुसितको ठेक्का सम्झौता तोडिएको जनाएको थियो ।


आयोजनाको सिफारिससँगै सार्वजनिक खरिद अनुगमन कार्यालयले उक्त कन्स्ट्रक्सनको तीनकुनेस्थित कार्यालयमा ३० दिनभित्र कालोसूचीमा राख्न नपर्ने आधार/प्रमाण भए खुलाई सम्बद्ध कागपत्रसहित लिखित स्पष्टीकरण पेस गर्न माग गर्दै पत्र पठाएको थियो । तर पप्पुले पत्र बुझ्न नमानेपछि कार्यालयमा फिर्ता आएको छ ।


कार्यालयले ३० दिनभित्र स्पष्टीकरण दिन पप्पुलाई आग्रह गर्दै सोमबार सार्वजनिक सूचना प्रकाशित गरेको छ । सूचना प्रकाशित भएको एक महिनाभित्र कार्यालयमा लिखित स्पष्टीकरण पेस नगरे प्रचलित कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।


‘सूचना निकालेका छौं, सबै कुरा खुलाएका छौं, कालोसूचीमा राख्ने/नराख्ने निर्णय भइसकेको छैन,’ कार्यालयका सचिव मधुप्रसाद रेग्मीले भने, ‘कालोसूचीमा परे कुनै पनि नयाँ ठेक्का प्रक्रियामा पप्पुले भाग लिन पाउने छैन ।’ उनका अनुसार पप्पुले पहिल्यै लिइसकेको ठेक्काको काम भने यथावत् गरिरहन पाउनेछ ।


‘कालोसूचीमा परे पनि चालु ठेक्कामा कुनै प्रभाव पर्ने छैन,’ उनले भने, ‘कालोसूचीको अवधि न्यूनतम एक वर्ष र बढीमा ३ वर्षको हुनेछ ।’ सार्वजनिक खरिद अनुगमन कार्यालय विभिन्न निकाय र आयोजनाको सिफारिसमा सम्झौताअनुसार काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाही गरी कालोसूचीमा राख्ने एकमात्र निकाय हो ।


पप्पु कन्स्ट्रक्सनले सबभन्दा बढी ठेक्का पुलको पाएको छ । सडक विभागको पुल महाशाखाका अनुसार पप्पुले संयुक्त र एकल गरेर ३५ वटा पुलको ठेक्का लिएको छ । ती ठेक्काको कुल रकम ५ अर्बभन्दा बढी छ । ‘कालोसूचीमा परे पनि पहिला लिएको ठेक्काको काम पप्पुले कानुनत: नै गर्नुपर्छ,’ विभागका उपमहानिर्देशक एवं पुल महाशाखाका प्रमुख अर्जुनजंग थापाले भने, ‘पप्पुका सबभन्दा बढी ठेक्का पुलको छ, नयाँ ठेक्कामात्र पाउने छैन ।’


उनले जताततै ठेक्का कब्जा गर्दै आएको पप्पु कालोसूचीमा परे पुराना ठेक्का चाँडै सकिने बताए । ‘कालोसूचीमा पर्दैमा भइरहेको ठेक्कामा कुनै असर पर्ने छैन,’ उनले भने, ‘नयाँ ठेक्का नपाएपछि पुरानो सक्न ऊ बाध्य हुन्छ, त्यसैले बेफाइदा हुन्न ।’ यसअघि पनि पप्पु कालोसूचीमा परेको थियो ।


हुलाकी राजमार्गका अधिकांश ठेक्का पप्पुले नै पाएको छ । हुलाकी राजमार्ग आयोजनाअन्तर्गत १० वटा ठेक्का पप्पुले पाएको छ । सडकको ठेक्का मात्र ५ अर्ब २५ करोड ७४ लाख ७० हजारको छ । पप्पुसित हुलाकी राजमार्गअन्तर्गतका पुलको ठेक्का ७ वटा छन् । ठेक्का रकम १ अर्ब ७ करोड ८४ लाख १५ हजार छ ।


हुलाकी राजमार्गमा ५ वटा २०७३ मा र ५ वटा २०७४ मा ठेक्का सम्झौता भएका हुन् । पप्पुले ती ठेक्काको काम २०७६ र २०७७ भित्रमा सक्नुपर्ने छ । २०६८ मा निर्माण सुरु भएका पुल अझै पूरा भएका छैनन् । अधिकांश पुल अलपत्र छन् । कतै विवाद आएर त कतै निर्माणमा ढिलाइले गर्दा अलपत्र छन् ।

सडक विभागका उपमहानिर्देशक मुक्ति गौतमका अनुसार पप्पु कालोसूचीमा परेपछि पुरानो ठेक्का सम्पन्न गर्नुपर्ने हुन्छ ।


राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका सहसचिव राजुमान मानन्धरका अनुसार पप्पुलाई कालोसूचीमा परेपछि उसले राष्ट्र बैंकको बालुवाटारस्थित भवन निर्माणको ठेक्का पाउने छैन । राष्ट्र बैंकको भवन निर्माणको ठेक्का पाउने निश्चित भए पनि पप्पु विवादित कम्पनी भएका कारण महशाखाले निर्णय गरिदिन माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव पठाएको छ ।


‘निर्णयका लागि प्रधानमन्त्री कार्यालय पठाएको धेरै भयो, अहिलेसम्म केही निर्णय आएको छैन,’ उनले भने, ‘त्यतै अडकी राखेको छ, कुनै जवाफ आएको छैन ।’ उनले पप्पुलाई कालोसूचीमा राख्ने निर्णय भएपछि प्रधानमन्त्री कार्यालयको निर्णय आएमा उसले ठेक्का नपाउने बताए । ‘यदि आशयपत्र जारी हुनुभन्दा अघि प्रधानमन्त्री कार्यालयबाट फाइल फिर्ता गरेर नियमअनुसार गर्नु भन्ने कुरा आए कालोसूचीमा नपर्दै पप्पुले ठेक्का पाउने सम्भावना रहन्छ,’ उनले भने, ‘ठेक्का निर्णय आउन ढिलाइ भएर कालोसूचीमा परे उसले ठेक्का पाउने छैन ।’

प्रकाशित : मंसिर ४, २०७५ ०७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?