ढलको लेदो फेरेर तलाउ

मधु शाही

बाँके — दुई वर्ष पहिले रानी तलाउ घाँस, ढलको लेदो र फोहोरले भरिएको थियो । स्थानीयहरू तलाउनजिक पनि जान मान्दैनथे । अहिले यसको रूपै फेरिएको छ । सरर डुंगा चल्छन् । डुंगा चढ्न र बिदाका दिन घुम्नेको यहाँ घुइँचै लाग्छ ।

ढलको लेदो फेरेर तलाउ

रानी तलाउ सफा र व्यवस्थित भएको देखेपछि स्थानीय भन्न थालेका छन्, ‘फोहोरको डंगुर भइसकेको पोखरी यस्तो सफा भयो, गरे त हुने रहेछ ।’


नेपालगन्ज–८ का त्रिलोका शर्माले पहिलो पटक डुंगाको अनुभव गरेको यही तलाउमा हो । उनले उद्घाटनको दिन नि:शुल्क डुंगा सयर गरिन् । त्यसयता उनी २५ रुपैयाँ टिकट काटेर छोराछोरीसहित तलाउमा घुम्ने र बोटिङ गर्न आउने गर्छिन् । ‘केटाकेटी घुमाउने ठाउँ अभाव थियो,’ उनी भन्छिन्, ‘अहिले बेलुका सधैं रानी तलाउ आउँछौं ।’


तलाउ फोहोर हुने डरले खानेकुराका कागज झोलामै राख्ने गरेको उनले बताइन् । नेपालगन्ज उपमहानगरपालिका–८ वडामा रहेको यो तलाउ डेढ दशकअघि सुन्दर थियो । त्यसपछि बेवास्तामा पर्‍यो । डेढ दशकपछि झन्डै २३ लाख रुपैयाँ लागतमा उपमहानगरपालिकाले मर्मत गरेको हो । तलाउमा चारवटा डुंगा छन् । दुई माली बगैंचा सुन्दर पार्न खटिएका छन् ।


‘हामीले रानी तलाउ सफा राख्न स्थानीयलाई समेत सचेत गराउँदै आएका छौं,’ उपमहानगरका राज आचार्य भन्छन्, ‘बाहिरी खानेकुरा सकेसम्म नल्याउन भनेर क्यान्टिनसमेत राख्ने योजनामा छौं ।’

नेपालगन्ज उपमहानगरपालिकाभित्र रानी तलाउसँगै ‘वाटर पार्क’ र ‘कान्ति ताल’ गरी तीन तलाउ छन् । वाटर पार्क र कान्ति ताललाई समेत व्यवस्थित गर्ने योजनामा उपमहानगरपालिका छ । रानी तलाउको महत्त्व र विशेषता भने बेग्लै छ ।


तलाउ ५ हजार ७ सय १० वर्गमिटरमा समेटिएको छ । दसैंताका उद्घाटन गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल नेपालगन्ज आएका थिए । यसअघि पनि तत्कालीन शिक्षामन्त्री मोदनाथ प्रश्रितले २०५६ माघ २८ गते तलाउ उद्घाटन गरेका थिए ।


संयोग के मिलेको छ भने २०५६ मा तत्कालीन नगरप्रमुख धवलशमशेर राणाले रानी तलाउ सुधारेका थिए । यस पटक पनि उनै नगरप्रमुख भएका बेला तलाउ मर्मत भएको छ । २०५६ पछिका झन्डै चार वर्ष रानी तलाउ बोटिङ तथा जल विहार र पर्यटकीय क्षेत्रका रूपमा विकास भएको नगरप्रमुख राणाले बताए ।


‘पछि द्वन्द्व सुरु भयो, सबै लथालिंग भए,’ उनी भन्छन्, ‘अहिले तिनै अलपत्र परेका ताल संरक्षण गर्ने अभियानमा छु ।’ उनले २ वर्षभित्र नेपालगन्जमा रहेका ताल र पोखरी व्यवस्थित बनाएर आन्तरिक पर्यटक भित्र्याउने योजना बनाएका छन् । तीमध्ये रानी तलाउले भारतीय पर्यटकसमेत आकर्षित गर्ने उनको दाबी छ ।


नेपाली सेनाका तत्कालीन कमान्डरले आफ्नी पत्नीको सम्झनामा १८६० मा यो तलाउ स्थापना गरेको मानिन्छ ।

प्रकाशित : मंसिर ४, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?