रानीपोखरी थुनछेकबारे सेनाभित्र छलफल

कान्तिपुर संवाददाता

काठमाडौँ — सैनिक मुख्यालयले मल्लकालीन भक्तपुरको रानीपोखरी खुला गर्ने/नगर्नेबारे आन्तरिक छलफल थालेको छ ।

भक्तपुर सल्लाघारीस्थित सैनिक इलाकाभित्र रहेको रानीपोखरी । तस्बिर : मकर श्रेष्ठ/कान्तिपुर

रानीपोखरीलगायत पुरातात्त्विक महत्त्वका स्थान जीर्णोद्धार र सर्वसाधारणका लागि खुला हुनुपर्ने भन्दै भक्तपुर नगरपालिकाले तीन महिनाअघि सेनालाई पत्र लेखेर आफूलाई हस्तान्तरण गर्न आग्रह गरेको थियो । ‘नगरपालिकाको पत्र आएको हो,’ नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले भने, ‘पोखरी सैनिक परिसरभित्र पर्छ, त्यसलाई खुला गर्दा उपयुक्त हुन्छ/हुँदैन भनेर छलफल थालेका छौं ।’ यस विषयमा सेनाले छिट्टै उपयुक्त निर्णय गर्ने उनले बताए । पोखरी खुला गर्दा हुने सुरक्षा खतराको समेत विश्लेषण गरेर सेनाले निर्णय लिन लागेको हो ।

सल्लाघारीबाट दूधपाटीतर्फ जाने बाटोको बायाँतर्फ रानीपोखरी छ । पोखरीको दक्षिणतर्फ मूलबाटो, पश्चिममा कलेज र उत्तरपूर्वमा सैनिक आवासीय महाविद्यालयको खेल मैदान छ । नगरपालिकाले विगतमा पनि पोखरी हस्तान्तरणका लागि पत्राचार गरेको सैनिक मुख्यालयले जनाएको छ ।

नगरपालिकाले भदौमा दोस्रो पटक रानीपोखरी खुला गर्न पत्राचार गरेको हो । यसअघि २०७१ वैशाख १९ मा प्रधानमन्त्रीलाई सम्बोधन गरेर पोखरी खुला गर्न पत्राचार भएको थियो ।

नगरपालिकाले भदौ ४ मा रक्षामन्त्रीलाई सम्बोधन गरेको पत्रमा सल्लाघारीको च्वंगा गणेश मन्दिर परिसर, रानीपोखरी, सार्वजनिक पाटीको परिसर र दुग्ध विकास संस्थानको भवन भएको जग्गा स्थानीय जनताको मागअनुसार सार्वजनिक हुने गरी नगरपालिकाको नाममा गरिदिन आग्रह गरिएको छ ।

‘ऐतिहासिक रानीपोखरी र सार्वजनिक पाटी अविलम्ब जीर्णोद्धार गर्नु आवश्यक छ,’ पत्रमा भनिएको छ, ‘उक्त स्थान सैनिक महाविद्यालयको नाममा दर्ता रहेको हुँदा जीर्णोद्वार कार्यमा विलम्ब भइरहेको छ ।’ पत्रको बोधार्थ प्रधानमन्त्री कार्यालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सैनिक मुख्यालयलाई दिएको छ ।

मन्त्रालयका प्रवक्ता बाबुराम गौतमले नगरपालिकाले पठाएको पत्रबारे राय माग गरेर सैनिक मुख्यालय पठाइएको बताए । सैनिक मुख्यालयबाट पोखरी सार्वजनिक गर्ने/नगर्ने निर्णय नभए पनि नगरपालिकाले सेनाकै सहयोग लिएर रानीपोखरी सरसफाइ सुरु गरेको छ । नगरप्रमुख सुनील प्रजापति, अन्य जनप्रतिनिधि, विद्यार्थी र सर्वसाधारणसहितले शनिबार पोखरी आसपासको झाडी सफा गरेका थिए ।

प्रकाशित : मंसिर ३, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्

प्रहरीको १०० मा अब एसएमएस पनि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल प्रहरीलाई १०० नम्बरमा एसएमएस गरी घटना र अपराधको जानकारी दिन सकिने भएको छ । प्रहरीले आइतबारदेखि ‘एसएमएस सेवा’ थालेको हो ।

यो सेवाले अपराध नियन्त्रणका लागि सूचना लिन सहज हुने विश्वास प्रहरीले व्यक्त गरेको छ । निमित्त महानिरीक्षक पुस्कर कार्कीले १३औं महानगरीय प्रहरी दिवसका अवसर पारेर सेवाको सुरुवात गरे ।

प्रहरीले टोल फ्री नम्बर १०० मा एसएसएस पठाउँदा शुल्क लाग्ने छैन ।

प्रकाशित : मंसिर २, २०७५ २१:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्