१ लाखको खुकुरी- समाचार - कान्तिपुर समाचार

१ लाखको खुकुरी

रासस

बागलुङ — हेर्दै अजंगको, तौल ३५ किलो र मूल्य पनि रु. ९९ हजार ९ सय ९९ तोकिएको खुकुरी हेर्नेको भीड बिक्री कक्षमा छ । कालिगड मनबहादुर विकलाई खुकुरीबारे जानकारी दिँदैमा फुर्सद छैन ।

अहिले बडिगाड महोत्सव छिर्नेहरूको ध्यान खुकुरीले खिचेको छ ।


स्थानीय सीपबाट बनेको खुकुरी महोत्सवको आकर्षण बनेको हो । उक्त खुकुरी बनाउन आठ दिन लागेको कालिगड विकले बताए ।


३८ वर्षीय विकले १३ वर्षको उमेरदखि उक्त पेशा अपनाउँदै आएका छन् । उनले महोत्सवमा खुकुरीसँगै अन्य घरेलु हातहतियार भाँडाकुडा बिक्रीमा राखेका छन् ।


विगत सात वर्षदेखि बुर्तिवाङ बजारमा 'बुर्तिवाङ आरन सेवा' सञ्चालन गर्दै आएका विकले भने,'मेला तथा महोत्सव हुँदा ‘स्टल’ राख्छु । एउटा महोत्सवमा जाँदा करिब एक लाखसम्म कमाइ हुन्छ ।' छिमेकी जिल्ला गुल्मी, पाल्पा लगायत स्थानमा हुने मेला, महोत्सवमा पनि उनी स्टल लिन्छन् ।


आगन्तुकलाई लोभ्याउने गरी बनाएको खुकुरी किन्ने भन्दा पनि हेर्ने बढी हुन्छन् । सोख र पैसा भएकाले सजावाटका लागि ठूलो खुकुरी किन्ने गर्छन् । 'ठूलो र महंगो खुकुरीको विशेष माग हुँदा मात्र बनाएर बेच्छौँ' कालिगड विकले भने,'महोत्सवमा आउने दर्शकले अनौठो मानेर उक्त खुकुरीबारे जिज्ञासा लिने गरेका छन् ।'


फलामलाई आरानमा गालेर र घनले पिटेर खुकुरीको रुप दिन कडा मेहनत लागेको उनको भनाइ थियो । विकलाई व्यवसायमा उनकी श्रीमती सरिताले पनि साथ दिँदै आएकी छन् । मेला–महोत्सवमा आफ्नो उत्पादन लिएर जाँदा विक दम्पतिसँगै जान्छन् । विकको व्यवसायमा अन्य छ कालिगडले रोजगारी पाएका छन् ।


सबै खर्च कटाएर मासिक एक लाख आम्दानी हुने गरेको विक बताउँछन् । 'आरन हाम्रो पुर्ख्यौली पेशा हो' विकले भने,'अहिले आरनलाई सुधारेर व्यावसायिक बनाएको छु ।'


बडिगाड गाउँपालिकामा पहिलोपटक आयोजना गरिएको ‘बडिगाड महोत्सव तथा पौँदी न्वागी मेला’मा घरेलु तथा स्थानीय उत्पादनलाई प्राथमिकता दिइएको छ । महोत्सव यही मंसिर ९ गतेसम्म चल्नेछ ।


महोत्सवमा विविध खेलकूद तथा सांस्कृतिक कार्यक्रम राखिएको महोत्सव आयोजक समितिका अध्यक्ष कलाधर घिमिरेले बताए । उक्त महोत्सव शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरेका थिए ।

प्रकाशित : मंसिर २, २०७५ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्

'संक्रमणकालीन न्यायको पक्ष हालसम्म अपूर्ण '

द्वन्द्व पीडित साझा चौतारीको अधिवेशन मंसिर ४ र ५ गते काठमाडौंमा हुने
कान्तिपुर संवाददाता

काठमाडौँ — संक्रमणकालीन न्यायको पक्ष हालसम्म अपूर्ण रहेको द्वन्द्व पीडित साझा चौतारीले जनाएको छ ।

यही मंसिर ४ र ५ गते हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा आइतबार एक विज्ञप्ति निकाल्दै चौतारीले नेपालको शान्ति प्रक्रिया पूरा हुन संक्रमणकालीन न्यायका सबै सरोकारवालाहरुलाई स्वीकार्य हुने निष्कर्षले मात्र यो प्रक्रियाको टुंगो लाग्ने जनाएको हो ।

विस्तृत शान्ति सम्झौताले आगामी मंसिर ५ गते १२ वर्ष पूरा गर्दैछ । शान्ति सम्झौताले परिकल्पना गरे अनुसार मुलुकमा संविधान निर्माण भई राज्य पुनर्संरचनाको कार्य पुरा भएपनि संक्रमणकालीन न्यायको पक्ष भने हालसम्म अपूर्ण रहेको द्वन्द्व पीडित साझा चौतारीले जनाएको छ ।

चौतारीले नेपालको शान्ति प्रक्रिया पूरा हुन संक्रमणकालीन न्यायका सवै सरोकारवालाहरुलाई स्वीकार्य हुने निष्कर्ष सहित यो प्रक्रियाको टुङ्गो लगाउन माग राखेको हो।

राष्ट्रिय सम्मेलनमा देशका सबै जिल्लाका २ सय भन्दा बढी पीडित प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । राष्ट्रिय सम्मेलन आयोजनाको दौरानमा द्वन्द्व पीडितका माग र मुद्दासँग सरोकार राख्ने संस्था, संगठन र व्यक्तित्वहरुबाट व्यक्त भएको चासोलाई द्वन्द्व पीडित साझा चौतारीले गम्भीरतापूर्वक ग्रहण गरेको विज्ञप्तिमा उल्लेख छ ।

अध्यक्ष भागीराम चौधरी र महासचिव जनकबहादुर राउतको हस्ताक्षर गरिएको विज्ञप्तिमा संक्रमणकालीन न्यायको सिद्धान्त र पीडितको भावनाअनुरुप सत्य अन्वेषण, पीडितलाई न्याय र परिपूरण, पीडकलाई सजाय, राष्ट्रिय मेलमिलाप कायम गर्दै भविष्यमा द्वन्द्वका कारणले मानव अधिकार हनन् नदोहोरिने कुराको सुनिश्चितता गर्ने उद्देश्यले राष्ट्रिय सम्मेलनको आयोजना गरिएको उल्लेख छ ।

प्रकाशित : मंसिर २, २०७५ २०:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×