कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

'संक्रमणकालीन न्यायको पक्ष हालसम्म अपूर्ण '

द्वन्द्व पीडित साझा चौतारीको अधिवेशन मंसिर ४ र ५ गते काठमाडौंमा हुने

काठमाडौँ — संक्रमणकालीन न्यायको पक्ष हालसम्म अपूर्ण रहेको द्वन्द्व पीडित साझा चौतारीले जनाएको छ ।

यही मंसिर ४ र ५ गते हुने राष्ट्रिय अधिवेशनको पूर्वसन्ध्यामा आइतबार एक विज्ञप्ति निकाल्दै चौतारीले नेपालको शान्ति प्रक्रिया पूरा हुन संक्रमणकालीन न्यायका सबै सरोकारवालाहरुलाई स्वीकार्य हुने निष्कर्षले मात्र यो प्रक्रियाको टुंगो लाग्ने जनाएको हो ।


विस्तृत शान्ति सम्झौताले आगामी मंसिर ५ गते १२ वर्ष पूरा गर्दैछ । शान्ति सम्झौताले परिकल्पना गरे अनुसार मुलुकमा संविधान निर्माण भई राज्य पुनर्संरचनाको कार्य पुरा भएपनि संक्रमणकालीन न्यायको पक्ष भने हालसम्म अपूर्ण रहेको द्वन्द्व पीडित साझा चौतारीले जनाएको छ ।


चौतारीले नेपालको शान्ति प्रक्रिया पूरा हुन संक्रमणकालीन न्यायका सवै सरोकारवालाहरुलाई स्वीकार्य हुने निष्कर्ष सहित यो प्रक्रियाको टुङ्गो लगाउन माग राखेको हो।


राष्ट्रिय सम्मेलनमा देशका सबै जिल्लाका २ सय भन्दा बढी पीडित प्रतिनिधिहरुको सहभागिता रहने बताइएको छ । राष्ट्रिय सम्मेलन आयोजनाको दौरानमा द्वन्द्व पीडितका माग र मुद्दासँग सरोकार राख्ने संस्था, संगठन र व्यक्तित्वहरुबाट व्यक्त भएको चासोलाई द्वन्द्व पीडित साझा चौतारीले गम्भीरतापूर्वक ग्रहण गरेको विज्ञप्तिमा उल्लेख छ ।


अध्यक्ष भागीराम चौधरी र महासचिव जनकबहादुर राउतको हस्ताक्षर गरिएको विज्ञप्तिमा संक्रमणकालीन न्यायको सिद्धान्त र पीडितको भावनाअनुरुप सत्य अन्वेषण, पीडितलाई न्याय र परिपूरण, पीडकलाई सजाय, राष्ट्रिय मेलमिलाप कायम गर्दै भविष्यमा द्वन्द्वका कारणले मानव अधिकार हनन् नदोहोरिने कुराको सुनिश्चितता गर्ने उद्देश्यले राष्ट्रिय सम्मेलनको आयोजना गरिएको उल्लेख छ ।

प्रकाशित : मंसिर २, २०७५ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?