कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नौ वर्षपछि कोइराला निवासमा चहलपहल

लीलावल्लभ घिमिरे

विराटनगर — गिरिजाप्रसाद कोइरालाको निधनपछि खासै चहलपहल नदेखिने 'कोइराला निवास'मा आइतबार बिहानैदेखि नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । कोइराला परिवारको उत्तराधिकारी बन्ने होडमा रहेका शशांक, सुजाता र शेखर कोइराला एउटै कार्यक्रममा सहभागी भएको अवसरमा कोइराला निवासमा नौ वर्षपछि उक्त चहलपहल देखिएको हो ।

नौ वर्षपछि कोइराला निवासमा चहलपहल

केन्द्रीय समिति बैठक छाडेर आएका महामन्त्री शशांक र केन्द्रीय सदस्य सुजाता आइतबार एउटै जहाजमा विराटनगर ओर्लिए । शनिबारै यहाँ आएका अर्का केन्द्रीय सदस्य शेखर कोइराला उनीहरुको स्वागतमा निवासमै थिए । निवासको पुरानो कौसीमा राखिएको कालो कुर्सीमा बसेका शेखरले दायाँतर्फ सुजाता र बाँया शशांकलाई राखे अनि सन्चो, बिसन्चो सोधे । कार्यकर्ताहरुले कौसी भरिएको थियो ।

अघिल्लोपटक जस्तो गिरिजाप्रसाद बस्ने कालो कुर्सी यसपटक भने शशांकलाई शेखरले छाडेनन् । केही क्षणको भलाकुसारीपछि तीनैजना खाना खान पिता कृष्णप्रसाद कोइरालाले बनाएको घरतर्फ लागे । एउटै टेबलमा बसेर खाना खाए तर राजनीतिक कुराचाहिँ गरेनन् ।त्यसपछि सुजाताले बनाएको नयाँघरको प्रांगणमा आयोजित जीपी फाउण्डेसनको प्रदेश कार्यालय उद्घाटन समारोहमा प्रमुख अतिथि बने तीनैजना । अन्य नेता, कार्यकर्ताले तीनैजनालाई एक हुन आग्रह गर्दै एउटै मालासमेत लगाइदिए ।

कार्यक्रममा कोइरालात्रयले एकै स्वरमा भने, ‘हिजो पनि हामी एक थियौँ, आज पनि एक छौँ र भोलि पनि एक हुन्छौं ।’ त्यसले भने कार्यकर्ताहरु निकै उत्साहित भएका थिए ।

कार्यक्रममा बोल्दै महामन्त्री शंशाक कोइरालाले बीपी कोइराला र गिरिजाप्रसाद कोइरालाले सबैको अधिकार स्थापना गर्नका लागि लडेको स्मरण गर्दै आफूहरूमध्ये कसैलाई सभापति बनाउनेभन्दा पनि आफू हुन्छु भनेर अगाडि आउन कार्यकर्तालाई आग्रह गरेका थिए । उनले बीपी कोइरालाले त्यो बेला पर्शुनारायण चौधरीलाई भावी प्रधानमन्त्रीका रुपमा चुनावमा अघि सारेको स्मरण गराउँदै अब सभापति जोपनि बन्न सक्ने तर्क गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य शेखरले अहिले पार्टीमा संकट आएको बताएका थिए । उनले तीनै जना मिलेर यो संकटबाट पार लगाउने भन्दै कार्यकर्ताहरुलाई साथ दिन आग्रह गरे । ‘तपाईहरुलाई लागेको थियो होला तीन कोइराला तीनतिर फर्केका छन्,’ शेखरले भने, ‘आजको उपस्थितिले त्यो भ्रम तोडिदिएको छ । तपाईहरु विश्वास गर्नुहोस् हिजो पनि हामी एक थियौं आज पनि छौं, भोलि पनि रहने छौं ।’


नेतृ सुजाता कोइरालाले भने आफूहरुको एकता पदको लागि नभएर पार्टी जोगाउन भएको तर्क राखेकी थिइन् । उनले आफूहरुबीच कहिल्यै विवाद नरहेको/नरहने बताइन् ।


पार्टी सभापति शेरबहादुर देउवाको विरोधमा खुलेर लागेका शेखर कोइराला आफूलाई भावी सभापतिको उम्मेद्वारका रुपमा प्रस्तुत गर्दै देश दौडाहामा छन् । महामन्त्री बनिसकेका शंशाक कोइरालाले पनि विराटनगरबाट केही महिनाअघि देउवाको कार्यशैलीप्रति विरोध जनाउन थालेका छन् ।


शंशाकलाई पनि सभापति पदका प्रत्यासीका रुपमा हेरिएको छ । तर, अधिकांश कार्यकर्ताहरु कोइराला एक भएर जानुपर्ने धारणा राख्छन् । पछिल्लो समय तीनै जना कोइरालाहरुबीच राजनीतिक संवाद बढे पनि विरासत कसको काँधमा आउने हो त्यो भने भन्न सक्ने अवस्था छैन । तर, तीनैजना आफूहरुमध्ये एक सभापतिको उम्मेद्वार बन्ने सार्वजनिक घोषणा गरिसकेका छन् ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले कोइराला परिवारका सदस्यहरु मात्र एक भएर पार्टी बलियो नहुने भन्दै सिंगो पार्टीपंक्तिलाई एकढिक्का पार्न आग्रह गरेका थिए ।

प्रकाशित : मंसिर २, २०७५ १८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?