भक्तपुरमा ब्युँत्याइँदै रानीपोखरी, जीर्णोद्धार गर्न एक करोड बजेट

सेनाको कब्जामा ‘जेठो रानीपोखरी’
लीला श्रेष्ठ, मकर श्रेष्ठ

भक्तपुर — सरकारले तोकेकै मितिमा काम सकिएको भए काठमाडौंको रानीपोखरी ०७३ चैतसम्म पुनर्निर्माण भइसक्थ्यो । छठ पूजामा सहभागी हुन राष्ट्रपति विद्यादेवी भण्डारी कमल पोखरी जानुपर्ने थिएन । ०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवस पारेर राष्ट्रपतिले रानीपोखरी पुनर्निर्माण शिलान्यास गरेकी थिइन् ।

भक्तपुर सल्लाघारीस्थित सैनिक इलाकाभित्र रहेको रानीपोखरी । तस्बिर : मकर श्रेष्ठ/कान्तिपुर

०७३ को भाइटीकामै रानीपोखरी सर्वसाधारणलाई खुला गर्ने योजना सरकारले सार्वजनिक गरेको थियो । रानीपोखरी निर्माणको काम सुरु हुनु त टाढाको कुरा, कुन शैलीमा बनाउने भन्ने विवाद ज्यूँका त्यूँ छ ।

काठमाडौंको रानीपोखरी पुनर्निर्माण बखेडा चलिरहेका बेला भक्तपुरमा गुमनाम भइसकेको रानीपोखरीलाई ब्युँताउने प्रयास थालिएको छ । भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सर्वसाधारण सल्लाघारीको सैनिक इलाकाभित्र रहेको रानीपोखरी संरक्षण गर्न जुरमुराएका हुन् । ‘भक्तपुरमा समेत रानीपोखरी छ भन्ने धेरैलाई थाहा नहुन सक्छ,’ मेयर सुनील प्रजापतिले भने, ‘काठमाडौंको भन्दा जेठो यो रानीपोखरी संरक्षण गर्न हामी लागिपरेका छौं ।’

सैनिक आवासीय महाविद्यालय परिसरको खेल मैदानसँगै रानीपोखरी छ । ठूलो क्षेत्रमा फैलिएको रानीपोखरी परिसर विद्यार्थी, स्थानीयवासी, जनप्रतिनिधि, सेनाको संयुक्त समूहले शनिबार सरसफाइसमेत गरे । सफाइ गर्दा चतुर्मुखी शिवलिंग, उमामहेश्वर, लक्ष्मी नारायणलगायतका मूर्ति भेटिएका छन् । पोखरी क्षेत्रमा विभिन्न कालखण्डका इँटा फेला परेका छन् । ढुंगामा कुँदिएका विभिन्न कलात्मक आकृति छरिएको देख्न सकिन्छ ।

इतिहासविद् पुरुषोत्तमलोचन श्रेष्ठले ती मूर्ति नेपाल संवत् ७५० मा भक्तपुरका राजा जगज्योर्ति मल्लले रानीपोखरी बनाएकै बेला राखेको पाइएको बताए । यो पोखरी काठमाडौंको रानीपोखरी भन्दा पुरानो भएको उनले उल्लेख गरे । प्रमाणका आधारमा भक्तपुरको रानीपोखरी काठमाडौंको भन्दा ४० वर्ष पुरानो मानिन्छ । काठमाडौंको रानीपोखरी नेपाल संवत् ७९० अर्थात् विसं १७२७ मा प्रताप मल्लले बनाएका हुन् । ‘काठमाडौं रानीपोखरीभन्दा भक्तपुरको रानीपोखरी पुरानो देखिन्छ,’ इतिहासविद् श्रेष्ठले भने । कान्तिपुरका राजा प्रताप मल्लले भक्तपुर आक्रमण गर्दा पोखरीमा आक्रमण गरेको पाइएको उनले बताए ।

‘प्रताप मल्ल चाँगु हुँदै भक्तपुरको उत्तरतिरको महाकाली पीठसम्म आक्रमण गर्दै आए । तर भक्तपुरको पर्खालबाट भित्र छिर्न सकेनन् । त्यहाँ मजबुत गढ थियो । उत्तरबाट नसकेपछि भक्तपुरको पश्चिममा रहेको रानीपोखरीबाट आक्रमण गरेका थिए,’ श्रेष्ठले भने, ‘प्रताप मल्लले सुन्दर पोखरी बिगारे । यहाँका सुन्दर कलाकृति उठाएर हनुमानढोका दरबारमा सजाउन लगे ।’ भक्तपुरमा लगातार आक्रमण गरेका प्रताप मल्लले पोखरीका कलाकृति लैजानुले आफ्नो सहरमा त्यसपछि रानीपोखरी बनाएको सहजै अनुमान गर्न सकिने श्रेष्ठले बताए । भक्तपुरका भाजु पोखरी, सिद्धपोखरी, रानीपोखरी देखेपछि प्रताप मल्लले आफ्नो दरबारको पूर्वमा रानीपोखरी बनाएको उनको दाबी छ ।

पूर्वमध्य कालमै नेपाल संवत् २३९ मा तत्कालीन युवराज इन्द्रदेवले बनाउन लगाएको सिद्धपोखरी र नेपाल संवत् २८९ मा राजा रुद्रदेवको पालामा राति गोप्य रूपमा बनाइएको गुह्यपोखरी (न:पुखु) पनि भक्तपुर नगरपालिका १ मा छ । त्यस्तै १६ औं शताब्दीमा बनेको भाजुपोखरी भक्तपुरको दूधपाटीमा छ । यी सबै पोखरी बनेको धेरैपछि मात्र काठमाडौंको रानीपोखरी बनेको पाइएको श्रेष्ठले बताए ।

आक्रमणबाट भताभुंग भएको रानीपोखरीलाई ललितपुर र काठमाडौंका राजालाई पनि बोलाएर जीर्णोद्धार गरिएको इतिहास रहेको उनले बताए । जगज्योर्ति मल्लले नगरको शोभा बढाउन, राज्यको प्रतिष्ठा कायम राख्न, संस्कृति जीवन्त बनाउन र जल भण्डारण गर्न पोखरी बनाएको उनले बताए ।

पोखरी बनाउनुमा राजनीतिक र कूटनीटिक कारणसमेत पाइएको उनको भनाइ छ । भक्तपुर प्रवेश गर्दा होस् वा बाहिरिँदा यही पोखरी हुँदै जानुपर्छ । ‘त्यति बेला तीनवटै मल्ल राजा र कूटनीटिक व्यक्ति भेट गर्नुपरेमा रानीपोखरीमा भेट गर्ने चलन थियो,’ इतिहासविद् श्रेष्ठले भने, ‘त्यसैले यो पोखरी राजनीतिक, कूटनीतिक, धार्मिक, सांस्कृतिक रूपमा महत्त्वपूर्ण छ ।’

त्यसबेला पोखरीसम्म पुग्न र भित्र छिर्न बनाइएको ढुंगाका सिँढी अझै छन् । त्यस्तै पोखरी छेउमै पाटीसमेत छ । पोखरीको डिलमा पनि पाटी रहेको अनुमान छ । बनाउन प्रयोग गरिने इँटा भेटाइएको आधारमा पार्टी भएको अनुमान गरिएको हो । पोखरीसँगै ढुंगे धारासमेत रहेको हुन सक्ने अनुमान छ । धारामाथि राखिने ढुंगाका कलाकृति पोखरी छेउमै भेटिएका छन् । पोखरीको दक्षिण दिशाबाहेक चारैतिर प्रशस्त दिगु द्यो (देवता) छन् । अक्षयतृतीयाका दिन भक्तपुरका स्थानीयवासी सिद्धपोखरी र रानीपोखरीमा भेला भएर देवाली मनाउने गर्छन् । सेनाले स्थानीय देवाली पूजाबाहेक अन्य समयमा सर्वसाधारणलाई पोखरी प्रवेशमा रोक लगाएको छ ।

भक्तपुरका प्रजापति, जोन्छे, धौभडेल, अवाल, मानन्धरलगायत समुदायको दिगु द्यों (कुलदेवता) पूजा गरी देवाली मनाउने स्थानसमेत रानीपोखरी क्षेत्र हो । सेनाको हातामा रहेको रानीपोखरी कुलदेवताका लागि मात्र वर्षमा एक दिन खुल्ने गरेको नगरपालिकाले जनाएको छ । नगरभित्रका पोखरीमध्ये सबभन्दा सुन्दर भएकै कारण रानीपोखरी नामकरण भएको मानिन्छ । प्रताप मल्लले आक्रमण गर्दा क्षति पुगेको पोखरीको नेपाल संवत् ७९८ मा जितामित्र मल्लले जीर्णोद्धार गरेपछि ‘न्हु पुखु’ नामले पनि यो पोखरी चिनिन थालेको श्रेष्ठले बताए ।

पोखरी जीर्णोद्धार गर्न एक करोड बजेट
इतिहास बोकेको रानीपोखरी संरक्षण गर्न प्रदेश ३ सरकारले यस वर्ष एक करोड बजेट विनियोजन गरेको छ । सात वर्षअघि कान्तिपुरले खिचेको तस्बिरमा पानीले भरिएको पोखरीको संरक्षण नहुँदा अहिले झारले ढपक्कै ढाकेको छ । पोखरीको बीच भागमा मात्रै पानी देखिन्छ । यो पानी कसैले हालेको होइन, प्राकृतिक रूपमा जम्मा भएको हो ।

नगरपालिकाले शनिबार गरेको सरसफाइका क्रममा पनि पोखरीको डिलको मात्रै घाँस काटेर सफाइ गरिएको छ । ‘पोखरीको सफाइ र जीर्णोद्धार गर्न प्रदेश सरकारले बजेट छुट्याइसकेको छ,’ मेयर प्रजापतिले भने, ‘अब पुरानै रूपमा फर्काउँछौं ।’ पोखरी नगरपालिकालाई हस्तान्तरण गर्न आग्रह गर्दै नगरपालिकाले रक्षा मन्त्रालयलाई पत्राचार गरिसकेको छ । पोखरी खुला गरिए सर्वसाधारणले पोखरी वरिपरिका रूखमा सधैं बस्ने चमेरोका झुन्डसमेत देख्न पाउने छन् ।

उपत्यकामा सीमित स्थानमा मात्रै चमेरो भेटिन्छन् । पोखरी सर्वसाधारणलाई खुला गर्दा सुरक्षा खतरासमेत केही छैन । पोखरीको पश्चिमतर्फ सेनाले कलेज चलाएको छ भने उत्तर पूर्वमा खेल मैदान छ । सल्लाघारी हुँदै दूधपाटी जाने मूल बाटोसँगै जोडिएको पोखरीको बाहिरी भागमा वरिपरि पर्खाल लगाएर सेनाको क्षेत्रमा सर्वसाधारण जान नसक्ने गरी खुला गर्नुपर्ने स्थानीयको माग छ ।

मौलिक शैलीमा पुनर्निर्माण गरिने
चर्चामा नरहेको भक्तपुरको ऐतिहासिक रानीपोखरीलाई प्राप्त प्रमाणका आधारमा मौलिक शैलीमा पुनर्निर्माण गरिने भएको छ । नगरपालिकाको नियमित कार्यक्रमअन्तर्गत शनिबार सरसफाइ गर्दै नगर प्रमुख प्रजापतिले मौलिक शैलीमा पुनर्निर्माण गर्न पुरातत्त्वविद्, इतिहासविद्हरूसँग छलफल/अन्तरक्रिया भइरहेको जानकारी दिएका हुन् । इतिहास तथा स्वरूपबारे अध्ययन अनुसन्धान र डिजाइनको काम भइरहेको समेत उनले जानकारी दिए ।

संरक्षण अभावमा अलपत्र परेको पुतली बगैंचासहितको रानीपोखरी संरक्षणका लागि प्रदेश सरकारले बजेट विनियोजन गरेको प्रजापतिले जनाए ।

भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित सैनिक आवासीय महाविद्यालयको हाताभित्र रहेको रानीपोखरी संरक्षण अभावमा कुरूप बन्दै गएको छ । २०४० मा सैन्य तालिम केन्द्रका लागि सरकारले पोखरी आसपासका सार्वजनिक र सर्वसाधारणको जग्गासमेत अधिग्रहण गरेको थियो । पुतली बगैंचासहित करिब ३२ रोपनी क्षेत्रफलमा फैलिएको छ ।

प्रकाशित : मंसिर १, २०७५ २१:२९
प्रतिक्रिया
पठाउनुहोस्

ट्रम्पले दिए पत्रकारलाई धम्की 

बीबीसी

वासिङटन — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरू ‘मर्यादापुर्वक’ प्रस्तुत नभए भविष्यमा पत्रकार सम्मेलन छाडेर हिड्ने धम्की दिएका छन् ।

सीएनएनका पत्रकार जिम अकोस्टाको अमेरिकी सिक्रेट सर्भिसद्वारा खोसिएको प्रेस पास फिर्ता गर्न अदालतले आदेश दिएपछि बोल्दै ट्रम्पले उक्त धम्की दिएका हुन् ।

गतसाता एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग विवाद भएपछि अकोस्टाको प्रेस पास खोसिएको थियो । अदालतको आदेशबारे प्रतिक्रिया दिँदै ट्रम्पले त्यो ‘कुनै ठूलो विषय नभएको’ बताए ।

तटर उने भने, ‘मानिसहरूले राम्रो व्यवहार गर्नुपर्छ ।’ उनले ‘पत्रकार सम्मेलनमा सोध्नुपर्ने प्रश्न संख्याबारे आफ्ना कर्मचारीले नीति नियम बनाइरहेको’ बताए ।

‘यदि उनीहरूले नीति, नियम नमान्ने हो भने हामी त्यो विषय अदालत पुर्‍याउनेछौं र त्यसमा हामी जित्नेछौं । तर त्यो भन्दा महत्वपूर्ण कुरा हामी पत्रकार सम्मेलनबाट बाहिरिन्छौ र तपाईहरू धेरै खुशी हुन पाउनुहुन्न,’ ट्रम्पले भने, ‘तपाई ३ वा ४ प्रश्न सोध्न सक्कुहुन्न र उभिइरहन सक्नुहुन्न । तपाईहरूले मर्यादा कायम गर्ने अभ्यास गर्नुपर्छ । ’

आफ्नो प्रेस पास फिर्ता गर्न अदालतले दिएको आदेशको प्रशंसा गर्दै पत्रकार अकोस्टाले भने, ‘अब काममा फर्किऊ ।’ वासिङटनस्थित एक अदालतका न्यायाधीशले पत्रकार परिचयपत्र खोस्ने राष्ट्रपति कार्यालयको कदमबाट कानुनले पत्रकारलाई दिएको अधिकार र वाक् स्वतन्त्रताको उल्लंघन भएको बताए । अदालतको आदेशसगै राष्ट्रपति कार्यालय र राष्ट्रपतिका अन्य कार्यक्रममा प्रवशे गर्न पाउने अकोस्टाको प्रेस पास फिर्ता गर्न ह्वाइटहाउस बाध्य भएको छ ।

नोभेम्बर ८ मा भएको एक पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पसँग विवादमा उत्रेपछि अकोस्टालाई ह्वाइटहाउस छिर्न रोक लगाइएको थियो । ह्वाइट हाउसकी एक कर्मचारीले थप प्रश्न सोध्न खोजेका अकोस्टाबाट माइक्रोफोन खोस्न प्रयास गरेकी थिइन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसको आरोपित हस्तक्षेपबारेको अनुसन्धानका क्रममा आफूलाई सोधिएका सबै प्रश्न दिएको उल्लेख गरेका छन् ।

विशेष अनुसन्धानकर्ता रोबर्ट मुलर नेतृत्वको टोलीले राष्ट्रपतिको चुनावी अभियानमा रुसी हस्तक्षेपबारे अनुसन्धान गरिरहेको छ । आफुले प्रश्नहरूको निकै सजिलो ढंगले जवाफ दिएको बताए । उनले प्रश्नको जवाफ अनुसन्धान टोलीलाई बढाउन बाँकी रहेको पत्रकारलाई बताए ।

ट्रम्पले आफ्नो चुनावी अभियान टोलीको र रुससग कुनै साँठगाँठ नभएको बताउने गरेका छन् । ट्विटरमार्फ ट्रम्पले जारी अनुसन्धानलाई ‘नचाहिँदो कार्य’ को संज्ञा दिए ।

उनले अनावश्यक लामो अनुसन्धानमा संलग्नहरु ‘देशका लागि लज्जा’ भएको टिप्पणी गरे । यसअघि ट्रम्पले पत्रकारहरुसँग ‘अनावश्यक’ अनुसन्धानका लागि ‘लाखौं लाख डलर खर्च भएको’ दाबी गरेका थिए ।

प्रकाशित : मंसिर १, २०७५ २१:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्