ठडिँदै भत्किएका विद्यालय

पूर्वाधार बनेपछि विद्यार्थी संख्या पनि बढ्यो
अनिश तिवारी

सिन्धुपाल्चोक — हेलम्बु गाउँपालिका तालामाराङ छेउकै लेकाली डाँडामा पुगेपछि एउटा भव्य महल देखिन्छ । रंगीन सानदार देखिने महलमा टाँगिएको ‘बोर्ड’ पढेपछि मात्रै विद्यालय भन्ने थाहा हुन्छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा बनाइएको सुविधासम्पन्न महेन्द्र मावि भवन । तस्बिर : अनिश/कान्तिपुर

भूकम्पको दुई वर्षसम्म पाल टहरामा चलाइएको कोल्देचौर आधारभूत विद्यालयको भव्य भवन बनेपछि बालबालिका खुसी छन् ।

‘लेकको सुनसान डाँडा, दिक्क लाग्थ्यो देखेर, यसरी विद्यालय बन्छ भनेर सपनामा पनि चिताइएको थिएन,’ प्रधानाध्यापक भीमसेन थापाले भने । ४८ बालबालिका पढाइरहेको कोल्देचौर महलमा परिणत भएपछि बालबालिकाको विद्यालय पनि नियमित भएको छ ।

‘पालमा कम्ती कष्ट झेलिएन, अब दु:खका दिन गए,’ सिर्जना आधारभूत विद्यालयकी प्रअ दुर्गा दंगालले भनिन्, ‘बल्ल आनन्दको श्वास फेर्न पाइयो ।’ स्थानीयले दिएको टीएलसीमा चलिरहेको विद्यालय अहिले भूकम्पप्रतिरोधी भवनमा सुचारु छ । ‘घना जंगलको बीच भएकाले टहरामा जंगली जनावरको डर उत्तिकै हुन्थ्यो,’ उनले भनिन्, ‘अबचाहिँ सुरक्षित अनुभूति गरेका छौं ।’

हेलम्बुको माथिल्लो गाउँको महेन्द्र माविको ढाट महलभन्दा कम छैन । टाढैबाट नजर तान्ने इन्द्रावती गाउँपालिका भीमटार दनुवार बस्तीको विद्यालय भीमेश्वरी माविको भवन देखेपछि जोकोही लोभिन्छन् र नजिक पुग्छन् । सुविधासहितको विद्यालय बनेपछि बालबालिका आकर्षित भएको प्रअ कृष्णप्रसाद श्रेष्ठले बताए । भवनकै कारण बालबालिकाको संख्या ७ सय पुगिसकेको उनले जनाए ।

महांकाल, तालामाराङ, दुवाचौर, पाल्चोकजस्ता लेकाली दुर्गम भेगमात्रै होइन । भूकम्प गएको चार वर्षपछि तीन नगरदेखि नौ गाउँपालिकाको गाउँगाउँमा राम्रा भवन धमाधम ठडिँदैछन् । सुगमभन्दा दुर्गम गाउँमा करोडौंको लागतमा भव्य भवन बनेका हुन् ।

जिल्लाभर भत्केका ५ सय २८ मा झन्डै चार सय विद्यालयको सुविधासम्पन्न भवन बनेको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले जनाएको छ । भूकम्पले जिल्लाभरको ३ हजार ६ सय २० कोठा काम नलाग्ने गरी भत्काएको थियो । ‘दुई सय विद्यालय विभिन्न संघसंस्थाले बनाए, अरू सरकारी तवरले बनेका हुन्,’ जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख कृष्णप्रसाद सुवेदीले भने ।

अपुग कक्षाकोठा थपिने
जिल्लाभर बनेका केही नवनिर्मित विद्यालयमा कक्षाकोठा र शौचालय अभाव समाधान तत्कालै गरिने इकाईले जनाएको छ । ‘सुविधाजनक भवन ठडिए पनि कक्षाकोठा अपुग भएको गुनासा छन्, ’जिल्ला शिक्षा तथा समन्वय इकाई प्रमुख गौरीशंकर पाण्डेले भने । उनले तीन नगरदेखि नौ गाउँपालिकासँग समन्वय गरेर समस्या समाधान गर्न पहलकदमी लिइने बताए ।

‘शिक्षालाई गुणस्तरीय बनाउन विशेष अभियान लिएर अघि बढ्नेछौं,’ उनले भने । उनका अनुसार जिल्लाभरका विद्यालय पुनर्निर्माणसँगै शैक्षिकस्तर उकास्न अभ्यास भइरहेको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्

पप्पुले बनाएकाे पुलको पिलर ५ मिटरमात्रै

कमल पन्थी

बर्दिया — गुलरिया र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटस्थित बबईमा निर्माण गरिएको पुुलका पिलर सम्झौताअनुसार नगाडिएको खुलासा भएको छ ।

गुलरिया–रम्मापुर जोड्ने बबई नदीस्थित जब्दीघाटमा निर्मित पुल । तस्बिर : कान्तिपुर

पुल भासिएपछि भएको अनुसन्धानमा पिलर १५ मिटर गाडिनुपर्ने सम्झौता भए पनि ५ मिटरमात्र भएको छ । पिलर कम गहिराइमा गाडिएकाले भासिएको अनुसन्धानमा देखिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले सम्झौताविपरीत करिब १० मिटर कम खनेर पिलर गाडिएको देखिएको बताए ।

हस्तान्तरण नहुँदै भासिएपछि आयोगले एक महिनाअघि पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण रजौरिया, वर्तमान अध्यक्ष उनका छोरा सुमितलगायत १२ जनाविरुद्ध विशेष अदालतमा बिगोसहित मुद्दा दायर गरेको थियो । अदालतले मुद्दाको छिनोफानो गर्ने भएकाले थप केही बताउन नमिल्ने घिमिरेले बताए । गत वर्ष साउन २८ गते बबई नदीस्थित जब्दीघाटमा पुल भासिएपछि गुलरिया र बारबर्दिया नगरपालिकाबीच यातायात सम्पर्क विच्छेद भएको छ ।

पप्पु कन्स्ट्रक्सनले करिब ६ वर्षअघि सुरु गरेको उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरेको थियो । पुल भासिएका कारण यस भेगका करिब एक लाख उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । पुलको एउटा पिलर भासिएकाले अन्य तीनसमेत बांगिएका छन् । सर्वसाधारण आउजाउ गर्न मिले पनि चारपांग्रे ठूला सवारी गुड्न दिइएको छैन । पिलर भासिने क्रम बढेकाले कुनै पनि समय ठूलो दुर्घटना हुन सक्ने बारबर्दिया मेयर दुर्गाबहादुर थारूले बताए । ‘पुल पुनर्निर्माण गराउन स्थानीयले चौतर्फी दबाब दिन थालेका छन्,’ उनले भने, ‘कम्तीमा नयाँ पुल निर्माणनभएसम्म बेलिब्रिज बनाउन पहल भइरहेको छ ।’

पुल निर्माण गर्दा उक्त कन्स्ट्रक्सनका नाममा ४ करोड रुपैयाँ धरौटीस्वरूप डिभिजन सडकको खातामा रहेको छ । त्यही रकमबाट बेलिब्रिज बनाउन सकिने मेयर थारूले बताए । धरौटी रकम झिक्न मन्त्रीस्तरीय निर्णय हुनुपर्ने सडक डिभिजनका एक अधिकारीले बताए । पुलका १७ स्परमध्ये पूर्वतिरको एउटा पिलर भासिएको हो । त्यसपछि अन्य तीन वटामा पनि समस्याआएको छ ।

गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले पुल पुनर्निर्माण चाँडोभन्दा चाँडो गर्न दबाब दिन काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारीमा लागेको बताए ।

डिभिजन सडक नेपालगन्जका प्रमुख अर्जुन बमले भासिएको पुल पुनर्निर्माण गर्न बढीमा ५ महिना लाग्ने बताए । सदरमुकामसँग पूर्व–पश्चिम राजमार्ग जोड्ने सबैभन्दा नजिकको पुल भासिएपछि गुलरिया–रम्मापुर खण्डमा सवारी आउजाउ बन्द भएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्