२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

पप्पुले बनाएकाे पुलको पिलर ५ मिटरमात्रै

कमल पन्थी

बर्दिया — गुलरिया र बारबर्दिया नगरपालिका जोड्न जब्दीघाटस्थित बबईमा निर्माण गरिएको पुुलका पिलर सम्झौताअनुसार नगाडिएको खुलासा भएको छ ।

पप्पुले बनाएकाे पुलको पिलर ५ मिटरमात्रै

पुल भासिएपछि भएको अनुसन्धानमा पिलर १५ मिटर गाडिनुपर्ने सम्झौता भए पनि ५ मिटरमात्र भएको छ । पिलर कम गहिराइमा गाडिएकाले भासिएको अनुसन्धानमा देखिएको अख्तियार अनुसन्धान आयोगले जनाएको छ । आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले सम्झौताविपरीत करिब १० मिटर कम खनेर पिलर गाडिएको देखिएको बताए ।


हस्तान्तरण नहुँदै भासिएपछि आयोगले एक महिनाअघि पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्ष हरिनारायण रजौरिया, वर्तमान अध्यक्ष उनका छोरा सुमितलगायत १२ जनाविरुद्ध विशेष अदालतमा बिगोसहित मुद्दा दायर गरेको थियो । अदालतले मुद्दाको छिनोफानो गर्ने भएकाले थप केही बताउन नमिल्ने घिमिरेले बताए । गत वर्ष साउन २८ गते बबई नदीस्थित जब्दीघाटमा पुल भासिएपछि गुलरिया र बारबर्दिया नगरपालिकाबीच यातायात सम्पर्क विच्छेद भएको छ ।


पप्पु कन्स्ट्रक्सनले करिब ६ वर्षअघि सुरु गरेको उक्त पुल १६ करोड ६८ लाख रुपैयाँ लागतमा निर्माण गरेको थियो । पुल भासिएका कारण यस भेगका करिब एक लाख उपभोक्ता प्रत्यक्ष मारमा परेका छन् । पुलको एउटा पिलर भासिएकाले अन्य तीनसमेत बांगिएका छन् । सर्वसाधारण आउजाउ गर्न मिले पनि चारपांग्रे ठूला सवारी गुड्न दिइएको छैन । पिलर भासिने क्रम बढेकाले कुनै पनि समय ठूलो दुर्घटना हुन सक्ने बारबर्दिया मेयर दुर्गाबहादुर थारूले बताए । ‘पुल पुनर्निर्माण गराउन स्थानीयले चौतर्फी दबाब दिन थालेका छन्,’ उनले भने, ‘कम्तीमा नयाँ पुल निर्माण नभएसम्म बेलिब्रिज बनाउन पहल भइरहेको छ ।’


पुल निर्माण गर्दा उक्त कन्स्ट्रक्सनका नाममा ४ करोड रुपैयाँ धरौटीस्वरूप डिभिजन सडकको खातामा रहेको छ । त्यही रकमबाट बेलिब्रिज बनाउन सकिने मेयर थारूले बताए । धरौटी रकम झिक्न मन्त्रीस्तरीय निर्णय हुनुपर्ने सडक डिभिजनका एक अधिकारीले बताए । पुलका १७ स्परमध्ये पूर्वतिरको एउटा पिलर भासिएको हो । त्यसपछि अन्य तीन वटामा पनि समस्या आएको छ ।


गुलरिया नगरपालिका प्रमुख मुक्तिनाथ यादवले पुल पुनर्निर्माण चाँडोभन्दा चाँडो गर्न दबाब दिन काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारीमा लागेको बताए ।


डिभिजन सडक नेपालगन्जका प्रमुख अर्जुन बमले भासिएको पुल पुनर्निर्माण गर्न बढीमा ५ महिना लाग्ने बताए । सदरमुकामसँग पूर्व–पश्चिम राजमार्ग जोड्ने सबैभन्दा नजिकको पुल भासिएपछि गुलरिया–रम्मापुर खण्डमा सवारी आउजाउ बन्द भएको छ ।

प्रकाशित : कार्तिक ३०, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?