‘साइकलमन्त्री’सँग गाडीको लस्कर

अब्दुल्लाह मियाँ

काठमाडौँ — संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई गत चैत २९ मा सम्पत्ति विवरण पेस गर्दा लेखेका थिए– सवारीसाधनका नाममा पुरानो साइकलमात्र ।

त्यतिबेला ‘सादगी नेता’ भनेर उनको प्रशंसा भयो । यतिबेला तिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ ।


मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएका हुन् । उनको घरायसी काममा समेत सरकारी गाडी, इन्धन र चालक छन् ।


उनी मन्त्रालयले उपलब्ध गराएको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलाई गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ । गृहले मन्त्रीको शपथ लिएकै दिन ३ फागुनमा सशस्त्र प्रहरीका एक चालकसहित यो गाडी उपलब्ध गराएको थियो । यो गाडी अधिकांश समय मन्त्री निवासमै हुन्छ ।


पत्नी विमला महतका लागि मन्त्रालयकै नाममा रहेको बा १ झ ९८४७ नम्बरको गाडी तानेका छन् । यसअघि उक्त गाडी तत्कालीन स्थानीय विकास राज्यमन्त्री कुन्तीकुमारी शाही चढ्थिन् । सशस्त्र प्रहरीका सहायक हवल्दार कृष्ण भण्डारीले चलाउने यो गाडीलाई हरेक दिन मन्त्रीपत्नी विमलाले व्यक्तिगत काममा प्रयोग गर्छिन् । मन्त्री पण्डितकै आग्रहमा उक्त गाडीको रातो–नीलो प्लेट हटाएर सेतो राखिएको मन्त्रालयका अधिकारीले बताए ।


मन्त्री पण्डितले आफूले प्रयोग गर्ने दुइटासहित निवासमा थप दुई गाडी प्रयोग भएको स्विकारे । ‘सुविधाले पाउने गाडीबाहेक मसँग अरू छैन,’ उनले भने, ‘क–कसले कुन–कुन चढ्छन्, मलाई थाहा छैन ।’ उनको निजी सचिवालयले तत्कालीन स्थानीय विकास मन्त्रालय मातहतको स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) को बा २ झ ५५५ नम्बरको हाइलक्स गाडीसमेत दुरुपयोग गरिरहेको छ ।


‘यो गाडी मन्त्रीकै मान्छे/कार्यकर्ताले प्रयोग गर्छन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘चालक र इन्धन अनावश्यक काममा प्रयोग भएको देखेर पनि मन्त्रीज्यूले चाल नपाएजस्तो गर्नुभएको छ ।’ कार्यकर्ता र निजी सचिवालयले निवास र मन्त्रालय आउजाउ गर्न यो गाडी प्रयोग गर्दै आएका छन् । साढे तीन महिना पहिले यसलाई मन्त्री पण्डितका निजी सचिव होम लुइँटेलले प्रयोग गर्थे । उनको दिल्लीस्थित नेपाली दूतावासमा सरुवा भए पनि गाडी सचिवालयमै छ । स्वकीय सचिव मनोज राईका लागि फोर्डको बा २ झ ३९६३ नम्बरको गाडी उपलब्ध छ । यसका चालक शंकर घले हुन् । यसअघि मोरङका ओसिम आलम स्वकीय सचिव हुँदा पनि यही गाडी प्रयोग गर्थे । पण्डितले उनलाई गत असारमा हटाएर आफ्नै क्षेत्रका राईलाई स्वकीय सचिव बनाएका हुन् ।


मन्त्रीका निजी सचिव रमेश अधिकारीका लागि पनि मन्त्रालयले अलग्गै गाडी दिएको छ । यो गाडी अधिकारी आफै हाँक्छन् । ‘मन्त्री निवासका लागि केही आयोजनाका गाडी प्रयोग भएको सुनेको छु’ संघीय मामिला मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले भने, ‘मन्त्रीले दुइटा झन्डावाल गाडी नियमानुसार पाउने भए पनि अरू निकायबाट तानेर अनावश्यक प्रयोग भएको छ ।’

प्रकाशित : कार्तिक २४, २०७५ १९:५३
प्रतिक्रिया
पठाउनुहोस्

सेतो साइकल

सम्पादकीय

काठमाडौँ — तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाले हरेक शुक्रबार निवासदेखि मुख्यालयसम्म साइकल चढ्ने निर्णय गरे । मातहत अधिकृतहरूलाई पनि सातामा त्यो दिन साइकल नभए पैदल वा सार्वजनिक सवारी प्रयोग गर्न निर्देशन दिए । 

छ वर्षअघिको उनको त्यो साहसी निर्णय केही समयको रहरमा सीमित हुन पुग्यो । त्यसयता कुनै सार्वजनिक पदाधिकारीले त्यस्तो घोषणा गरेका छैनन्, न साइकल वा पैदलमार्गको सार्वजनिक पक्षपोषण गरेका छन् ।

साइकललाई सडकको भर । सडकलाई साइकलको । हाम्रा सडकै ज्यानमारा । महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार केही वर्षयताको तथ्यांक केलाउँदा काठमाडौंमा औसत हरेक दुई महिनामा एक साइकलयात्रीले ज्यान गुमाउने गरेका छन् । पैदलयात्री महिनाको औसत पाँच जनाका दरले ।

हरेक तीन दिनमा एक साइकलयात्री दुर्घटनामा पर्ने गरेका छन् । वातावरणविद् प्रल्हाद योञ्जन केही वर्षअघि ट्रकको ठक्करबाट मारिएयता पनि सुरक्षामा सुधार देखिएको छैन । हालै कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको गेटछेउ सडकको खाल्डोले साइकलयात्री ३८ वर्षीय श्यामसुन्दर श्रेष्ठको ज्यान गयो । महिनौंदेखि त्यसै छोडिएको खानेपानीको भल्भ च्याम्बरले उनलाई निल्यो ।

श्रेष्ठको सम्झनास्वरूप घटनास्थलमा सेतो साइकल राखिएको छ । शनिबार आफन्त र साइकलयात्रीले त्यहाँ श्रद्धाञ्जलीसभा गरे । नेपाल र भारतका धेरै ठाउँ कुशलतासाथ साइकल यात्रा गरेका भाइको दुर्घटनामा राज्यको लापरबाहीलाई दोष दिँदै दिदी शुभद्राले दुखमनाउ गरिन् । स्थानीयवासीले खाल्डो छोप्न पटक–पटक खानेपानी कर्मचारीसँग आग्रह गरे पनि अटेर
भइरह्यो ।

सहरका पुराना बाटामा साइकल लेन छैनन्, नयाँ बनाइएका छैनन् । साइकलको सार्थकताबारे निकायहरू बेखबरझैं छन् । साइकल व्यक्तिको शारीरिक स्वास्थ्य, सहरको प्राकृतिक स्वास्थ्य र राज्यको आर्थिक स्वास्थ्य हो भन्ने चिनाउन सकिएको छैन । साइकललाई स्वस्थ सहरी जीवनको सहयात्री बनाउन सकिन्छ भन्ने पैरवी गर्नेहरू घाँटी सुक्ने गरी चिच्याए पनि सुनिएका छैनन् ।

विश्वमा कैयौं यस्ता मुलुक छन्, जसले आफ्ना नागरिकलाई साइकल चढ्न प्रेरित गरेका छन् । आम्र्सटर्डमलाई युरोपको साइकल सहर भनिन्छ । सरकारले साइकल लेनका लागि ठूलो लगानी गरेको छ । सडकमा गुड्ने सवारीमध्ये ४० प्रतिशत साइकल हुन्छन् । बार्सिलोनामा वषैपिच्छे साइकल सप्ताह मनाइन्छ । बर्लिनमा दैनिक ४ लाख जना साइकलमा ओहोरदोहोर गर्छन् । सरकार थप नागरिकलाई पनि साइकल चढाउन चाहन्छ । कोपेनहेगनका एक तिहाइ नागरिक साइकलमै चल्छन् ।

पेरिसमा एक हजारभन्दा बढी साइकल केन्द्र छन् । तिनले साइकल भाडामा दिन्छन् । ३० मिनेटभन्दा कमका लागि सित्तै चढ्न पाइन्छ । केही अमेरिकी सहर साइकल लेनका लागि प्रसिद्ध छन् । कोलम्बियाले पनि साइकललाई प्राथमिकता दिन थालेको छ । अस्ट्ेरलियाको पर्थमा सात सय किलोमिटर लामो साइकल रुट छ । चीनले कुनै बेला साइकलको अधिराज्य भन्ने नामै पाएको थियो । त्यही पहिचानमा फर्किने प्रयास थालेको छ ।

आधाआधी नागरिक साइकल चढे त्यसलाई ‘साइकल सिटी’ भनिन्छ ।

हाम्रो सरकार भने ‘स्मार्ट सिटी’ भन्ने अमूर्त नारातिर अल्झिएको छ । काठमाडौं यस्तै साइकल सहर थियो, ४० को दशकसम्म । जोकोही साइकल चढेरै कामकाजमा निस्कन्थे । घरलौरी साइकल हुन्थ्यो । विपन्नको बिम्ब थिएन यो । लक्ष्मीप्रसाद देवकोटादेखि मदन भण्डारीसम्मका साइकल–तस्बिर अझै चर्चित छन् ।

बस्ती घना हुँदै गयो । सहकारीहरूले किस्ताबन्दीमा मोटरसाइकल किनिदिन थाले । ५० को दशकदेखि काठमाडौंमा साइकल कम मोटर साइकल बढी गुड्न थाले । गाडीको संख्या थपिए । अहिले मोटरसाइकलै ११ लाख छन् । महिनैपिच्छे १० हजार थपिन्छन् । ३ लाख जति चारपांग्रे छन् ।

यिनै गाडी सहरका ‘अत्यावश्यक दुष्ट’ हुन् । उपत्यकाको वायु प्रदूषणमा यिनैले फ्याल्ने धूवाँ जिम्मेवार छ । सडकको धूलो पनि यिनै गाडी गुड्दा फैलन्छ । कचौरा उपत्यका विश्वकै प्रदूषित सहरमध्ये गनिन थालिसक्यो । सवारी जाम उदेकलाग्दो । इन्धन आयात देशको पुरै निर्यातले धान्दैन । परनिर्भरता बढेको बढ्यै छ ।

सजिलो विकल्पमा साइकल छ । न इन्धनको जोहो गर्नुपर्ने न ट्राफिक जाम हुने । न वायु प्रदूषण हुने, न खर्च बढाउने । व्यक्तिको पैसा पनि जोगिने, देशको पैसा पनि रोकिने । मांसपेशीहरूलाई कसरत पुग्ने, जीवनशैली फेरिने ।

उपत्यकामा बर्सेनि ६ अर्ब रुपैयाँ सडक मर्मतमा खर्च हुन्छ । सबैखाले गरी १८ सय किलोमिटरमध्ये एक चौथाइ पनि राम्रो पिच छैन । साइकल सहर बनाए यति खर्चै चाहिँदैन । साइकलले सडक बिगार्दैन ।

सहर व्यवस्थित छैन, सडक कसरी व्यवस्थित होस् ? साइकल लेन त छँदै छैन । माइतीघर–तीनकुनेको पौने तीन किलोमिटर पनि नाम मात्रको छ । फुटपाथ हो कि साइकल लेन ? न संकेत छ न विशेष रङ ।

जाइकाको अध्ययनअनुसार काठमाडौंमा २०४६–४७ तिर ६ प्रतिशत यात्रु साइकल चढ्थे । त्यसको दुई दशकपछि डेढ प्रतिशत मात्र । अहिले अझ घटेका छन् । पछिल्लो जनगणनाअनुसार सहरी क्षेत्रका झन्डै एक तिहाइसित साइकल छ । ती असुरक्षित सडकका कारण थन्किएका छन् ।

एक लाखको जीवन साइकलमै चलेको ठानिन्छ । न्यून आय वर्गका ठानिनेहरू यसमै सवार हुन्छन्, तरकारी, पानी, ग्यास र पत्रिका पनि धेरैजसो यसैले बोक्छ । पर्यावरण र जनस्वास्थ्यमा सचेत केही साइकलप्रेमी छन् । सडकमा सबैभन्दा बढी यिनीहरू नै हेपिन्छन् । गाडी चालकले पेल्न खोज्छन्, सहचालकले मुख छोड्छन् । गाडीको धूवाँ, सडकको धूलो दुवै निल्नुपर्छ ।
उपत्यका साइकलबाटै गन्तव्य पुग्न सकिने बस्ती हो । साइकलमैत्री बाटो ह्वीलचेयरमैत्री हो, पैदलमैत्री पनि । बिजुली गाडीजस्तो ब्याट्री व्यवस्थापनको झन्झट छैन । सरकारले कर छुट गर्न सक्छ । गल्लीहरूलाई साइकल मार्ग बनाउन सक्छ । चौडा बाटोमा लेन छुट्याउन सक्छ । जहाँ बाटो अभाव हुन्छ, त्यहाँ ‘सेयरिङ साइकल लेन’ ।

सडक सुरक्षित बनाउन असुरक्षित किसिमका गाडीबाट छुट्याउनुपर्छ । छुट्टै साइकल लेन बनाउँदा दुवैलाई फाइदा हुन्छ । ठूला गाडी पनि निर्धक्क आफ्नो गतिमा चल्न पाउँछन् । साइकललाई पनि आफ्नै बाटो हुन्छ ।

साइकल लेनका लागि ठाउँ पुग्दैन भन्नेहरूको दिमागमा ठाउँ नभएको हो । नेपालको सडक मापदण्डअनुसार साइकल लेन १.२ मिटर चौडा हुनुपर्छ, गाडीको लेन ३.५ मिटर । एक लेन गाडी कुद्ने ठाउँमा दुई लेन साइकल बनाउन पुग्छ । त्यत्रो ८ लेनको चक्रपथ बन्यो, साइकल लेन छैन । पहिले बनाउने भनिएको थियो, पछि बनाइएन ।

हाम्रो समस्या नीतिमा होइन, नियतमा छ । साइकल प्रवद्र्धन गर्ने नीति छ, सडक मापदण्डमा पनि यसको व्यवस्था छ । सम्बन्धित इन्जिनियरहरूको दिमागमा साइकलका लागि पूर्वाधार चाहिन्छ भन्ने परेको छैन । यातायात पूर्वाधार गाडीका लागि मात्रै हो भन्ने छ ।

साइकल चढ्नेहरू छैनन् भनिन्छ । संसारभरकै चलन हो, छुट्टै बाटो बनाएपछि ह्वात्तै बढ्छन् । गाडी किन्ने क्षमता भएका पनि साइकल चढ्न थाल्छन् । सप्ताहान्तमा साइकलमा सयर गर्नेको नियमित सवारीसाधन यही बन्छ ।

डाँडाकाँडामा विश्वस्तरीय साहसी साइकल ट्रयाक छन्, तिनको प्रवद्र्धन गरे पुग्छ । सहरभित्र ऐतिहासिक–सांस्कृतिक स्थलहरूलाई साइकलसित जोड्न सकिन्छ । उकुसमुकस सहरवासीले सास फेर्न पाउनु पर्दैन ?

प्रकाशित : कार्तिक २४, २०७५ १९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×