यसरी हुँदैछ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकाे काम

शब्द/तस्बिर : लालप्रसाद शर्मा

पोखरा — राष्ट्रिय गौरवको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यतिबेला टर्मिनल भवनको जग हाल्ने, रनवे सम्याउने, ट्याक्सी वे, एप्रोन, नाला निर्माणको काम धमाधम भइरहेको छ । विमानस्थलको १७ प्रतिशत भौतिक प्रगति र १२ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ ।


प्रकाशित : कार्तिक १५, २०७५ १४:४५

आयोजना प्रमुख विनेश मुनाकर्मीले समग्र आयोजनाको काम १७ प्रतिशत र २ अर्ब भन्दा बढी अर्थात् करिब १२ प्रतिशत बित्तिय प्रगति भएको जनाए । अनुगमनमा आएको प्रतिनिधिसभा अन्तराष्ट्रिय सम्बन्ध समिति र पर्यटन तथा नागरिक उड्ययन अध्ययन अनुगमन उपसमितिका संयोजक माधवकुमार नेपाल नेतृत्वको टोलीसमक्ष उनले आयोजनाको अवस्था जानकारी गराएका थिए ।

५० बढी उपकरण २ सय कामदारले दैनिकरुपमा विमानस्थलमा काम गरिरहेको निर्माण कम्पनीका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले बताए । आयोजनाको डिजाईन तयार भएको र यही महिनाभित्र नागरिक उड्ययन प्राधिकरणले स्वीकृति जनाउने विश्वास निर्माण कम्पनीको छ ।

सन् २०१९ भित्र रनवे निर्माण सक्नेगरी काम भइरहको छ । १४ हजार बर्गमिटरको टर्मिनल भवन २०२० को जुलाईसम्ममा निर्माण सकिनेछ । जमीन खन्ने क्रममा कडा चट्टान भेटिएपछि अपेक्षा अनुसार भौतिक प्रगतिको काम हुन नसकेको मुनाकर्मीले टोलीसमक्ष जनाएका थिए । साथै विष्फोटक पदार्थ अभावले पनि काममा केही ढिलाई हुन पुगेको छ ।

जग्गा अधिग्रहण गर्दा अहिलेसम्म मुआब्जामात्रै ३ अर्ब सकिएको छ । विमानस्थल आसपासको सडकका लागि ५० करोड खर्च भइसकेको छ । चिनियाँ निर्माण कम्पनी सिएएमसी इन्जिनियरिङले तालिका अनुसारनै काम गरिरहेको छ ।

विमानस्थल अनुगमनपछि समितिका सभापति नेपालले तोकिएको मिति अर्थात आगामी २०२१ जुलाईमा निर्माण सम्पन्न गर्नुपर्ने बताए । विमानस्थलमा १९२ देखि २ सयसम्म यात्रु बोक्ने मझौला खालका जहाज अवतरण र उडान हुनेछन् ।

पोखराबाट बेइजिङ, अजरबैजान, सिंगापुर र दोहासम्म सिधा उडान हुनेछ । विमानस्थलसँगै भन्सार, क्वारेन्टाइनजस्ता आवश्यक १५ वटा संरचनाको डिजाइन र निर्माणको काम पनि अघि बढेको छ ।

चीनको एक्जिम बैंकको करिब २२ अर्ब ऋण सहयोगमा २०७४ साउन १८ मा विमानस्थल निर्माणको काम सुरु भएको हो । १० जुलाई २०२१ भित्र निर्माण सकिएर नेपाललाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा छ । इपिसी (इन्जिनियरिङ, प्रोक्योरमेन्ट र कन्ट्रक्सन) मोडलमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन अर्गनाइजेसनको मापदण्ड अनुसार ‘४डी’ विमानस्थल बन्न लागेको हो ।

विमानस्थलको धावनमार्ग २ हजार ५ सय मिटर लम्बाई र ४५ मिटर चौडाइको हुनेछ । अन्तर्राष्ट्रिय, राष्ट्रिय टर्मिनल भवन, ४ वटा बोर्डिङ कक्ष, ट्याक्सी वेलगायत पूर्वाधार पनि बन्नेछन् ।

ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

मानसिकतामा परिवर्तन नभएसम्म आर्थिक परिवर्तन असम्भव : मुख्यमन्त्री पौडेल

कान्तिपुर संवाददाता

हेटौडा — प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले राजनैतिक परिर्वतनसँगै मानसिकता परिवर्तन नभएसम्म मुलुकमा आर्थिक परिवर्तन सम्भव नहुने बताएका छन् ।

उनले मुलुकलाई समृद्ध र सुखी बनाउन काम गर्ने संस्कारमा परिवर्तन गर्न जरुरी रहेको बताए। राष्ट्रिय युवा परिषद्द्वारा हेटौडामा बिहीबार आयोजित स्थानीय तहका युवाको कार्य क्षेत्रमा हेर्ने शाखा प्रमुखहरुको कार्यशाला गोष्ठी उद्घाटन गर्दै मु्ख्यमन्त्री पौडेलले खाडीमा जाने युवाहरुलाई मुलुकमा नै रोजगारी उपलब्ध गराउने ढंगले योजनाहरु तर्जुमा गर्नुपर्ने बताए।

प्रदेश सरकारले रोजगारीमुलक योजनाहरु ल्याउने जो कोहीलाई पनि सहयोग गर्न तयार रहेको बताउँदै मुख्यमन्त्री पौडेलले उत्पादनसँग जोडिन सबैलाई आग्रह गरे। प्रत्येक नागरिक उत्पादनसँग नजोडिएसम्म मुलुक समृद्ध हुन नसक्ने उनको तर्क थियो।

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले आन्दोलन र जुलुसको युग सकिएको भन्दै अब निर्माणको युग सुरु भएको र युवालाई सिर्जनशील बनाएर मुुलुकको विकासमा संलग्न गराउनु पर्ने बताए।

राष्ट्रिय युवा परिषदका कार्यकारी निर्देशक माधव ढुङ्गेलको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा प्रदेश ३ का सामाजक विकास मन्त्री युवराज दुलाल र हेटौडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले युवाहरुलाई सकारात्मक दृष्टिकोणले हेर्नु पर्ने बताए। शुक्रबारसम्म संचालन हुने कार्यशालामा प्रदेश १, २ र ३ का स्थाानीय तहका युवा क्षेत्र हेर्ने ४० जना शाखा प्रमुखहरुको सहभागिता रहेको छ।

प्रकाशित : कार्तिक १५, २०७५ १४:१८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×