१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

‘मिल्क होलिडे’ ले मर्का

उत्पादन गरेको दूध सडकमा पोख्नुपर्ने किसानको बाध्यता
नवीन पौडेल

परासी — उत्पादनअनुसार दूध बिक्री नभएपछि पश्चिम नवलपरासीका किसान मर्कामा परेका छन्  । स्थानीय दूध संकलन केन्द्र र सहकारीले सीमित मात्रामा दूध संकलन गरेपछि बजार अभाव भएको हो  ।

‘मिल्क होलिडे’ ले मर्का

सहकारीले संकलन गरेको दूध दुग्ध विकास संस्थान (डीडीसी) र अन्य कम्पनीले सातामा दुई दिन किन्न नसकिने जनाएपछि किसान मर्कामा परेका हुन् । उत्पादन कम हुने समयमा पनि मिल्क होलिडेले किसानलाई मर्कामा पारेको भन्दै किसान संघर्षमा उत्रिने तयारीमा छन् ।

केन्द्र र स्थानीय तहले पशुपालनमा सहुलियत ऋण र उत्पादनका आधारमा प्रोत्साहन रकम दिने भएपछि उत्साहित दूध नबिकेपछि लगानी डुब्ने त्रासमा छन् । ५ वर्ष विदेश बसेर फर्किएका बर्दघाट १४ स्थित पशु फर्मका सञ्चालक कमल ढकाल अहिले निराश छन् ।

१० गाई र २ वटा भैंसी पालेर दैनिक १ सय ५० लिटर दूध उत्पादन गर्दै आए पनि सहकारीले संकलन गर्न नसकिने जनाएपछि लगानी डुब्ने चिन्तामा छन् । ‘विदेशमा दु:ख गरेर कमाएको रकममा ऋण थपेर पशु फर्म सञ्चालन गरियो,’ उनले भने, ‘अहिले दूध नबिकेर फयाँक्नुपर्ने अवस्था आउन लाग्यो । सरकारले कृषि र पशुपालनको क्रान्ति भनेको यही हो ?’


जिल्लाबाट नियमित रूपमा दूध उठाउँदै आइरहेको डीडीसी र सीताराम गोकुल मिल्कले बजारमा दूधको माग कम भएको भन्दै दैनिक उठाउन नसक्ने बताएपछि किसानले उत्पादन गरेको दूध सडकमा पोख्नुपर्ने अवस्था आएको छ ।

राज्यले अनुदानको आस देखाएर किसानलाई प्रेरित गर्ने तर उत्पादनको बजार ग्यारेन्टी नहुँदा व्यवसायबाटै पलायन हुनुपर्ने अवस्था आएको पशुपालकले बताए । बर्दघाट नगरपालिका १४, चौपत्तास्थित चन्द्रोदय बहुउद्देश्यीय सहकारी संस्थाले अहिले दैनिक ६ हजार लिटर दूध संकलन गर्दै आएको छ । चौपत्ता, भुजहवा, पुसौली र मझौनीमा उसका दूध संकलन केन्द्र छन् । संकलित दूधमध्ये ४० प्रतिशत स्थानीय बजार र बाँकी डीडीसी र सीताराम गोकुललाई बिक्री गर्ने गर्छ तर १५ दिनअगाडि दूध उठाउन नसक्ने भन्दै सहकारीलाई दूध संकलन नगर्नु भनेपछि अप्ठ्यारो परेको हो ।

१० हजार लिटर क्षमताको चिस्यान केन्द्र अहिले पूरै भरिएको छ । दैनिक ३ हजार ५ सय दूध कहाँ राख्ने भन्ने अन्योल छ । मुख्य सिजनमा दैनिक १० हजार लिटरसम्म दूध संकलन हुने गर्छ । अफ सिजनमा नै यस्तो समस्या आएपछि मुख्य सिजनमा के गर्ने भन्ने पिरलोमा सहकारी र किसान छन् ।

पशुपालनलाई प्रोत्साहन गर्ने र दूध उत्पादन बढाएर जिल्ला आत्मनिर्भर बनाउने अभियानमा लागेका सहकारी आफैंले उत्पादित दूध किन्न नसक्ने अवस्थामा आउँदा समस्या परेको चन्द्रोदय बहुद्देश्यीय सहकारी संस्था बर्दघाटका अध्यक्ष पूर्णप्रसाद तिमिल्सिनाले बताए । ‘किसानाई दूध उत्पादन गर्न प्रोत्साहन गरियो तर अहिले आफैंले किन्न नसक्ने भन्दै मिल्क होलिडे गर्नुपर्ने अवस्था आउनु दु:खद हो,’ उनले भने, ‘न त आत्मनिर्भर बन्न सकियो, न किसानले उचित मूल्य र बजारको ग्यारेन्टी नै पाए ।’

सुनवल नगरपालिकामा रहेको भुमही दुग्ध उत्पादक सहकारी संस्थाको हालत पनि उस्तै छ । लुम्बिनी डेरीलाई बिक्री गर्दै आएको यस संस्थालाई पनि कम्पनीले माग घटेका कारण दूध उठाउन नसक्ने बताएपछि मिल्क होलिडे गर्नुपर्ने अवस्थामा छ ।

सरकारले प्रतिलिटर किसानलाई १ रुपैयाँ उत्पादन अनुदान दिएर ५० रुपैयाँ लिटरको दूध पोख्नुपर्ने अवस्था सिर्जना गर्नु दु:खद रहेको सुनवलका दीपक शर्माले बताए । ‘ठूला उद्योगले आफूलाई मन लागे मात्र दूध किन्ने र बजारमा माग नबढेको बहानामा किसानलाई मर्का पर्दा सरकारले के हेरेर बसेको छ ?’ उनले भने, ‘ठूला कम्पनीको मनोमानी रोक्न सहकारी र स्थानीय तह आफंैले दूधबाट बन्ने वस्तु उत्पादन हुने उद्योग सञ्चालनमा ध्यान दिनु आवश्यक छ ।’

प्रकाशित : कार्तिक १२, २०७५ ०७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?