१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चीनले जिम्मा लिएका विद्यालय बनाउन ढिलाइ

कान्तिपुर संवाददाता

काठमाडौँ —  चिनियाँ सरकारले सम्झौता गरेको विद्यालय भवन निर्माणमा ढिलाइ गरेको छ । १० जिल्लामा हिमाली आवासीय विद्यालय निर्माण गर्न ५ वर्षअघि चिनियाँ सरकारले शिक्षा तथा मानव स्रोत विकास केन्द्रसँग सम्झौता गरेको थियो तर अहिलेसम्म एउटै विद्यालय बन्न सकेको छैन ।

चीनले जिम्मा लिएका विद्यालय बनाउन ढिलाइ

सिन्धुपाल्चोकको रत्नराज्य मावि र लमजुङको भैरवी मावि निर्माणाधीन छन् भने अन्य विद्यालय बनाउने प्रक्रिया सुरु भएको छैन ।


सन् २०१३ मा चीन सरकारले हिमाली जिल्लामा अत्याधुनिक विद्यालय भवन बनाउन सम्झौता गरेको थियो । करिब एक अर्ब लागतमा एउटा विद्यालय निर्माण गर्ने सम्झौतामा उल्लेख छ ।

पठनपाठन गराउने भवन, छात्रावास, खेलकुद मैदान, शौचालयसहित पूर्ण पूर्वाधारको विद्यालय संरचना बनाउने सम्झौता थियो । १२ जिल्लाबाट छनोट गरेर १० जिल्लाका विद्यालय निर्माण गर्न चिनियाँ सरकारले सम्झौता गरेको हो ।


सम्झौता भएका विद्यालयको जग्गा, विद्यार्थी संख्यालगायत आवश्यक पूर्वाधार विश्लेषण गरे पनि ८ जिल्लामा निर्माण प्रक्रिया सुरु हुन नसकेको हो । चीनसँग सीमा जोडिएका यी जिल्लामा एक/एकवटा विद्यालय बनाउने सम्झौता भएको थियो ।

गोकुलेश्वर मावि दार्चुला, नीलकण्ठ नमुना मावि रसुवा, सिँजाली मावि गोरखा, जिरी मावि दोलखा, सरस्वती मावि ताप्लेजुङ, सगरमाथा मावि सोलुखुम्बु र दुर्गा मावि बझाङको भवन निर्माणका लागि दुई पक्षीय सम्झौता भएको थियो ।


पाँच वर्षसम्म विद्यालय निर्माण नगरी ढिलाइ गरेको केन्द्रले जनाएको छ । २०७२ सालको भूकम्पबाट अति प्रभावित जिल्लाका विद्यालय टहरामै सञ्चालित छन् । चिनियाँ सरकारले जिम्मा लिएकाले पुनर्निर्माण क्रममा यी विद्यालय छनोटमा परेका थिएनन् ।

निर्माण अलपत्र छाडेपछि दूतावासमार्फत चिनियाँ सरकारको ध्यानाकर्षण गराइएको केन्द्रका महानिर्देशक बाबुराम पौडेलले जानकारी दिए । केन्द्रले दूतावासलाई सम्झौताबमोजिम भवन निर्माण नभएको जानकारी गराएपछि चिनियाँ टोली सम्पर्कमा आएको उनले बताए । पौडेलका अनुसार टोलीले दोलखाको जिरी मावि निर्माणका लागि स्थलगत निरीक्षण गरेर काम थाल्ने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित : कार्तिक १०, २०७५ २०:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?