बाह्य बाधा नभए ४० दिनभित्र सुन्दरीजलमा पानी - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाह्य बाधा नभए ४० दिनभित्र सुन्दरीजलमा पानी 

दीपेन्द्र विष्ट

काठमाडौँ — मेलम्ची खानेपानी आयोजनाले सुरुङको आरसीसी (आन्तरिक संरचना ढलान) गर्न ६ किलोमिटरमात्र बाँकी रहेको जनाएको छ । २० किलोमिटर ढलान सकिएको आयोजनाले जनाएको छ । दैनिक २ सय ५० मिटरको दरले ढलान भइरहेको आयोजनाका प्रमुख सुर्यप्रकाश कँडेलले बताए । यही गतिमा काम भए पु्स अन्तिमसम्म मेलम्चीको पानी सुन्दरीजलमा ल्याउन सकिने उनले बताए । 

फाइल तस्बिर

‘हडताल लगायतका कुनै बाधा अडचन नआए पुस मसान्तसम्म सुन्दरीजलमा पानी आइसक्छ,’ उनले भने । ३ स्थानमा सुरुङभित्रको हावा बाहिर निकाल्न भेन्टिलेटर निर्माणका लागि जग्गाको मुआब्जा दिने तथा अन्य कानुनी प्रक्रिया पनि पूरा गरिसकिएको उनले बताए ।


सिन्धु, शिवपुरी वन्यजन्तु आरक्ष र ग्यालथुम खण्डमा भेन्टिलेटर निर्माण हुनेछ । ‘मेसिन आइसकेको छ, अब केही दिनभित्र प्वाल पार्ने काम पनि हुन्छ,’ उनले भने, ‘अब खास समस्या छैन ।’ हालको मेसिनबाट भेन्टिलेटर निर्माण गर्दा वनजंगलमा क्षति नहुने उनले बताए । अम्बाथान हेडवक्र्समा समेत पनि काम तीब्ररुपमा भइरहेको आयोजानाले जनाएको छ ।


सरकारले गत असोजमा मेलम्चीको पानी उपत्यका ल्याउने प्रतिबद्धता जनाएको थियो । पटक–पटक प्रतिबद्धता फेर्दै आएको सरकारले नयाँ वर्षको सुरुमै उपत्यकामा पानी ल्याउने दाबी गरेको थियो । तर, ठेकेदारको लापरबाहीले गर्दा काममा ढिलाइ भएको प्रमुख कँडेलले बताए । उनले याङ्ग्री र लार्केबाट दैनिक १७/१७ करोड लिटर पानी ल्याउने आयोजना निर्माणका लागि डिपीआर पनि स्विकृत हुने चरणमा रहेको बताए । डीपीआर स्विकृत हुने बित्तिकै टेन्डर आव्हान गर्ने भन्दै उनले दोस्रो चरणमा याङ्ग्री र लार्के खोलाबाट पानी ल्याइने बताए ।


मेलम्चीबाट याङग्री सुरुङको लम्बाइ ९ किमि र याङग्री–लार्केबीचको सुरुङको लम्बाइ करिब २ किमि छ । याङग्रीसम्म सडकको पहुँच भए पनि लार्केमा पुर्‍याउन कठिन रहेको उनले बताए ।


मेलम्चीदेखि लार्केबीचको सुरुङको लम्बाइ ११ किमि छ । मेलम्चीबाट आउने दैनिक १७ करोड लिटर पानी उपत्यकाका ३५ लाख बढी जनतालाई समानुपातिक ढंगले वितरण गरिने उनले बताए । १७ करोड मेलम्ची, १७ करोड याङग्री र १७ करोड लार्के गरी दैनिक ५१ करोड लिटर पानी उपत्यकामा ल्याइनेछ । हाल उपत्यकामा दैनिक ३८ करोड लिटर पानी आवश्यक भए पनि काठमाडौं उपत्यका खानेपानी लिमिटेडले १२ करोड लिटरमात्र वितरण गर्दै आएको छ । बर्खामा भने उपत्यकामा १७ करोड लिटर पानी आपूर्ति हुन्छ ।

प्रकाशित : कार्तिक ९, २०७५ १६:२९
प्रतिक्रिया
पठाउनुहोस्

नारायणीमा नयाँ पुल बनाइने

रासस

चितवन — चितवनको नारायणगढ र नवलपरासीको गैँडाकोट जोड्ने पूर्व–पश्चिम राजमार्गको नारायणी पुल साँघुरो बन्दै गएपछि नयाँ पुल निर्माणको तयारी थालिएको छ । 

चितवनतर्फ भरतपुर महानगरपालिका र नवलपरासीतर्फ गैँडाकोट नगरपालिकामा मानवबस्ती र बजार बढ्दै गएपछि पुल साँघुरो भएको हो । यससँगै पूर्व–पश्चिम यात्रा गर्ने सवारीको चाप पनि बढ्दै गएको छ ।

पुलमा दैनिकजसो सवारी आवागमनमा समस्या हुने गरेको स्थानीयवासी बताउँछन् । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख अर्जुनजंग थापाका अनुसार पुलले धान्न सक्ने क्षमता घट्दै गएका कारण नयाँ पुलको नक्साङ्कनको काम सुरु गरिँदै छ । सोही पुलको समानान्तर उत्तर वा दक्षिणबाट पुल निर्माण गर्ने तयारी गरिएको छ ।

हालको सो पुल दुई लेनको हो । चार लेनको पुल बनाउने तयारी गरिएको छ । हाल सञ्चालनमा रहेको पुललाई थप मर्मत सम्भार गरी दुवै पुल सञ्चालन गरिने उनले बताए । विसं २०३८ मा सो पुल निर्माण गरिएको हो । पुलको भार बहन क्षमताको आयु भने ८० वर्ष हुने प्राविधिक बताउँछन् ।

थापाका अनुसार दैनिक १० हजार हाराहारी सवारी धान्ने गरी दुई लेनको पुलनिर्माण गरिएको भएपनि हाल सवारी संख्या बढेपछि आवागमनमा समस्या भएको हो । नारायणीसहित देशका विभिन्न १० नदीमा अत्याधुनिक आकर्षक पुल निर्माण गर्ने तयारी गरिएको छ । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिने उपमहानिर्देशक थापाले जानकारी दिए । आउँदो आर्थिक वर्षभित्रमा नक्सांकन सम्पन्न गरी बोलपत्र आह्वान गर्ने तयारी भइरहेको बताइएको छ ।

नारायणीसँगै बुटवलसम्मका अन्य पुल पनि नयाँ बनाउने तयारी गरिएको छ । पुलको नक्सांकनका लागि विदेशी विज्ञले काम शुरु गरेको थापाको भनाई छ ।

प्रकाशित : कार्तिक ९, २०७५ १५:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×