लापरबाहीले भूकम्पपीडितलाई सास्ती

किस्ता पाउनै ६ महिना
नगेन्द्र अधिकारी

काभ्रे — रोशी गाउँपालिका ११, भीमखोरीका हरिशरण रायले दोस्रो किस्ताका लागि गत फागुनमा फाराम भरे । प्रक्रियामा गएकाले चाँडै किस्ताबापतको रकम पाउने आशामा रहेका उनले जेठसम्म पैसा नआएपछि बुझदा फारामै नबुझाएको थाहा पाए  ।

‘किस्ताका लागि बुझाउनुपर्ने कागजपत्र अझै बुझाएको रहेनछ,’ उनले भने, ‘त्यसपछि ३ पटकसम्म बैंकमा पैसा गइसक्यो भनेर झुक्याए, दोहोर्‍याएर भर्दा पनि अझैसम्म पैसा हात परेको छैन ।’

नमोबुद्ध नगरपालिका ८ का नवीन अधिकारीको दोस्रो किस्ता भुक्तानी रोकिएको छ । ६ महिनाअघि फाराम भरेका उनको कागजपत्र इन्जिनियरले हराइदिएपछि उनले दोहोर्‍याएर भरे पनि अझै पैसा पाएका छैनन् ।

‘६ महिनासम्म पैसा किन आएन भनेर बुझदा इन्जिनियरले फारामै हराइदिएछन्, दोस्रो किस्ताका लागि फाराम नबुझाएका कारण तेस्रो किस्ता पनि रोकिएको छ,’ उनले भने, ‘दोहोर्‍याएर भरेको पनि एक महिना भइसक्यो अझै सम्बन्धित ठाउँमा फाराम पुगेको छैन ।’

उनले इन्जिनियरको लापरबाहीले आफूले समयमै पैसा नपाएको बताए । ‘भूकम्पपीडितको समस्या इन्जिनियर, सरकारी निकायले गम्भीरतापूर्वक लिएनन्, दसैंअघि पैसा दिन नसकेर ठेकेदारले हैरान पारिसके,’ उनले भने, ‘कर्मचारीको लापरबाही र संरचनाका कारण भूकम्पपीडितले झन्झट बेहोर्नुपरिरहेको छ ।’

खटाइएका इन्जिनियर पनि सम्बन्धित गाउँमा नबस्ने र एकमुष्ट काम गर्ने प्रवृत्तिले समस्या भइरहेको छ । सोही कारण अनुदानबापतको रकम पाउन भूकम्पपीडितलाई समय लागिरहेको छ । नमोबुद्ध २ मा खटिएका इन्जिनियर संस्कार श्रेष्ठ आफ्नो कारणले मात्र ढिला नभएको दाबी गर्छन् । ‘हाम्रो कारणले मात्रै ढिला हुने होइन,’ उनले भने, ‘हामीले पनि डाटा इन्ट्री गर्नुपर्छ, वडाध्यक्षको हस्ताक्षर गराउनुपर्छ, विभिन्न कारणले ढिला हुने गरेको छ ।’

जिल्ला आयोजना कार्यान्वयन एकाइ (भवन) प्रमुख महालक्ष्मी जोशीले स्थानीय तहले इन्जिनियरहरूलाई प्रभावकारी रूपमा खटाउन नसकेको दाबी गरिन् । ‘हामीले पठाउने भए पनि उहाँहरूलाई खटाउने सम्पूर्ण अधिकार स्थानीय तहलाई नै छ, वडाध्यक्षले प्रमाणित नगरेसम्म उहाँहरूले तलब खान पाउनुहुन्न,’ उनले भनिन्, ‘काम नगरेको भए कारबाही गर्न तयार छु ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबै स्थानीय तहमा सिनियर इन्जिनियर पठाउने तयारी भएको बताए । ‘सबै स्थानीय तहमा सिनियर इन्जिनियर पठाउने गरी तयारी थालेका छौं,’ काभ्रेमा आयोजित एक कार्यक्रममा ज्ञवालीले भने, ‘त्यो भएपछि प्रमाणीकरणका लागि जिल्ला ल्याइरहनुपर्दैन, धेरै समस्याको समाधान हुन्छ ।’

सरकारी ढिलासुस्ती, समन्वय अभाव, सीमित कर्मचारीका कारण दोस्रो वा तेस्रो किस्ताका लागि निवेदन दिएको कम्तीमा २ महिनासम्म भूकम्पप्रभावित लाभग्राहीले रकम पाउने अवस्था छैन । पहिलो किस्ताबापतको रकम लिएर निर्माण थालेका भूकम्पप्रभावितले डीपीसी तह पूरा गरेपछि दोस्रो किस्ताबापतको १ लाख ५० हजार पाउने प्रावधान छ ।

त्यसका लागि लाभग्राहीले वडा कार्यलयमा निवेदन दिएपछि गाउँ, नगर वा वडामा खटिएका प्राविधिकले प्रमाणित गरेपछि मात्रै वडाले सहरी विकास मन्त्रालयको जिल्ला आयोजना कार्यान्वयन एकाइमा जान्छ । कम्तीमा सयदेखि हजारजनाको विवरण भरेपछि भुक्तानी आदेश बनाएर मात्रै कोष तथा लेखा नियन्त्रण कार्यलयमा चेक बनाउन पठाउने गरेको छ ।

कम्प्युटर दाखिला गर्ने, लाभग्राहीको गुनासो सुन्ने, कार्यालयमा आउने सेवाग्राहीको व्यवस्थापनदेखि प्रशासनिक काम यहींबाट हुने गरेको छ । जिल्ला आयोजनाबाट विवरण कोष तथा लेखा नियन्त्रण कार्यलय पुगेपछि कम्तीमा २ साता लाग्छ । चेक तयार भएपछि अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार हेर्ने जिल्ला आयोजना कार्यान्वयन एकाइलाई दिएपछि उसले फेरि दाखिला गरी बैंकलाई छुट्टाछुटै पत्र तयार गरी चेक बुझाउँछ ।

यसका लागि कम्तीमा १ साता लाग्छ । पहिला बैंक आफैं लिन आउँथे तर अहिले पुर्‍याउन पनि जानुपर्ने भएकाले पनि बैंकसम्म चेक पुग्न समय लाग्ने गरेको छ । बैंकले पनि कम्तीमा एक साता लगाउने गरेका छन् । क्लियरिङलगायत कामका लागि भन्दै बैंकले समय माग्ने गरेको हो ।

प्रकाशित : कार्तिक ९, २०७५ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्

क्षेत्रीय अस्पतालमा उडुस आतंक

विना थापा

कास्की — बिरामी र उनीहरूका कुरुवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको क्षेत्रीय अस्पतालमा उडुसले हैरान परेका छन्  । सर्जिकल वार्डमा उपचाररत आफन्तको कुरुवा बसेकी तनहुँकी जेनिशा रानामगर भन्छिन्, ‘उडुसले टोकेर हैरान पार्छ  ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको गण्डकी क्षेत्रीय अस्पतालमा बिरामी र कुरुवा । तस्बिर : विना/कान्तिपुर

बिरामी कुर्न बसेका बिरामी पर्ने भए ।’ हैरान भएका कुरुवाले अस्पतालका नर्सहरूलाई समस्या सुनाएका थिए । ‘सिस्टरहरू हामी आफैं पीडित छौं पो भन्छन्,’ उनले भनिन्, ‘मारेर पनि साध्य छैन ।’ अस्पताल प्रशासन उडुसको समस्याबारे जानकार नभएको पनि होइन । तर, उपयुक्त कदम नचालेको गुनासो बिरामीका कुरुवाको छ ।

‘बिरामी भएर आएको दुखाइ छँदै छ, त्यसमाथि उडुसले टोक्दाको अवस्थामा किन भर्ना भइयो जस्तो लाग्यो,’ पोखराको पुम्दीभुम्दीका सन्दीप बराल भन्छन्, ‘अस्पताल व्यवस्थापनलाई बेवास्ता गरेकै कारण यस्तो भएको हो ।’ 

चार दिनदेखि अस्पतालमा रहेका उनले उडुसको समस्यामात्रै होइन सरसफाइमा पनि ध्यान नपुगेको पाइएको बताए । ‘बिरामी निको हुन आउने ठाउँमा झन् बिरामी पर्ने स्थिति छ,’ उनले भने, ‘सरसफाइमा ध्यान दिए उडुसको समस्या हट्थ्यो । शौचालय पनि सफा राखिदिनुपर्छ ।’

बच्चा जन्माएका आमाभन्दा पनि शिशुलाई टोक्छ कि भन्ने डर लागेको प्रसूति वार्डमा आफन्तको कुरुवा बसेकी अस्मिता नेपालले बताइन् । ‘उडुस दिनभरि हराउँछ रात परेपछि देखिन्छ,’ उनले भनिन्, ‘यसलाई बेलुका अरुलाई असर नपर्ने गरी औषधी छर्किदिए हराउँदै जाने हो ।’ उडुसले आफूहरू पनि हैरान रहेको नर्स सोभना गुप्ता सिंहले बताइन् । ‘नर्स स्टेसनको फर्निचरमा पनि उडुस परेको छ,’ उनले भनिन्, ‘बिरामीको गुनासो प्रशासनसम्म पुगेको छ । बेलाबेला औषधि छर्ने गरेको पनि हो तर, हराएको छैन ।’

अस्पताल प्रशासनले चार महिनायता उडुसको समस्या रहेको जानकारी रहेको र निर्मूल पार्ने उपाय पनि अवलम्बन गरिएको दाबी गरेको छ । अस्पतालको प्रशासन शाखा अधिकृत नारायण आचार्यले उडुस निर्मूल पार्न कडा प्रकारको विषादि प्रयोग नगरी नहुने अवस्था रहेको बताए ।

‘त्यस्तो गरे पनि बिरामीलाई नै असर पर्ने सम्भावना भएकाले समस्यामा परेका हौं,’ उनले भने, ‘बिरामीको स्वास्थ्यमा असर नपर्ने गरी कुन उपायबाट उडुस निर्मूल पार्ने भन्ने विषयमा विभागीय प्रमुख, वार्ड इन्चार्ज र प्रशासनबीच छलफल हुँदै छ ।’

तत्कालै निर्मूल नै पार्न नसके पनि कम गर्ने विकल्प अपनाइने उनले बताए । पश्चिम क्षेत्रका विभिन्न जिल्लासँगै पोखरा महानगरको सुलभ उपचार केन्द्र भएकाले अस्पतालमा जहिल्यै बिरामीको चाप रहन्छ । बेड क्षमताभन्दा बढी बिरामी भर्ना भइरहने अस्पतालमा चापका कारण यस्तो उडुस निर्मूल पार्न प्रभावकारी उपाय अपनाउन ढिला भएको छ ।

प्रकाशित : कार्तिक ९, २०७५ ०७:१४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्