१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

डाक्टर पढाउँदै गाउँपालिका

भीमबहादुर सिंह

जाजरकोट — जुम्ला र डोल्पाको सीमासँग जोडिएका जाजरकोटका दुई गाउँपालिकाले चालु शैक्षिक सत्रदेखि डाक्टर पढाउने भएका छन् । जिल्लाका कुशे र बारेकोट गाउँपालिकाले यस वर्षबाट एक/एक जनालाई एमबीबीएस पढाउने भएका हुन् ।

डाक्टर पढाउँदै गाउँपालिका

यी दुवै गाउँपालिकाले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरसँगको साझेदारी छात्रवृत्तिमा डाक्टर पढाउने भएका हुन् । गाउँपालिकाले छात्रवृत्ति कोटामा डाक्टर पढाउने निर्णय गरेपछि यहाँका बासिन्दा खुसी भएका छन् ।


झाडापखाला लगायत रोगको प्रकोप तथा महामारीबाट पटकपटक पीडित यहाँका बासिन्दा गाउँपालिकाले पढाएका डाक्टरबाट घरछेउमै स्वास्थ्य उपचार सेवा पाउने आशामा खुसी भएका हुन् ।


कुशे,बारेकोटलगायत विकट गाउँपालिकाका बासिन्दा गुणस्तरीय उपचारबाट वञ्चित हुदै आएका छन् । विपन्नका छोराछोरीले डाक्टर पढ्न पाउने निर्णय उदाहरणीय भएको स्थानीय बताउँछन् । आफ्नै लगानीमा गाउँपालिकाले स्वास्थ्य क्षेत्रको दक्ष जनशक्ति उत्पादनमा जोड दिनु सुखद मानिएको छ ।


कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतको पहलमा गाउँपालिकाले ५०, सम्बन्धित विद्यार्थीबाट २५ र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले २५ प्रतिशत खर्च व्यहोर्ने सम्झौता भएको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट कक्षा ११ र १२ मा विज्ञान समूहअन्तर्गत जीव विज्ञान, रसायन र भौतिक शास्त्र विषयमा ५० प्रतिशत अंक तथा २ दशमलव ४ जिपीए ल्याई उत्तीर्ण गरेकाले उक्त कोटामा डाक्टर पढ्न आवेदन दिन पाउनेछन् ।


त्यस्तै स्वास्थ्य विज्ञान प्रविणता प्रमाणपत्र तहमा ५० प्रतिशत अंक ल्याइ उत्तीर्ण गरेकाले पनि डाक्टर पढ्न आवेदन दिने व्यवस्था छ । साझेदारी छात्रवृत्ति कोटामा डाक्टर पढ्न सम्बन्धित गाउँपालिकाको नागरिक,१० कक्षासम्म सामुदायिक विद्यालयमा अध्ययन गरेको,गरिब तथा जेहेनदार हुनुपर्ने मापदण्ड बनाइएको बस्नेतले बताए । द्विपक्षीय सम्झौताअनुसार प्रतिष्ठानले एमबीबीएस अध्ययनका लागि आवेदन माग गरिसकेको अध्यक्ष बस्नेतको भनाइ छ ।


मंसिर ११ सम्म आवेदन फाराम बुझाउने म्याद रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान, पुलचोक क्याम्पसँग पनि साझेदारी कोटामा इन्जिनियर पढाउने सम्झौता गर्न लागेको बस्नेतले जानकारी दिए ।


दक्ष प्राविधिक जनशक्ति उत्पादनबाट गाउँको विकासमा टेवा पुग्ने भएकाले यो कार्यक्रम लागु गरिएको उनको भनाइ छ । गाउँपालिकाको लगानीबाट उत्पादन भएका जनशक्तिले गाउँपालिका क्षेत्रभित्र कम्तिमा ४ वर्ष सेवा गनुपर्ने सर्त राखिएको छ । ‘दुर्गम गाउँमा बसेर जनताको सेवा गर्ने दक्ष जनशक्तिको अभावका कारण यस्तो सम्झौता गर्न बाध्य भएका हौं,’ उनले भने,‘गाउँपालिकाको बजेटले भ्याएसम्म अन्य क्षेत्रका जनशक्ति उत्पादनलाई पनि जोड दिइनेछ ।’

प्रकाशित : कार्तिक ६, २०७५ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?