उठ्यो सिँगटी

तीन वर्षअघिको भूकम्पले तहसनहस बनेको सिँगटी बजार अब पहिलेभन्दा भव्य छ । स्थानीय आफैं जुटेर ढलेको बस्ती उठाए । भत्किएका घर आरसीसी भवनमा बदलिए । बस्ती विस्तारसँगै विकास गतिविधिसमेत तीव्र छ ।
मकर श्रेष्ठ, राजेन्द्र मानन्धर

दोलखा — साढे तीन वर्षअघिसम्म यहाँ आरसीसी भवन फाट्टफुट्ट मात्र थिए । तीमध्ये दुइटा २०७२ को भूकम्पमा ढले । ढुंगामाटोले बनेका घर त एउटै जोगिएनन् । थुप्रै स्थानीय भग्नावशेषमा पुरिए । शव कुहिएर बस्तीभरि दुर्गन्ध फैलियो । त्रासकै बीच कोही सदरमुकाम चरिकोटतिर लागे त कोही गाउँ उक्लिए ।

उत्तरी दोलखाको प्रमुख व्यापारिक केन्द्र सिँगटी । जेठ २९ को शक्तिशाली अनुकम्पनले केन्द्रविन्दु बनाएपछि तामाकोसी किनारको यो बजार सुनसान बन्न पुग्यो । यहाँका ३२ जनाले ज्यान गुमाए । थुप्रै घरबारविहीन भए । ३४ किमि परको सदरमुकामबाट तत्काल राहत पुग्ने छाँट देखिएन ।


प्रकृतिले दिएको चोटमा विस्तारै समयले नै मलम लगाउँदै गयो । थातथलो छोडेर हिँडेकाहरू फेरि फर्किए । सबै जना ढलेको बस्ती उठाउन एकजुट भए । सरकारी अनुदान पर्खेर बसेनन् । अहिले सिँगटी बजार पहिलेभन्दा भव्य छ । फेरि उही चहलपहल । भत्किएका घर आरसीसी भवनमा बदलिएका छन् । कतिले नयाँ छाप्रो हालेका छन् । पहिलेजस्तो ढुंगामाटोले होइन, चारैतिर फलामका खम्बा गाडेर जस्ताले बारिएका छन् । स्थानीयका मुहारमा खुसी फर्किएको छ ।


सरकारले आवास अनुदान दिने चर्चा चल्दै थियो । कस्तो घर बनाउने भन्ने डिजाइन फाइनल भइसकेको थिएन । सरकारी काम वर्षौं पनि लाग्न सक्थ्यो । ‘कति पर्खनु, त्यसैले आफैं घर बनाउन सुरु गरें,’ ७७ वर्षीय जगतबहादुर खत्रीले सुनाए । उनले बिगुबाट आएको ठाडो खोलाछेउमै पक्की घर बनाए । न सरकार कुरे न त एनजीओ–आईएनजीओ । धेरैले भने पनि– यस्तो खर्च गरेर किन जोखिमपूर्ण ठाउँमा घर बनाएको होला ? तर पछि सरकारी अनुदान पाउने पहिलो व्यक्ति उनै बने । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७२ फागुन ३० मा सिँगटीबाट खत्रीलाई पहिलो किस्ता ५० हजार रुपैयाँ दिएर आवास पुनर्निर्माण अभियान थालनी गरेको थियो । खत्रीले घर बनाएपछि अरूलाई पनि आँट आयो । धमाधम पक्की भवन बनाउन थाले । केही बनिसके, केही बन्ने क्रममै छन् ।


सिँगटी बिगु र कालिञ्चोक गाउँपालिकाको साँधमा पर्छ । कालिञ्चोक, बिगु र गौरीशंकर गाउँपालिकादेखिका बासिन्दा किनमेल गर्न यहीँ आउँछन् । बिगुतर्फका ७५ घरधुरीमध्ये ३५ वटा पक्की रहेको वडाध्यक्ष बुक्तम तामाङले बताए । ‘पहिले बस्ती तहसनहस थियो, अहिले त्यस्तो अवशेष पनि छैन,’ उनले भने, ‘वास्तवमा भूकम्पले बस्तीलाई थप व्यवस्थित बनाइदियो, सबैजसो घर भूकम्पप्रतिरोधी बनेका छन् ।’


कालिञ्चोकतर्फ पनि भूकम्पपछि धेरै पक्की भवन बनेको वडा सदस्य पुस्कर सिवाकोटीले बताए । ‘जति घर बने सबैजसो पक्की छन्,’ उनले भने । कालिञ्चोकतर्फ २ सयभन्दा बढी घरधुरी छन् । पक्की भवन बनाउनेले बिमासमेत गर्न थालेका छन्, यसका लागि बिमा कम्पनीले सघाइरहेका छन् ।


बस्ती विस्तार मात्र होइन, सिँगटीमा विकासले पनि तीव्रता पाइरहेको छ । यहाँ दुई नदी बग्छन्– लामाबगरबाट आउने तामाकोसी र बिगुबाट आउने ठाडो खोला । दुवै नदी बर्खामा बस्ती पस्ने डर हुुन्थ्यो । बस्तीभन्दा माथिको विशाल भीरले उस्तै त्रास थियो । भूकम्पपछि सरकारले यो बस्तीलाई विशेष ध्यान दिएको छ । ठाडो खोलामा ग्याबिन पर्खाल र अन्य सुरक्षित उपाय अपनाइँदै छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले भीर काटेर व्यवस्थित बनाइरहेको वडाध्यक्ष तामाङले बताए । आयोजनाले पहिरो रोक्ने
संरचना निर्माणका लागि टेन्डरसमेत आह्वान गरिसकेको छ । ‘भूकम्पपछि सरकारले पनि सिंगटीवासीको सुरक्षामा चासो दिएको छ,’ वडा सदस्य सिवाकोटीले भने, ‘स्थानीयले घर बनाउँदा भूकम्पप्रतिरोधी प्रविधि अँगालेका छन् ।’ भूकम्पपछि अन्यत्र गएकाहरू सबै फर्किसकेको उनले बताए ।


स्थानीय निर्वाचनपछि जनप्रतिनिधिले पनि बस्ती सुरक्षित बनाउन निकै पहल गरे । सिंगटीमा खोला र भीरले जोखिम बढाएको औंल्याउँदै सरकारले अनुदान रोकेको थियो । ‘धेरै प्रयासपछि सिंगटीका भूकम्पपीडितलाई अनुदान दिन सक्यौं,’ बिगु गाउँपालिका अध्यक्ष युधिष्ठिर खड्काले भने, ‘बस्ती सुरक्षित बनाउने पहल अझै जारी छ ।’


भूकम्पपछि पहाडै खसेर थुनिएको सडक तामाकोसी आयोजनाले चौडा बनाइसकेको छ । ‘पहिरो व्यवस्थापन अझै बाँकी छ,’ आयोजना प्रमुख विज्ञान श्रेष्ठले भने, ‘त्यसका लागि काम भइरहेको छ ।’


सिँगटीमा सरकारी कार्यालय खुल्ने क्रमसमेत हवात्तै बढेको छ । पहिले इलाका प्रहरी र गौरीशंकर संरक्षण क्षेत्रको कार्यालय मात्रै रहेकामा अहिले इलाका प्रशासन पनि थपिएको छ । गाउँपालिका सम्पर्क कार्यालय यहीँ राखिएको छ । ‘क’ वर्गको वाणिज्य बैंक इन्भेस्टमेन्ट र सेन्चुरीले शाखा खोलेका छन् । हाइड्रोपावर कार्यालय, अस्पताल र कलकारखाना खुलेका छन् ।


पछिल्ला वर्ष यहाँ आर्थिक कारोबारसमेत बढेको स्थानीय बासिन्दा खत्रीले बताए । उनी २५ वर्षदेखि सिँगटीमा बस्दै आएका छन् । ‘भुइँचालोपछि सिँगटीको स्वरूप झन् व्यवस्थित भयो,’ उनले भने, ‘पक्की घर धेरै बने । अरू घर पनि भूकम्पप्रतिरोधी बने । व्यापार बढेको छ ।’ करोडौं लगानीमा व्यापारिक भवन बनिरहेका छन् । स्थानीय बोधराज श्रेष्ठले एक करोडभन्दा बढी खर्चेर पाँचतले घर बनाएका छन् । इन्भेस्टमेन्ट बैंक शाखा कार्यालय रहेको यही घरमा व्यवस्थित होटल खुल्दै छ । विगतमा खेती लगाउने गरिएका जग्गामा अहिले ठूल्ठूला घर बन्दै छन् । ‘जग्गा र घरको भाउ पनि बढेको छ,’ खत्रीले भने । बस्ती विस्तारपछि पसल सटरको भाडा बढेको छ । एउटा सटरको भाडा मासिक कम्तीमा १५ हजार रुपैयाँसम्म छ ।

प्रकाशित : कार्तिक ६, २०७५ ०७:५३
प्रतिक्रिया
पठाउनुहोस्

बढ्यो जिकाको जोखिम

अतुल मिश्र

काठमाडौँ — छिमेकी मुलुक भारतमा जिका भाइरसको संक्रमण अप्रत्याशित वृद्धि भएपछि नेपालमा समेत जोखिम बढेको विज्ञहरूले बताएका छन्  । इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा गत वर्ष मुलुकमा जिका भाइरस संक्रमणको जोखिम आकलन गर्दा यहाँ यो रोग फैलिने अनुकूल वातावरण देखिएको थियो  ।

‘बंगलादेशमा छँदै थियो । भारतमा जिका बढी देखिएपछि हामी थप जोखिममा परेका छौं’, ईडीसीडीका निर्देशक डा. विवेककुमार लालले भने, ‘डेंगु रोगका लागि जिम्मेवार एडिस एजिप्टी लामखुट्टे मुलुकमा प्रशस्त छ, यसै लामखुट्टेले जिकासमेत सार्छ ।’


नेपालसमेत जोखिममा रहेकाले दिउँसो टोक्ने लामखुट्टेले सार्ने यसको संक्रमण सम्भावनालाई दृष्टिगत गरी ईडीसीडीले टाउको सानो भएका बालबालिका जन्मिए वा एक्कासि हातखुट्टा लुलो हुने शारीरिक समस्या गुलियन वेरी सिन्ड्रोम, न्युरोपैथीलगायत नसासम्बन्धी समस्याको निगरानीसमेत थालेको छ । यो समस्यालाई हाल जिका भाइरस संक्रमणसँग जोडेर हेर्ने गरिएको छ ।


एडिस एजेप्टी लामखुट्टेले सार्ने जिका भाइरस १९४७ मा पत्ता लागेको हो तर धेरै वर्षसम्म अफ्रिका र दक्षिण एसियामा यसको फाट्टफुट्ट मात्र संक्रमण देखिएको थियो । सन् २०१३ देखि जिकाको प्रकोप अमेरिका, पश्चिमी प्रशान्त क्षेत्र र अफ्रिकामा देखियो । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका धेरै सहरी क्षेत्रमा जिका भाइरसको जोखिम छ ।


गर्भवती वा गर्भधारण गर्न खोज्नेले थप चनाखो हुनुपर्ने विज्ञले बताएका छन् । जिका गर्भवती महिलाबाट गर्भमा रहेको शिशुमा सर्छ । गर्भावस्थामा जिका भाइरस संक्रमण देखिएका महिलाको सन्तानमा मुख्य रूपमा मस्तिष्कसम्बन्धी जन्मजात दोष माइक्रोसिफली देखिन सक्छ । यसअन्तर्गत मस्तिष्क सानो भएका बच्चा जन्मिन्छन् । गर्भवतीले जिका भाइरस फैलिरहेको स्थान, मुलुकमा जाँदा विशेष सावधानी अपनाउनुका साथै लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनुपर्ने डा. लालले बताए ।


शारीरिक सम्पर्कबाट समेत यो संक्रमण सम्भव रहेकाले पुरुष र महिला दुवैले आफूलाई लामखुट्टेको टोकाइबाट बचाउनुपर्छ । यति मात्र नभई रगत चढाउँदा समेत यो रोग हुन सक्छ । जिका भाइरसको शरीरमा संक्रमण भएपछि लक्षण देखिन सक्ने समय स्पष्ट छैन तर सामान्यत: यो केही दिन हो ।


‘जिकाको लक्षण फरक वा विशेष खालको हुँदैन, त्यसैले रोग पहिचान गर्न झन् कठिन छ,’ उनले भने, ‘डेंगु, चिकनगुनिया, भाइरल फलुलगायतका सँग मिल्दोजुल्दो लक्षण देखिने भएकाले रोग पहिचानमा मुस्किल हुने गर्छ ।’ ज्वरो, छालामा बिमिरा, आँखा पाक्ने, जोर्नी र मांसपेशीको दुखाइ, टाउको दुखाइ, असजिलोपन आदि यसका लक्षण हुन् । यस्ता लक्षण मधुरो देखिनुका साथै दुई दिनदेखि एक सातासम्म रहन्छ ।

प्रकाशित : कार्तिक ६, २०७५ ०७:४९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्