लण्डन सम्मेलनमा नेपालमा बाघको संख्या दोब्बर भएको जनाउ

कान्तिपुर संवाददाता

लण्डन — वन तथा वातावरण मन्त्री बस्नेत शक्तिबहादुर बस्नेतले विगत ९ वर्षको अवधिमा नेपालमा बाघको संख्या दोब्बर नजिक भएको जानकारी दिएका छन् ।

लण्डन सम्मेलनमा नेपालमा बाघको संख्या दोब्बर भएको जनाउ

बेलायत सरकारको आयोजनामा लण्डनमा भएको वन्यजन्तुको अवैध व्यापार निराकरण सम्बन्धी दुई दिवसीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले उक्त जानकारी दिएका हुन् ।


उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दै मन्त्री बस्नेतले ११ अक्टोबरको पूर्ण सत्रमा वन्यजन्तुको अवैध व्यापारलाई निरुत्साहन र नियन्त्रण गर्न नेपाल सरकारले लिएका नीति तथा कार्यक्रमबारे समेत प्रकाश पारे ।


उनले नेपालको कुल भू-भागको २३ प्रतिशत भू-भाग संरक्षित क्षेत्र रहेको र वन्यजन्तुको सिकारमा पूर्ण प्रतिबन्ध लगाइएकाले सन् २०११ देखि २०१८ सम्ममा गैँडाको सिकार शून्य रहेको जानकारी गराउँदै नेपाल सरकार वन्यजन्तुको संरक्षणमा पूर्ण प्रतिबद्ध रहेको बताए ।


नेपाल सरकारले वन, वातावरण तथा वन्यजन्तुको संरक्षणमा समुदायको सहभागितामा जोड दिन नीति अवलम्बन गरेको बताउँदै मन्त्री बस्नेतले यसबाट समुदाय समेत लाभान्वित भइरहेको विचार व्यक्त गरे ।


वन्यजन्तुको संख्या वृद्धि र सुरक्षामा नेपाल सरकार प्रतिवद्ध रहेको उल्लेख गर्दै उनले वन्यजन्तुको व्यवस्थापन पक्ष वर्तमानको चुनौती रहेको पनि बताए ।


सम्मेलन उद्घाटन सत्रमा संयुक्त अधिराज्य सरकारका विदेश मन्त्री जेरेमी हन्टले नेपालमा सन् २००९ देखि हालसम्मको स्थितिमा बाघको संख्या दोब्बर वृद्धि भएको र विगत चारवर्षदेखि गैंडा र बाघको सिकार शून्य रहेकोले यस्तो उदाहरणीय कार्यको अन्य देशहरुले पनि अनुसरण गर्नुपर्ने विचार व्यक्त गरेका थिए ।


अवैध वन्यजन्तु व्यापारलाई संगठित अपराधको रुपमा लिई यसको नियन्त्रणको लागि सरकार र सबै सरोकारवाला निकायहरुबीच साझेदारी र सहयोग अभिवृद्धि लक्ष्य निर्दिष्ट २० बुँदे विश्व घोषणाको जारी गर्दै १२ अक्टोबर २०१८ मा सम्पन्न भएको हो ।


८० देशका सरकारी र निजी क्षेत्रका प्रतिनिधिमण्डलले भाग लिएको उक्त विश्व सम्मेलनमा मन्त्री बस्नेतको नेतृत्वमा रहेको नेपाली प्रतिनिधिमण्डलमा संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मानबहादुर खड्का, राजदूतावासका काउन्सुलर शरदराज आरण र चितवन राष्ट्रिय निकुञ्जका उपसचिव वेद कुमार ढकाल थिए ।


सम्मेलन अवधिमा मन्त्री बस्नेतसँग संयुक्त अधिराज्यका सांसद जोन मान र श्रीलंकाको प्रतिनिधि मण्डलका नेता सन्डिथ समरसिगेंले शिष्टाचार भेटगरी नेपालले वन पर्यावरण,जैविक विविधता र वन्यजन्तु संरक्षण सम्बन्धमा गरेको प्रगतिबारे चासो राख्दै यस क्षेत्रमा साझेदारी अभिवृद्धि गर्न इच्छुक रहेको बताएका थिए ।


साथै १२ अक्टोबरमा मन्त्री बस्नेतसँग युके ट्रस्ट फर नेचर कन्जरभेसन इन नेपालका अध्यक्ष एवं बेलायती सेनाका पूर्व प्रधान सेनापति अतिरथी सर जोन च्यापलले राजदूतावासमा शिष्टाचार भेट गरी नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोष र संयुक्त अधिराज्यको राष्ट्रिय प्रकृति संरक्षण कोषबीच साझेदारी र सहयोग अभिवृद्धि गर्ने सम्बन्धमा छलफल गरेको दूतावासले जनाएको छ ।

प्रकाशित : आश्विन ३०, २०७५ ०८:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?