३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

देउवा र शशांकको आरोप, ‘सरकार प्रेसविरोधी'

रमेशकुमार पौडेल

चितवन — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाले सरकार प्रेसविरोधी भएको अरोप लगाएका छन् ।

देउवा र शशांकको आरोप, ‘सरकार प्रेसविरोधी'

नेपाल प्रेस युनियन चितवन शाखाको आठौं जिल्ला अधिवेशनको शुक्रबार भरतपुरमा सम्पन्न उद्घाटन कार्यक्रममा दुवै नेताले समसामायिक राजनीति र पार्टीको आन्तरिक विषयमा केही नबोली सरकारविरुद्ध एक स्वरमा खनिएर छोटा मन्तव्य टुङ्ग्याएका थिए । ‘सञ्चार जगतमाथि सरकारले हस्तक्षेप गर्ने सम्भावना देखिएको छ । प्रेस फ्रिडममा अंकुश लगाउने कोसिस गरिएको छ’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता देउवाले भने । यस्ता षड्यन्त्रविरुद्ध आफ्नो पार्टीले प्रतिकार गर्ने उनले बताए ।


कांग्रेस सधैं प्रेस स्वतन्त्रता र आधारभूत मानव अधिकारको रक्षाका लागि कटिबद्ध रहँदै आएको देउवाको भनाइ थियो । ‘प्रेस स्वतन्त्रताका लागि हामी पञ्चायतमा पनि लडेका हौं । लड्दालड्दै पञ्चायत नै गयो' देउवाले चेतावनी दिँदै भने, 'अहिलेको सरकारले पनि प्रेसविरोधी भावना बनाए हामी चुप लागेर बस्दैनौं ।’


त्यसैगरी महामन्त्री शशांक कोइरालाले पनि सकारले प्रेसविरुद्ध बाधा व्यवधान खडा गरेको बताए । यस्तो कामका विरुद्ध पत्रकारहरु लाग्नु पर्ने र त्यसमा कांग्रेस पार्टीको सहयोग रहने कोइरालाको भनाइ थियो ।


पत्रकारहरु पुरस्कृत

प्रेस युनियनको अधिवेशनको अवसरमा अग्रज र जिल्लाका क्रियाशील युवा पत्रकारहरु पुरस्कृत भएका छन् । युनियनले स्थापना गरेको चीजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकारहरु किशोर नेपाल, कुलचन्द्र वाग्ले र तेजप्रकाश पण्डित पुरस्कृत भए । तीन वर्षयताको पुरस्कार एकैपटक वितरण भएको हो । यो पुरस्कारको राशि ५१ हजार एक सय ५१ रुपैयाँ छ ।


त्यसैगरी नेपाल प्रेस युनियन क्रियाशिल पत्रकारिता पुरस्कार चितवनका राजु चौधरीले पाए । यो पुरस्कारको राशि नगद ११ हजार एक सय ११ रुपैयाँ रहेको छ ।


जिल्ला अधिवेशनको अवसरमा युनियनको शाखा कार्यालय भवनको पनि नेता देउवाले उद्घाटन गरे । मैयादेवी श्रेष्ठले दान दिएको जग्गामा युनियनले करिब ५५ लाख रुपैयाँ खर्च गरेर नयाँ भवन बनाएको हो ।

प्रकाशित : आश्विन २६, २०७५ १५:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?