कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

दृष्टिविहीनले संसार देखेपछि...

विश्व दृष्टि दिवस
अन्धोपन हटाउने योजना अन्योलमा

मोरङ/ताप्लेजुङ — दृष्टिविहीन जन्मेकी पथरीशनिश्चरे ५ खर्सानटोलकी सवना खातुनले ४ वर्षको उमेरमा संसार हेर्न पाइन्  । स्थानीय निजी विद्यालयमा यूकेजीमा अध्ययनरत उनको भविष्यमा चिकित्सक बन्ने लक्ष्य छ  ।

दृष्टिविहीनले संसार देखेपछि...

विराटनगर आँखा अस्पतालले सवनाको दुवै आँखाको सफल शल्यक्रिया नि:शुल्क गरिदिएपछि अहिले संसार नियाल्न सक्ने भएकी छन् । बाहिरी संसार देखाउने अस्पतालप्रति सवना र उनका अभिभावक कृतज्ञ छन् ।


पथरीशनिश्चरे ५ को सुकुम्बासी परिवारका करिम मोहम्मद र सादिया खातुनको पहिलो सन्तानका रूपमा सवनाको जन्म २०६६ माघ ३ गते भएको थियो । जन्म भएको एक महिनासम्म सवनाले आँखा नखोलेको फुपू मैयरुन खातुनले बताइन् ।


‘विपन्नताले पिल्सिएको जीवनमा पहिलो सन्तान दृष्टिविहीन भएपछि सादियाको जीवनमा व्रजपात नै भएको थियो,’ उनले भनिन्, ‘घरमा सासूससुरा, पति, छरछिमेक समाजले समेत उनलाई हेला गर्न थालेको थियो ।


‘पहिलो सन्तान छोरी जन्मिइन्,’ सादियाले भनिन्, ‘जन्मिएकी छोरीले आँखा खोलिनन् ।’ महिना र वर्ष बित्दा पनि छोरीले आँखा नदेखेपछि सवना दृष्टिविहीन भएको परिवारले थाहा पाएको थियो । उनको हेरचार गर्नका लागि एक जना खटिइनुपर्ने भयो ।


मैयरुनले गाउँकै शाशा खनाल गौतमलाई भतिजी जन्मजात दृष्टिविहीन भएको कथा सुनाएको भोलिपल्ट हेर्न आइन् । विराटनगर आँखा अस्पतालको समुदायमा आधारित कार्यक्रमको सहजकर्ता शाशाले सवनाको आँखा परीक्षण गरिन् । दुवै आँखामा ‘मोतिबिन्दु’ भएकाले विराटनगरमा रहेको आँखा अस्पतालमा लैजान सुझाव दिइन् । सवनाको उपचार नि:शुल्क हुने भएपछि उनका परिवार विराटनगर आए । नेत्ररोग विशेषज्ञ डा. ललित सुरिनको टिमले सफल शल्यक्रिया गरेपछि अहिले सवनाले संसार नियाल्न सक्ने भएकी छन् ।


विराटनगर आँखा अस्पतालले ग्रामीण क्षेत्रमा स्वास्थ्य उपचारबाट वञ्चित भई आँखाका रोगी पत्ता लगाई उपचार गर्ने अभियान सञ्चालन गर्दै आएको छ । अस्पतालले सिविनको सहयोगमा समुदायमा आधारित पुन:स्थापना कार्यक्रमअन्तर्गत आँखाका रोगी पत्ता लगाएर नि:शुल्क उपचार गर्दै आएको छ । अस्पतालले रतुवामाई, उर्लाबारी, मिक्लाजुङ र लेटाङ नगरपालिकामा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।


यसअघि मोरङको दक्षिणी क्षेत्रमा सञ्चालन गरेको उक्त कार्यक्रमअन्तर्गत ४५ जना पुरुष, ४० जना महिला, २५ जना बालक र १२ जना बालिकाको आँखाको उपचार गराएको अस्पतालको तथ्यांकमा छ । अस्पतालले आँखाको दृष्टि गुमेका २० जनालाई १५/१५ हजार ऋण सहयोगका साथै दैनिक जीवनयापनका लागि तालिम दिएर पुन:स्थापना गरेको छ ।


अन्धोपन हटाउने योजना अन्योलमा
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका ४ फूलबारीकी असलीमाया सेन्दाङ लिम्बूको आँखा मोतिबिन्दुले ढाकेको छ । उनका दुवै आँखामा मोतिबिन्दु भएको पुष्टि डिचेन डोङगला आँखा उपचार केन्द्र ताप्लेजुङका इञ्चार्ज काजी गुरुङले गरेका छन् ।


काजीका अनुसार उनले त्यसलाई चाँडै शल्यक्रियामार्फत उपचार गराउनुपर्छ । अन्यथा भविष्यमा शल्यक्रिया गर्दा पनि दृष्टि गुम्न पनि सक्छ । घरैमा पुगेका काजीले शल्यक्रिया गर्न सल्लाह दिए । उनीसँगै भएका परिवारलाई आँखा नदेख्ने समस्या त छँदैछ, यसले भविष्यमा पार्ने असरबारे जानकारी पनि गराए ।


तर असलीमाया शल्यक्रिया गराउन तयार भइनन् । घर भित्र र बाहिर गर्न पनि छामछाम छुमछुम गर्नुपर्ने उनलाई किन शल्यक्रिया नगराउने थाहा छैन, तर भन्छिन्, ‘अप्रेसन त नगर्ने, होस् !’ असलीमायाको घरदेखि पाँच मिनेटको पैदल दूरीमा अर्की महिलाको समस्या पनि यस्तै छ । उनीभन्दा कम उमेरकी उनका पनि दुवै आँखा मोतिबिन्दुले ढाकेको छ । समय समयमा चिलाउने, पोल्ने, दुख्ने जस्ता हर्कत आँखामा भइरहन्छ । काजीले उनको पनि शल्यक्रियाको विकल्प नभएको उनी स्वयं र परिवारका सदस्यलाई सुनाए । एक वर्षअघि घरमै गएर सुझाएका उनीहरू अहिलेसम्म शल्यक्रियाका लागि तयार भएका छैनन् ।


२०५५ सालदेखि आँखाको उपचार गरिरहेका काजी भन्छन्, ‘समस्या छ, धेरैको समाधान पनि छ, तर बुझाएर उपचार गराउनै सकिंदैन ।’ कतिपय समय घर्किएपछि आउँछन् भने कतिपय दु:ख बेहोरेरै बस्छन् ।


‘आँखा सेवा सबैका लागि’ भन्ने नारासहित बिहीबार विश्व दृष्टि दिवस मनाइँदै छ । दिवस मनाइरहँदा दृष्टिविहीन जस्तै भएर बसेका यी महिलालाई बुझाउन न त आँखाका स्वास्थ्यकर्मी पुगेका छन् न त परिवार र समुदायले नै बुझाएका छन् ।


विश्व स्वास्थ्य संगठनले सन् २०२० सम्ममा विश्वबाट अन्धोपन हटाउन गरेको उद्घोष पनि नारामा सीमित हुने भएको छ । नेपाल नेत्रज्योति संघ ताप्लेजुङका अध्यक्ष मुक्ति पौडेल स्रोत र जनशक्ति अभावमा गाउँमा पुग्न कठिन भएको बताउँछन् । ‘हामीले स्थानीय सरकारसँग समन्वयको प्रयास गरेका छौं,’ पौडेलले भने, ‘उहाँहरूले साथ दिनुभयो भने, वडा/वडाबाट आँखाका समस्या भएकाहरूको तथ्यांक संकलन गर्ने र उपचार विधिमा लाग्ने तयारीमा छौं ।’ वडाले व्यवस्थापन खर्च सहयोग गरे उपचार केन्द्रले स्वास्थ्यकर्मी उपलब्ध गराउने पौडेल बताउँछन् । ६१ वडा रहेको जिल्लामा जति समय लागे पनि पहिला तथ्यांक निकाल्न जरुरी रहेको उनको बुझाइ छ ।


उपचार केन्द्रका अनुसार २०५५ देखि ७५ सालसम्म जिल्लामा १ हजार ८ सय ५१ जनाको नि:शुल्क शल्यक्रिया गरिएको छ । ७२ हजारको आँखा परीक्षण गरेको केन्द्रको तथ्यांकमा उल्लेख छ । यो बाहेक शिविरमा आउने १६ हजार ४ सय ९ जनाले परीक्षण गराएका छन् । गाउँमा गएर परीक्षण गराएको संख्या ३० हजार रहेको उल्लेख छ ।

प्रकाशित : आश्विन २५, २०७५ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?