१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

जोरायल बस दुर्घटना : अझै चर्‍याइरहन्छ घाउ

मोहन शाही

डाेटी — असोज २० लाई कालो दिन मान्छन्, डोटीका बासिन्दा । देश नै स्तब्ध हुने गरी जोरायल बस दुर्घटना भएको शनिबार ठीक चार वर्ष भयो । दुर्घटनामा देहान्त हुने केवल स्मृतिमा रहे । सामान्य घाइतेका घाउहरू पनि पुरिए । अपाङ्गता भएकाले जसोतसो जीवन चलाउँदै छन् ।

जोरायल बस दुर्घटना : अझै चर्‍याइरहन्छ घाउ

तर, उनीहरूका मनका घाउ पुर्न दुर्घटनाका मृतक तथा घाइतेका आफन्तले अझै क्षतिपूर्ति र राहत पाउन सकेका छैनन् ।

नियमानुसार पाउनुपर्ने क्षतिपूर्ति सम्बन्धित निकायबाट नपाएको गुनासो पीडितहरूको छ । ०७१ असोज २० गते भएको बस दुर्घटनामा २९ जनाको मृत्यु भएको थियो । ६८ भन्दा बढी घाइते तथा अंगभंग भएका थिए ।

दुर्घटनामा परी अपांग भएकी कृष्णा शाही र कल्पना विष्टले अझै उपचार पाएका छैनन् । कृष्णा शाही पूर्ण अपांग छिन् । उनको कम्मरमुनिका अंगले काम गर्दैनन् । कमजोर शारीरिक र आर्थिक अवस्थाका कारण अहिले कष्टकर जीवन बिताइरहेकी छन् । उनका भतिजा प्रकाश शाहीले कागजात सबै जुटाइसकेको भए पनि शिखर इन्स्योरेन्स कम्पनीले क्षतिपूर्ति नदिएको आरोप लगाए ।

कल्पना विष्टको झनै नाजुक अवस्था छ । सो दुर्घटनामा उनले श्रीमान् लक्ष्मण र १६ महिनाकी छोरी सन्ध्या ठकुराठीलाई गुमाएकी थिइन् । १६ महिनाकी छोरी सन्ध्याको बिमा रकम नपाएको उनले गुनासो गरिन् । ‘सुदूरपश्चिम यातायातले पनि उपचार गर्दा गर्दै अब सक्दैनौं भनेर अलपत्र छाड्यो,’ उनले भनिन्, ‘परिवारबाट पनि साथ पाइनँ, जीवन अन्धकार भयो ।’

कम्मरमुनिको भाग चल्दैन उनको । दिसा–पिसाब भएकोसमेत थाहा नपाउने उनी अहिले काभ्रेस्थित स्पाइनल इन्जुनियरिङ पुन:स्थापना केन्द्रमा छिन् । आफूसँग भएको पैसा उपचारका लागि सकिएको उनले बताइन् । सरकारबाट क्षतिपूर्ति र राहत नपाउँदा दु:ख लागेको उनको प्रतिक्रिया छ । दुर्घटनामा परी मृत्यु भएका आफन्तको पनि अवस्था नाजुक छ ।

पत्रकार कर्णबहादुर शाही पनि सोही दुर्घटनामा परी बितेका थिए । उनका भाइ प्रकाश शाहीले शनिबार दाजु बितेको सम्झनामा दृष्टिविहीनलाई धनगढीमा फलफूल तथा खाद्यान्न वितरण गरे । दाजुको मृत्युपछि परिवारको सहारा छिनिएको उनको दुखेसो थियो ।

दुर्घटनामा छोरी गुमाएका गायक सौगात ओझाले जोरायल बस दुर्घटनाबारे आफू घाइते अवस्थामा भारतमा उपचार गर्ने क्रममै गीतसमेत गाएका थिए । गीतमा उनले छोरी र आफन्तको अन्तिम दाहसंस्कारमा समेत सहभागी हुन नपाउँदा प्रत्येक वर्ष दसैंका बेला मन बल्झिएर आउने गरेको मार्मिक भावना व्यक्त गरेका छन् ।

जोरायल सरस्वती नगरस्थित इलाका हुलाक कार्यालयमा हल्करामा कार्यरत कृपाराज भट्टले भर्खरै सरकारी जागिरमा प्रवेश गरेका जवान छोरा टेकराज र बुहारीलाई दुर्घटनामा गुमाए । दुर्घटनापछि छोरा–बुहारी गुमाउँदा उनको परिवारको आर्थिक अवस्था कष्टकर बन्दै गएको छ । अझै पनि सरकारबाट राहत नपाएको गुनासो उनको छ ।

त्यस्तै जोरायल बेलटुक्रा गाउँकी महामती भण्डारीले श्रीमान् कृष्ण, छोरा भूमिलाई गुमाइन् । यति मात्र होइन अर्का छोरा खगराजको सोही दुर्घटनामा परी पैताला काटिएको छ । श्रीमान् र छोरा गुमाएकी महामतीलाई अर्का घाइते छोरा खगराजको उपचार गर्ने तनावले सताएको छ । दुर्घटना सम्झिएर महामतीको मन अहिले पनि अत्तालिन्छ ।

गाउँपालिका अध्यक्ष दुर्गा ओझाले पीडितहरूको राहत र क्षतिपूर्तिका लागि गाउँपालिकाले पटक–पटक पहल गरेको भए पनि सुनुवाइ नभएको बताए । उनले मृतकका आफन्तलाई आयआर्जनका कार्यक्रममा गाउँपालिकाले सहयोग गर्ने जानकारी गराए ।

केही पीडितहरूको भने दुर्घटनाका दोषीलाई कारबाही नभएकोप्रति सरकारसँग गुनासो छ । दुर्घटनापश्चात भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गठन गरेको छानबिन टोलीले तयार पारेको प्रतिवेदन कार्यान्वयन नभएको पीडित प्रकाश शाहीले बताए । ‘घटनाका दोषीहरू अहिले पनि खुला रूपमा हिंडिरहेका छन्,’ शाहीले भने, ‘गाडी चेकजाँच नगरी पठाउने प्रहरी, रुट परमिट दिने अञ्चल यातायात कार्यालय, क्षमताभन्दा बढी यात्रु हाल्ने बस मालिकलाई कारबाही हुनुपर्ने माग पीडितहरूको थियो ।

दसैंको रौनक सकिन नपाउँदै भएको बस दुर्घटनाका दोषी ठहर गर्दै चालक वीरेन्द्र साहूलाई मात्र पुनरावेदन अदालत दिपायलले ०७२ सालमा १० वर्षको जेल सजाय तोकेको थियो । उनकै दाजु तथा बस मालिक भने धरौटीमा रिहा भएका थिए ।

प्रकाशित : आश्विन २१, २०७५ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?