२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ठेलमठेल अस्पताल

राजेन्द्र मानन्धर

दाेलखा — चरिकोटस्थित अस्पतालको टिकट काउन्टर खुल्ने समय बिहान १० बजेदेखि मध्याह्न १ बजेसम्मको अवस्था हेर्ने हो भने कुनै आन्दोलन भइरहेजस्तै लाग्छ– ठेलमठेल, जताततै भीड । सम्पूर्ण सेवा नि:शुल्क भएको यहाँ दैनिक ३ सयभन्दा बढी बिरामीले जचाउँछन् ।

ठेलमठेल अस्पताल

तर भवन र स्थान अभाव छ । कोही भुइँमा बसेर उपचारको पर्खाइमा हुन्छन् । बहिरंग (ओपीडी) सेवा लिन बिरामी भीडमा च्यापिएर पर्खिरहेका हुन्छन् । दैनिक सरदर ४ जनालाई प्रसूति गराइने अस्पतालमा शिशु र सुत्केरी अप्ठयारो बसाइमा डिस्चार्जका दिन कुरिरहेका हुन्छन् । खासगरी, सरकार र निजी क्षेत्रको साझेदारीमा नि:शुल्क कार्यक्रम ल्याइएपछि अस्पतालमा भवन अभाव हुन थालेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका काम स्थानीय तहमा सर्दै गएपछि अस्पताल कम्पाउन्डभित्रका केही भवन खाली छन् । भूकम्पपछि प्रबलीकरण गरिएका एउटा भवन कोठाहरू झन्डै १ वर्षदेखि तालाबन्दी छ । अस्पताल सञ्चालनको जिम्मेवारी पाएको भीमेश्वर नगरपालिकाले उक्त भवन सञ्चालन गर्न तीन पटक पत्राचार गरिसकेको छ । तर, अस्पतालका लागि जिल्ला स्वास्थ्य कार्यालयले भवन दिन आलटाल गर्दै आएको कर्मचारीहरू बताउँछन् ।

जिल्ला स्वास्थ्य कार्यालयको उक्त भवन प्राथमिक केन्द्रको स्वामित्वको जमिनभित्र छ । निजी क्षेत्र न्याय हेल्थले १० वर्षका लागि व्यवस्थापनको जिम्मेवारी लिएपछि प्राथमिक उपचार केन्द्र हुँदै अस्पतालमा परिणत भएको हो । प्रस्तावित अस्पतालको नाम दिइएको उक्त स्वास्थ्य केन्द्रमा नि:शुल्क सेवा लिन जिल्लाभित्र र काठमाडौंबाट पनि बिरामी आउँछन् ।

अन्यत्र ५/६ लाख खर्च लाग्ने भनिएका शल्यक्रिया उक्त अस्पतालमा नि:शुल्क हुने भएपछि अधिक चाप बढेको हो । स्थान अभावकै कारण क्यान्सर परीक्षणलगायत कतिपय सेवा सुरु नै गर्न नसकिएको प्रमुख चिकित्सक विनोद दंगाल बताउँछन् । उनका अनुसार भवन भए सेवाका दायरा बढाइँदै लान सकिने र बिरामीले नि:शुल्क लाभ लिन पाउने अवस्था छ ।

दैनिक दुईदेखि तीन जनासम्मको जटिल शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ । सुरक्षित आराम कक्ष र शय्या अभावले सातामा पाँचदेखि ८ जनासम्म सरल शल्यक्रियाका बिरामीसमेत राजधानी रिफर भइरहेका छन् । जिल्ला स्वास्थ्य प्रमुख रामेश्वरप्रसाद चौरसिया खाली रहेको एउटा भवनमा विभिन्न निकायको आँखा परेकाले निर्णय गर्न नसकेको बताउँछन् ।

अहिले भवनमा स्टोर तथा रेडक्रसको ब्लड बैंक भएको प्रमुख चौरसियाले बताए । माथिल्लो खाली कोठामा हालै नगरपालिकाले औषधि राखेको छ । अस्पतालका लागि नगरपालिका र न्याय हेल्थले चाहेमा स्थान अभाव नहुने दाबी पनि उनले गरे ।

प्रकाशित : आश्विन २१, २०७५ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?