चिया कारखानामा मजदुरले लगाए ताला

रमेशचन्द्र अधिकारी

धनकुटा — धनकुटाको हिलेमा रहेको गुराँसे टि स्टेट कारखानामा आन्दोलनरत मजदुरले मूल गेटमा बुधार तालाबन्दी गरेका छन् । अघिल्लो महिना निष्कासन गरिएका ज्यालादारी मजदुरको पुनर्बहाली गरिनु पर्नेलगायतका माग राख्दै आन्दोलनमा उत्रिएका मजदुरले चिया कारखानाको मुल गेटमा ताला लगाएका थिए ।

तर, संयुक्त संघर्ष समितिको अगुवाईमा लगाइएको ताला प्रहरीको उपस्थितिमा कारखानामा कार्यरत अन्य मजदुर समूहले नै तोडेका छन् ।

मजदुर आन्दोलनका कारण गुराँसे टि स्टेट, जुन चियाबारी तथा नारायणी चिया कारखाना प्रभावित बनेको छ । कारखाना व्यवस्थापनले ठेक्का प्रणालीबाट काममा लगाउने भन्दै ७० बढी ज्यालादारी मजदुरलाई कामबाट निष्कासन गरेपछि विवाद उत्पन्न भएको संयुक्त आन्दोलन संघर्ष समिति सदस्य तथा चिया मजदुर संघका केन्द्रीय उपाध्यक्ष नारायण तामाङले बताए । आन्दोलनरत पक्षले मजदुर निष्कासन मजदुरको पुनर्वहाली, श्रम ऐन २०७४ कार्यान्वयन हुनु पर्ने तथा सरकारले निर्धारण गरेको दैनिक पारिश्रमिक कायम गरिनु पर्ने माग अघि सारेका छन् ।

सरकारले गत साउन १ गतेदेखि लागू हुनेगरी चिया मजदुरको साविकको दैनिक पारिश्रमिक २ सय ७८ बाट बढाएर ३ सय ८५ कायम गरे पनि त्यसको कार्यान्वयन नगरिएपछि मजदुर आन्दोलित भएका चिया मजदुर संघका केन्द्रीय उपाध्यक्ष तामाङले बताए ।

कामअनुसारको ज्याला उपलब्ध गराएर ठेक्का प्रणालीबाट काम गराउन पुराना मजदुरलाई निष्कासन गरिएको कारखाना व्यवस्थापनले जनाएको छ । तर, मजदुर कृष्ण ठकुरीले केही महिनादेखिको बाँकी तलब र चाडपर्वको मुखमा रोजगारी खोस्न नपाउने बताए । कारखानामा काम गरिरहेका मजदुरसँग समन्वय समेत नगरी आन्दोलन र तालाबन्दी गर्दा आफूहरुलाई मर्का परेको मजदुर नारायण कटुवालले गुनासो गरे ।

अखिल नेपाल चिया मजदुर संघ इकाई अध्यक्ष निर्मला तामाङ दाहालले सरकारले ३ सय ८५ तोकेको भएपनि २ सय ५३ मात्र दिएर कामबाट निष्कासन गरेकोले पुनर्बहालीको माग गर्दापनि सुनुवाई नभएपछि बाध्य भएर आन्दोलनमा उत्रनु परेको बताइन् ।

प्रकाशित : आश्विन १७, २०७५ १६:५९
प्रतिक्रिया
पठाउनुहोस्

सभापतिलाई धेरै अधिकार गलत : कोइराला

रासस

काठमाडौँ — नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले पार्टी एकजुट भएर सङ्गठन विस्तार र आफ्नो नीतिको प्रचारमा लाग्न आवश्यक रहेको बताएका छन् । दसैं, तिहारलगायत चाडपर्वको पूर्वसन्ध्यामा गण्डक टोखा प्रजातान्त्रिक समाजले बुधबार यहाँ गरेको कार्यक्रममा उनले संविधान कार्यान्वयन, सङ्घीयता सफल व्यवस्थापन र विकासका लागि अन्ततः काङ्ग्रेसले नै भूमिका निर्वाह गर्नुपर्ने बताए ।

काङ्ग्रेसको विधान परिमार्जनका क्रममा सभापतिलाई अधिकार केन्द्रित गर्ने सुझाव आएको जानकारी दिँदै उनले यो गलत हो भने । 'पार्टी अधिकारले भन्दा पनि समन्वय, परामर्श र सबै कार्यकर्तालाई समेटेर चल्छ, चलाइनुपर्छ' ।

जसले समन्वय वा समझदारी कायम गर्न सक्दैन र अधिकारले मात्रै पार्टी चलाउने मनसाय राख्छ उसले सभापति हुने आकांक्षा नराखे पनि हुन्छ भन्ने सुझाव नेता कोइरालाले दिए । सांसद भीमसेनदास प्रधानले काङ्गे्रसको प्रजातान्त्रिक सिद्धान्त र ऐतिहासिक योगदानलाई जनता समक्ष पुर्‍याएर अहिलेको अन्योलको अवस्था अन्त्य गर्न जुट्नुपर्ने बताए ।

प्रकाशित : आश्विन १७, २०७५ १६:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्