गाउँभरि पदमार्गको फेरो

‘अप्ठ्यारो भूगोलमा जोखिम मोलेर गाडी चढाउनुभन्दा मनोरम दृश्य देखाउँदै पर्यटक घुमाउनु राम्रो’
प्रकाश बराल

बागलुङ — कठिन भूगोलमा रहेको तमानखोला गाउँपालिकामा पर्यटक भित्र्याउन पदमार्ग बनाउन थालिएको छ । ट्रेकिङ एजेन्सी एसोसिएन (टान) ले पर्यटन बोर्ड र तमानखोला गाउँपालिकाको सहकार्यमा पदमार्ग रुट तय गरेको हो ।

गाउँभरि पदमार्गको फेरो

४ देखि ५ दिनको यात्रा लाग्ने करिब ४० किमि पदमार्गले गाउँपालिकालाई फेरो मार्नेछ ।मध्यपहाडी लोकमार्गमार्फत बुर्तिवाङ पुगेपछि पदमार्गमा यात्रा सुरु हुनेछ ।


‘भूगोलले कठिन क्षेत्रमा जोखिम मोलेर गाडी चढाउनुभन्दा मनोरम दृश्य देखाउँदै घुमाउने योजना बनाएका हौं,’ गाउँपालिका अध्यक्ष जोकलाल बुढाले भने, ‘यो अभियानले सयौं पर्यटक भित्र्याउने र आर्थिक समृद्धिको खोजी गर्न सहयोग पुग्नेछ ।’ पदमार्ग सञ्चालन हुँदा बागलुङ, म्याग्दी, गुल्मी, प्यूठान, रोल्पा र रुकुममा धेरै पर्यटक त्यहाँ पुग्न सक्ने उनले बताए ।


पदमार्गका दर्जनौं स्थानमा होटल खोल्न सम्भाव्य स्थान छन् । लेकाली मार्ग भएकाले हरेक ठाउँमा आकर्षक रेस्टुरेन्ट र भ्युटावर निर्माण गर्न सकिने सम्भावना छ । योजनाबारे सुनेका स्थानीय बासिन्दाले पर्यटन र व्यावसायिक कृषिबाट लाभ लिन उक्त मार्ग सहयोगी हुने आश गरेका छन् । ‘पदमार्ग सञ्चालनमा आउनासाथ होटल व्यवसाय गर्न सकिने देखेको छु,’ खुंखानीका कुलबहादुर छन्त्यालले भने, ‘हिमाल देखिने स्थानमा पर्यटकलाई बस्न मिल्ने ठाउँ चाहिने भएकाले होटल खोल्न सकिन्छ ।’


यो मार्गबाट बुर्तिवाङदेखि बराहताल, गुर्जाघाट, नर्जाखानी, नौजले र दुर्जेलेक हुँदै सोलेडाँडा पुग्न सकिन्छ । यहाँका दर्जनभन्दा बढी स्थानबाट हिमाली शृंखला देख्न सकिने बुढाले बताए । गाउँपालिकाले कृषिलगायत गाउँमा रमाउने कामका लागि अनुदान दिने, प्रोत्साहनका लागि बीउ, मललगायत उपलब्ध गराउने काममा अगुवाइ गर्ने योजना बनाएको छ । पदमार्गको सञ्चालन गर्दै डीपीआर बनाएर व्यवस्थित बनाउन परामर्शदाताको पनि खोजी गरेको उनले बताए ।


पदमार्गको सबैभन्दा आकर्षणको केन्द्र सोलेडाँडा बन्ने भएको छ । २ हजार ६ सय मिटरमा अवस्थित उक्त क्षेत्र म्याग्दी र बागलुङको सीमा पनि हो । यहाँ धेरै प्रजातिका गुराँस फुल्छन् । त्यस्तै म्याग्दीको दरबाङ र ओखरबोट हुँदै तमान आउने सडक पनि बनेको छ ।


टानको प्रतिनिधि मण्डलले यो पदमार्गमा एकसाता लामो भ्रमण गरिसकेको छ । उनीहरूले परम्परागत बाटोलाई सिंढी लगाउने, केही स्थानमा तारबार लगाउने र बस्ने चौतारी संरक्षण, होटल तथा रेस्टुरेन्ट बनाएर पदमार्ग सञ्चालन गर्न सकिने सुझाव पनि दिएका छन् । ‘यो आकर्षक गन्तव्य भएकाले प्रचार गरेपछि सञ्चालनमा आउँछ,’ भ्रमण टोलीकी सदस्य सुबिना मानन्धरले भनिन्, ‘सम्भावना र पूर्वाधारलाई व्यवस्थापनको मात्र खाँचो छ ।’


यो पदमार्गमा ढोरपाटन सिकार आरक्ष पनि पर्ने भएकाले धेरैको रोजाइको केन्द्र बन्ने उनले बताइन् । गाउँपालिकाले केही छरिएका बस्तीलाई एकीकृत गर्ने योजनासमेत बनाएको छ । ‘झन्डै ४ सय घरलाई एकै ठाउँमा ल्याउन सके खानेपानी, विद्युत्, यातायात, शिक्षा, स्वास्थ्यलगायत एकै स्थानमा पुर्‍याउन सकिन्छ,’ अध्यक्ष बुढाले भने, ‘पदमार्ग र गाउँ पर्यटनमा समेत यो बस्तीलाई जोडिनेछ ।’


प्रकाशित : आश्विन १७, २०७५ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?