कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

गोदावरीमाथि १९६ पहिरो

चुरेमा बर्सेनि बढिरहेका पहिरो नियन्त्रण गर्नुको साटो त्यसको फेद (भावर) मा प्रेसर बढाउँदा तल्लो तटीय क्षेत्र मरुभूमि बन्न सक्ने भूगर्भविद्को चेतावनी
अब्दुल्लाह मियाँ

काठमाडौँ —  सुदूरपश्चिम प्रदेशको राजधानी घोषित गोदावरीको तेघरी समुद्री सतहबाट २१० मिटर उचाइमा छ । २३० मिटरबाट चुरे सुरु हुन्छ । चुरेको अलिकति भित्र छिर्नेबित्तिकै पहिरोहरू सुरु हुन्छन् ।
गोदावरी नगरपालिकाको चुरे क्षेत्रमा मात्र १ सय ९६ वटा सानाठूला पहिरो छन् ।

गोदावरीमाथि १९६ पहिरो

गोदावरी नगरपालिकासँग जोडिएका आसपासका चुरे क्षेत्रमा ८ सय हाराहारीमा पहिरो छन् । विशेषज्ञहरूले ४ सय मिटरभन्दा बढी लम्बाइ भएका पहिरोलाई मात्र ‘पहिरोको गणना’ मा राखेका छन् ।


भीमदत्त राजमार्गस्थित गोदावरी खोलाको पुलबाट करिब एक किलोमिटरमाथि भीमकाय पहिरो रहेको सूदूरपश्चिमको चुरे क्षेत्रका पहिरोबारे अध्ययन गरेका इन्जिनियरिङ भूगर्भविद् सुबोध ढकालले जानकारी दिए । उनका अनुसार गोदावरीमाथिको चुरेको शिरमा केही सय मिटरको ग्यापमा कयौं पहिरो छन् । ती पहिरो कमलो माटोबाट बनेकाले मनसुनका बेला वेगमा बग्ने गेग्रानले तल्लो तटीय क्षेत्रमा असुरक्षा बढाउने उनले बताए ।


‘गोदावरीको उत्तरपश्चिम क्षेत्रमा पहिरोको जोखिम बढी छ,’ ढकालले भने, ‘त्यसैले ती पहिरोसँगै बर्सेनि बगेर आउने ढुंगा, माटो र गेग्रानले तल्लो तटीय क्षेत्रमा असर गर्न सक्छ ।’ चुरेमा देखिएका समस्या नियन्त्रण र नियमनलाई चटक्कै छाडेर ठूला विकासमा मात्र ध्यान गएको उनले बताए । ‘यस्तो खाले विकासको आयु कस्तो हुन्छ भन्ने पहिल्यै सोच्नुपर्छ,’ उनले भने ।


त्रिभुवन विश्वविद्यालयको वातावरण तथा विज्ञान केन्द्रीय विभागले राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिको आर्थिक सहयोगमा करिब डेढ वर्षअघि सुदूरपश्चिममा चुरेका पहिरोबारे विस्तृत अध्ययन गरेको थियो ।


अध्ययनमा संलग्न विभागका तत्कालीन प्रमुख प्राध्यापक केदार रिजालले चुरेका पहिरो र विनाश रोक्नेतिर ध्यान दिनुपर्नेमा राजधानी घोषणा गरिनु गलत भएको टिप्पणी गरे । ‘माथिल्लो तटीय क्षेत्र र तल्लो तटीय क्षेत्रको लिंकेजमा ध्यान दिनुपर्नेमा हामीले जथाभावी त गरिरहेका छैनौं ?’ उनको चिन्ता छ, ‘तत्काल विकास खोज्दा कालान्तरमा भयावह अवस्था आउन सक्छ ।’


बेलैमा चुरे र त्यहाँ देखिएका पहिरो नियन्त्रण तथा रोकथाममा ध्यान नदिने हो भने गोदावरीमा मात्र होइन तल्लो तटीय क्षेत्रका बहुमूल्य संरचना, कृषियोग्य जमिन र भारतीय सीमासम्मै मरुभूमीकरण निम्तिन सक्ने रिजालको विश्लेषण छ । ‘भावर क्षेत्रमा प्रेसर बढ्दा तल्लो तटीय क्षेत्रमा पानीको अभाव सिर्जना हुन्छ,’ उनले थपे, ‘चुरे क्षेत्रमा देखिएका समस्यामा दीर्घकालीन समाधान खोज्नुपर्ने बेलामा खेलाँची भइरहेको छ ।’


गोदावरीको तेघरी चुरे पर्वत शृंखलाको काखमा छ । भूगर्भविद् ढकालका अनुसार चुरेबाट बगेर आउने गेग्रानले भावर र समथर भाग बर्सेनि पुरिने क्रम बढिरहेको छ । गोदावरी क्षेत्रमा पनि त्यो समस्या निम्तिन सक्ने उनको बुझाइ छ ।


चुरेमै विद्यावारिधि गरेका विजयसिंह दनुवारका अनुसार झापादेखि कञ्चनपुरसम्मै भावर र तराई क्षेत्रमा चुरेले बगाएर ल्याएका गेग्रानले मलिलो जमिन र भौतिक संरचना पुरिने क्रम बढिरहेको छ । विकास निर्माण गर्दा त्यसबाट पनि पाठ सिक्नुपर्ने उनले बताए । ‘चुरेबाट पहिरोसँगै बगेर आएका गेग्रानले समथर भागलाई पुर्दै लैजान्छ’, दनुवारले भने, ‘त्यसो हुँदा मानवीय बस्ती र भौतिक संरचना असुरक्षित हुन्छन्, नयाँ सहरको कल्पना गर्दा त्यस्ता पक्षमा अध्ययन हुनुपर्छ ।’

पूर्वपश्चिम राजमार्गमा रहेका धेरै पुल गेग्रानले पुरिने अवस्थामा पुग्नुले पनि दनुवारको भनाइलाई पुष्टि गर्छ । धेरै पुल नदी छुने अवस्थामा पुगेका छन् भने कयौं सहर मनसुनको समयमा बाढी र गेग्रानको चपेटामा पर्ने गरेका छन् । ‘वातावरणीय र भौगर्भिक पक्षलाई बेवास्ता गर्दा परिकल्पना गरिएको विकास अधुरो हुन सक्छ,’ चुरेविज्ञ दनुवारको चेतावनी छ, ‘त्यसैले प्राकृतिक सन्तुलन खलबलिन दिनु हुँदैन ।’ उनका अनुसार चुरेको काखमा खनजोत गर्दा वा स्रोतमा दोहन गर्दाको प्रत्यक्ष असर भूमिगत पानीका स्रोतमा पर्छ ।


सुदूरपश्चिमको कैलालीसहित, डोटी र डडेलधुराका चुरेको पहिरो अध्ययन गरेका त्रिविको वातावरण र विज्ञान केन्द्रीय विभागका विज्ञले तल्लो तटीय क्षेत्रको दिगो संरक्षणका लागि ठूला पहिरोको उपचार (नियन्त्रण) गर्न सुझाएका थिए । ‘हामीले त्यस्ता पहिरोको ट्रिटमेन्टका लागि लाग्ने लागतसमेत प्रक्षेपण गरेका थियौं,’ रिजालले भने, ‘त्यसमा केही प्रगति भएको देखिन्न ।’


पूर्वसचिव रामेश्वर खनालले चुरे समितिको नेतृत्व गर्दा चुरेको पहिरो नियन्त्रणलाई प्राथमिकता दिएका थिए । उनकै सोचअनुसार बढी क्षति निम्त्याउन सक्ने खतरा भएका स्थानमा चुरेको पहिरो अध्ययन गरी नियन्त्रणको काम अघि बढाइएको थियो ।

उनीपछिको नेतृत्वले त्यसमा खासै चासो देखाएको देखिन्न । ‘पूर्वदेखि पश्चिमसम्मै चुरेबाट निम्तिएका पहिरोले राजमार्ग र आसपासका बस्तीलाई विनाश गर्न सक्ने भएकाले नियन्त्रण गर्नुपर्छ भन्नेमा हामी एकमत थियौं,’ खनाल नेतृत्वको समितिमा बोर्ड सदस्य भएर काम गरेका दनुवारले भने, ‘चुरे समितिले पहिरोको अवस्था बुझेर काम गर्न सुरु गरेको भए अहिलेजस्तो विकास आयोजना चुरे र वन क्षेत्रतिर सोझिने थिएनन् ।’

प्रकाशित : आश्विन १६, २०७५ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?