कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सिंहदरबार भत्काउनु पर्दैन : अध्ययन

कान्तिपुर संवाददाता

काठमाडौँ —  सरकारी स्वीकृतीमा गठन भएको एक अध्ययन तथा परामर्श समूहले सिंहदरबारको ‘पश्चिमी मोहडा’ भत्काउनु नपर्ने निष्कर्ष निकाल्दै यसका लागि प्रबलीकरण (रेट्रोफिटिङ) सम्भव भएको जनाएको छ ।

सिंहदरबार भत्काउनु पर्दैन : अध्ययन

सिंहदरबारको ‘पश्चिमी मोहडा’ भत्काउने कि जोगाउने भनेर बहस चर्किएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसबारे बिस्तृत अध्ययन गर्न ४ महिनाअघि इन्फ्रास्टक्चर इन्जिनियरिङ रिसर्च एन्ड कन्सल्ट प्रालिलाई जिम्मा दिएको थियो ।


प्रालिका प्रबन्ध निर्देशक डा.ऋषिराम पराजुलीले सोमबार सिंहदरबारमा प्राधिकरणसमक्ष ‘पश्चिमी मोहडा’ अध्ययनको प्रारम्भिक निष्कर्ष प्रस्तुत गरेका थिए । ‘बाहिर चर्चामा आएजस्तो पश्चिमी मोहडाको संरचना त्यति धेरै क्षतिमा नपरेको’ उनले बताए ।


प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पश्चिमी मोहडाको प्रबलीकरणको काम तत्काल थाल्न मिल्ने गरी ‘विस्तृत अध्ययन विवरण’ टोलीसँग मगाएका छन् । विस्तृत विवरणमा प्रवलीकरणको पद्धति, समयावधि र खर्च निर्धारण हुनेछ ।


तीन वर्षअघि गएको भूकम्पका कारण क्षतिग्रस्त सिंहदरबारका पूर्वी, उत्तरी र दक्षिणी मोहडामा प्रवलीकरण (रेट्रोफिटिङ) जारी रहे पनि पश्चिमी मोहडालाई अझै अध्ययन/अनुसन्धानकै क्रममा राखिएको थियो । युरोपेली शैली–संरचना (नियो–क्लासिकल) मा राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा बनेको सिंहदरबारको पश्चिमी भागमै बेलायती बैठकदेखि स्टेट हलसम्मका बिशिष्ट संरचना छन् । सिंहदरबारका तीन मोहडासहितको मुख्य भागमा भने तीन महिनायता प्रवलीकरण जारी छ ।


प्रकाशित : आश्विन १५, २०७५ २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?