कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

परम्परागत शैलीका घर हराउँदै

ढुंगामाटाले बनाइने परम्परागत शैलीका घरलाई पनि सुरक्षित बनाउन सकिने
भूकम्पपीडितले बुझेनन्, प्राविधिकले कुरा बुझाएनन्
हरिराम उप्रेती

गोरखा — गोरखा नगरपालिका २ ताप्लेका ८० वर्षीय अभिमन परियारलाई भूकम्पपछि आफैंले बनाएको दुईकोठे घरप्रति चित्त बुझेको छैन । ढुंगामाटाकै प्रयोगबाट एकतले घर ठड्याउने अडान लिँदा उनको टहरोको बसाइ तीन वर्ष लम्बियो ।

परम्परागत शैलीका घर हराउँदै

छिमेकी र प्राविधिकले समेत ढुंगामाटोको प्रयोगबाट घर नबनाउन सुझाएपछि बाध्य भएर ६ लाख खर्च गरेर दुईकोठे पक्कीघर बनाएका छन् । ‘बनाएको मात्र हुँ, सरिसकेको छैन,’ उनी भन्छन्, ‘चर्किएको घरमा राखनधरन गरेको छु । टहरोमा सुत्न मिलिहाल्छ ।’ परियारलाई ऋण गरेर सिमेन्ट र इँटाको घर बनाउनुपरेको निको लागेको छैन । ‘पुरानो घर त सबै चर्किएको छ तर माटाले लिपेको घरमा बस्न छुट्टै आनन्द आउँछ,’ उनले भने, ‘माटो र ढुंगाले बनेका घर पनि भूकम्पले भत्कँदैन भनेर थाहा पाएको भए बुढेसकालमा म किन यस्तो घर बनाउँथे र ।’


छिमेकीले सिमेन्ट–इँटा ल्याएर धमाधम घर बनाउन सुरु गर्दा उनलाई त्यसतै बनाइहाल्ने हतारो थिएन । परम्परागत शैलीका घरमा मन रम्ने उनको भनाइ छ । ‘घर नबनाए पैसा नै पाइँदैन भन्ने सुनेर मात्र बनाएको हुँ,’ उनले भने, ‘फेरि भूकम्प आयो भने अहिले बनेको घरमा बस्दा ज्यान चाहिँ जोगिन्छ भन्छन् ।’


२०७२ वैशाख १२ को भूकम्पले गोरखाका विभिन्न स्थानमा ६० हजारभन्दा बढी संरचना क्षति भए । क्षतिग्रस्त घरमध्ये अधिकांश ढुंगामाटाले बनाइएका परम्परागत शैलीका घर थिए । धमाधम भइरहेको पुनर्निर्माणमा अब परम्परागत पुराना घर निकै कम देख्न पाइने भएको छ ।


आधुनिकताले छोपेको बजार क्षेत्रमा पक्की संरचना निर्माणले तीव्रता पाएकै छ, भूकम्पप्रतिरोधी डिजाइन भन्दै प्राविधिकले सिफारिस गरेका घर सबै पक्की छन् । ‘ढुंगामाटाका घर सबै भत्किएको आफ्नै आँखाले देख्यौं,’ पालुङटार नगरपालिका ५ बाझगराका मेघबहादुर गुरुङले भने, ‘मन हुँदाहुदै पनि फेरि तला छापेको ढुंगामाटाको घर बनाउने आँट आएन ।’ सिमेन्टको जोडाइभन्दा माटो उपयोग गरिएको घरगाउँमा उपयुक्त हुने उनको बुझाइ छ । ‘माटाको मझेरीमा जता लड्न पनि पाइन्थ्यो । सिमेन्टको घर चिसो हुनेरहेछ,’ उनले भने, ‘अब बनाइहालियो । कार्पेट ल्याएर छाप्नुपर्ला ।’

पालुङटार –५ बाँझगराका एक भूकम्पपीडितले बनाएको भूकम्प प्रतिरोधी घर ।तस्बिर : हरिराम


प्राविधिकले ढुंगामाटोको प्रयोगबाट पनि भूकम्पप्रतिरोधी संरचना बनाउन सकिन्छ भन्ने बुझाउन नसक्दा यहाँ परम्परागत शैलीका घरहरू संकटमा परेका छन् । छिमेकी जिल्ला तनहुँ, चितवन र रौतहटदेखि इँटा ल्याएर दुईकोठे पक्की घर बनाउनेको संख्या यहाँ अधिक छ । ‘हाम्रो पालामा बन्दीपुरदेखि ढुंगा ल्याएर छाना हालिन्थ्यो । त्यो नभए बारीकै खर काटेर छाउँथ्याैं,’ गुरुङले भने, ‘अटाली निकालेर घर बनाउँदा त्यसको शो नै अर्कै हुन्छ ।’


घर निर्माणका लागि सरकारले उपलब्ध गराएको अनुदानले नपुगे पनि यहाँका अधिकांश भूकम्पपीडितले ऋण गरेरै भए पनि क्रंक्रिटका घर बनाइरहेका छन् । सक्नेले लाखौँ खर्च गरेर पिलर उठाएर घर ठड्याएका छन् । आर्थिक रूपमा कमजोर र मध्यमवर्गका परिवारले पक्की संरचनामा जस्ताको छाना हालेर घर बनाएका छन् ।


स्थानीयस्तरमै पाइने ढुंगा र माटोको प्रयोगले घर बनाए ऋण खोज्नै नपर्ने पालुङटारकै नवराज गुरुङ बताउँछन् । ‘सरकारले दिएको तीन लाख ज्यालामा खर्च गरे पुग्थ्यो,’ उनले भने,‘आफूखुसी घर बनाउँदा पैसा नपाइने डर पनि भयो । अरूले भनेको मान्दा यस्तो घर बनाउन पुगेँ ।’


ढुंगाको छानो, ढुंगाकै गारो भएका एकनासका घर रहेको बारपाकको बस्तीको पुरानो तस्बिर अहिले फेरिएको छ । हुनेखानेले करोड खर्च गरेर पक्की पिलर उठाएर घर उभ्याएका छन् । भूकम्पपछिको पुनर्निर्माण क्रममा बारपाकका अधिकांश घर पककी छन् । सिमेन्ट ढलाइ गरेर छत हाल्न नसक्ने परिवारले जस्तापाताको छानो हालेका छन् । पुराना घरको ढुंगामाटो काम लागेको छैन ।


भूकम्पले घर लडाउँदा ढुंगाका गारो र छानाले च्यापिएर केही स्थानीयको मृत्यु भएको थियो भने केही घाइते भएका थिए । घटना सम्झेर स्थानीयले पनि पुरानै गाउँको भल्को दिने गरी परम्परागत शैलीका घर फेरि उभ्याउन मन गरेनन् । भूकम्प गएलगत्तै गुरुयोजना बनाएर अघि नबढदा खिचडीजस्ता घर बनेको स्थानीय लाल घले बताउँछन् । ‘घर त पुरानै राम्रो हो । गाउँ पनि अर्कै देख्ने, ढुंगाको छानो हावाले पनि नउडाउने,’ उनले भने, ‘छानाका ढुंगाले धेरै नै मान्छे च्यापिएको सम्झेर त्यतातिर मन गरिएन ।’ अहिले पनि गाउँ भेलामा छलफल चल्दा नयाँ शैलीले मौलिकता मासिएको भन्दै धेरै जनाले बहस गर्ने गरेको उनले बताए ।


देखासिकीकै कारण धेरैजसो भूकम्पपीडितले क्रंक्रिटका घर निर्माण गरेको पालुङटार नगरपालिका ४ का रामबहादुर सुनार बताउँछन् । ‘एउटाले सिमेन्ट प्लास्टर घर बनाएपछि अर्कोले पनि त्यस्तै बनाउनुपर्छ भन्ने मानसिकता गाउँको मान्छेको हुन्छ,’ उनले भने, ‘पुराना मोडेलका घर त बिर्सिहाले । यो तला नभएको घरमा अन्नपात राख्न पनि मिल्दैन ।’ अन्नपात राख्न पनि तला भएकै घर चाहिने अधिकांश भूकम्पपीडित बताउँछन् । ‘अहिले त नयाँ घर भनेका छन्, मंसिर लागेपछि धान थन्काउने ठाउँसम्म हुँदैन,’ उनले भने, ‘नढली चर्किएका पुरानै घर मर्मत गरेर त्यहाँमाथि अन्नपात राख्ने सोच यहाँका कतिपय मान्छेले बनाएका छन् ।’


पालुङटार नगर क्षेत्रमा भूकम्प प्रतिरोधी घर निर्माणको प्राविधिक सल्लाह दिँदै आएका इन्जिनियर दर्शन अधिकारी चेतनाको कमी हुँदा ढुंगामाटोले बनाइने परम्परागत घर निर्माणमा आकर्षण नबढेको बताउँछन् । ‘ढुंगामाटाको घर बनाउन सस्तो पनि पर्छ तर हामीले पाँच प्रतिशत लाभग्राहीले पनि त्यस्तो घर बनाएको देखेनौं,’ उनले भने, ‘परम्परागत शैलीका घर भूकम्पीय जोखिममा सुरक्षित हुने विधि पनि छन् ।’


तारजालीको प्रयोग गरेर ढुंगामाटोले भूकम्पप्रतिरोधी घर निर्माण गर्न सकिने उनले बताए । ‘नस हालेर बनाएका पुराना घर भत्किएका छैनन्,’ उनले भने । ढुंगाको गारोमा सिमेन्टको प्रयोग गर्दा सिमेन्ट बढी लाग्ने भएकाले पनि इँटा नै लाभग्राहीको रोजाइमा पर्ने गरेको उनले बताए ।


स्थानीयस्तरमै पाइने निर्माण सामग्रीको प्रयोग यहाँका निकै कम भूकम्पपीडितले गरेका छन् । सरकारले उपलब्ध गराएको १७ प्रकारका नक्सामध्ये ढुंगामाटोको प्रयोगबाट बन्ने घरको डिजाइन पनि रहेको प्राविधिकहरू बताउँछन् । ढुंगा र माटो, ढुंगा र सिमेन्ट, इँटा र माटो र इँटा र सिमेन्ट प्रयोग गरेर घर निर्माण गर्न सकिने विभिन्न प्रकारका डिजाइन सिफरिस नक्सामा रहेको गोरखा नगरपालिकाका इन्जिनियर प्रकाश ढकाल बताउँछन् । ‘मान्छेलाई ढुंगा माटोको घर कमजोर हुन्छ भन्ने फील भयो,’ उनले भने, ‘अधिकांश ढुंगा माटाका घर भूकम्पले भत्काएका पनि हुन् । ती प्रविधिमैत्री नहुँदा भत्किएका हुन् । पिल्लर उठाएका घरहरू पनि भूकम्पले भत्किए नि ।’


झ्यालको तलबाटै गारोलाई एक ढिक्का बनाउन काठका ब्यान्डहरू हाले ढुंगामाटाका घरलाई पनि भूकम्पप्रतिरोधी बनाउन सकिने उनले बताए । ‘सिल ब्यान्ड, डीपीसी, लिन्टेल ब्यान्ड, रुफ ब्यान्ड, ग्याबिन ब्यान्ड हाले भूकम्प प्रतिरोधी हुन्छ,’ उनले भने । सिमेन्ट नभई घर राम्रो र बलियो हँुदैन भन्ने मान्यताका कारण पनि ढुंगा माटाका घर बनाउने क्रम घटेको उनले बताए ।

प्रकाशित : आश्विन १५, २०७५ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?