मार्गदर्शक बा–आमा

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस
जितेन्द्र साह

बर्जु, सुनसरी — सुनसरीको बर्जु गाउँपालिका–१, शुक्रबारे बस्तीका हरेक घरमा हजुरबुबा–हजुरआमालाई संरक्षक र मार्गदर्शकका रूपमा हेरिन्छ, आदर गरिन्छ ।

मार्गदर्शक बा–आमा

‘मेरो हजुरबुबा त कृषिको एउटा पुस्तक नै हुनुहुन्छ,’ २३ वर्षीय गोविन्द गुरुङले भने, ‘खेत जोत्ने तरिका, क्षेत्रफलअनुरूप कति परिमाणमा बीउ र मल हाल्नेबारे उहाँसँग सुझाव माग्छु ।’ गोविन्द १५ महिने जेटीए र तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर उत्तीर्ण हुन् ।


उनी गाउँदेखि ४५ किमि पूर्वदक्षिणमा पर्ने मोरङको जहदा गाउँपालिकास्थित शैलजा आचार्य स्मृति पोलिटेक्निक कलेजमा जेटीएका विद्यार्थीलाई पढाउँछन् । बाँकी समय परिवारजनलाई खेतीपातीमा सघाउँछन् । उनीहरू एक बिघा जग्गामा खेती गर्छन् ।


‘धेरै ठाउँमा मेरो ज्ञानभन्दा हजुरबुबाको अनुभव काम लाग्छ,’ नाति गोविन्दले भने, ‘दुवै जना सल्लाह गर्छौं, परम्परागत र आधुनिक सोचको मेलले खेती राम्रै भएको छ ।’ हजुरबुबा लेखराज गुरुङ (घले) ७५ वर्षका छन् । वृद्ध लेखराजका तीन छोरा र तीन छोरी एवं उनीहरूका सन्तानसमेत ३० जनाको परिवार छ ।


लेखराज जेठो छोरा ४८ वर्षीय पुष्पराजसँग बस्छन् । पुष्पराजको परिवारमा ६ जना छन् । गोविन्द पुष्पराजकै छोरा हुन् । ज्ञान र अनुभवका खानी बुबालाई एकछिन पनि टाढा राख्न नसकिने पुष्पराजले बताए । ‘दुई–चार दिनका लागि बुबा कतै जाँदा दैनिक काम गर्नै अप्ठेरो हुन्छ,’ पुष्पराजले भने, ‘घर व्यवहारमा उहाँकै फैसला अन्तिम हुन्छ ।’

८० वर्षीय लखन मेहता (दायाँबाट दोस्रो) ।


खेतीयोग्य जग्गा र पशुपालनका लागि रामेछापबाट बसाइँ सरेको गुरुङ परिवारको यो चौथो पुस्ता हो । लेखराज ८ वर्षको हुँदा बुबाआमा एवं हजुरबुबा–हजुरआमासँग त्यतिबेला घनाजंगल भएको यो ठाउँमा आइपुगेका थिए । उनका पिता अमरबहादुर भारतमा फौजी थिए । असल परिवार पाएकामा लेखराज खुसी छन् । ‘परिवारबाट धेरै आदर र माया पाएको छु,’ लेखराजले भने, ‘सबैभन्दा पहिले मलाई खुवाउँछन् अनि अरूले खान्छन् ।’ उनकी बुहारी ४० वर्षीया जशोदा ससुराका कारण घरको माहोल राम्रो भएको बताउँछिन् । ‘धार्मिक कार्यक्रममा एक/दुई दिनका लागि कतै जानुभयो भने शून्य लाग्छ,’ उनले भनिन्, ‘हामीबाट केही गल्ती भयो भने सम्झाउनुहुन्छ, उहाँको उपस्थिति मात्रले पनि हिम्मत बढाउँछ ।’ लेखराजको दैनिकी रामायणको मौन पाठ र बुद्धका उपदेशबाट सुरु हुन्छ । बुबाले गर्दा निकै भर हुने गरेको जशोदाले बताइन् । ‘उहाँ घरको सुरक्षा कमान्डरझैं हुनुहुन्छ,’ उनले भनिन्, ‘उहाँको जिम्मामा घर छाडेर ढुक्कसँग बाहिर जान सक्छौं ।’ यो बस्तीमा २००७/०८ सालमा विभिन्न पहाडी भेकबाट मधेस झरेका २ सय घर गुरुङ परिवार छन् ।


उनीहरू राम र बुद्धलाई समान आदरसाथ पूजा गर्छन् । वरिपरि थारू एवं मधेसी समुदायको बाहुल्य भएकाले उनीहरूको वेशभूषा र बोलीमा गुरुङ प्रभाव कम हुँदै गएको छ । ‘हामीलाई थारू वा मधेसी भन्छन्’ जशोदाले भनिन् । यही बस्तीका ६० वर्षीय खड्गनारायण गुरुङको पनि परिवारमा उच्च आदर छ । ‘जग्गा किनबेच, आर्थिक लेनदेन, कुनै पनि समस्या आइपरेमा र सामाजिक व्यवहारलगायत विषयमा बुबाआमालाई नसोधी केही गर्दैनौंैं,’ उनकी बुहारी ३८ वर्षीया सविताले भनिन् ।


उनी बुहारी भएर आएको १६ वर्ष भइसकेको छ । उनी विराटनगरमा एक वित्तीय संस्थाका तर्फबाट दिनहुँ किस्ता उठाउने काम गर्छिन् । साइकलबाटै गाउँसहर ओहोरदोहोर गर्नु उनको दिनचर्या हो । ससुरा बुबा र सासू आमा शीतलीले घर, बारी र नातिको जिम्मेवारी सम्हालेकाले उनलाई जागिर गर्न सहज भएको छ । सविताका श्रीमान् मलेसियामा छन् । ‘ससुरा बुबाले आजसम्म व्यवहारमा थोरै पनि तलमाथि हुन दिनुभएको छैन, सासू आमाको पनि पूरा साथ छ,’ उनले भनिन् । खड्गनारायणका एक छोरा, दुई छोरी र ६ नातिनातिना छन् । खड्गनारायण पाँच सदस्यीय छोराबुहारीको परिवारसँग बस्छन् । समृद्धिका लागि परिवारलाई एकजुट राख्न जरुरी भएको खड्गनारायणले बताए । ‘खेतीपातीको सबै काम गर्छु,’ उनले भने ।


यो बस्तीमा गुरुङबाहेक मधेसी दलित, थारू र अल्पसंख्यक गरी ८ सय परिवारको बसोबास छ । उनीहरूको परिवारमा पनि ज्येष्ठ नागरिकको गरिमामय स्थान छ । ८० वर्षीय लखन मेहता र ७८ वर्षीया बिनादेवी मेहता निकै प्रसन्न मुद्रामा भेटिए । उनीहरू २०११ सालदेखि सपरिवार कृषि कर्म गर्दै बसिरहेका छन् । ‘बुबाआमा निरीक्षक र हामी कामदार हौं,’ छोरा ४५ वर्षीय सुरेन्द्र मेहताले भने, ‘खेती र घर गृहस्थी कसरी चलाउने भन्नेबारे उहाँहरूलाई सोध्छौं, हामीले ठीकसँग काम गरे/नगरेको उहाँहरूले हेर्नुहुन्छ ।’ मेहता परिवारले १ बिघा आफ्नै र झन्डै १५ कट्ठा जग्गामा अँधिया खेती गर्छन् । मेहता दम्पतीका एक छोरा, दुई छोरी र ९ नातिनातिना छन् । उनीहरू छोराबुहारी र नातिनीसँग आफ्नै घरमा बस्छन् ।


यो बस्तीका बासिन्दा साम्प्रदायिक सद्भावको मामिलामा पनि निकै माथि छन् । अन्तरजातीय बिहेलाई यहाँ सामान्य मानिन्छ । अन्य जाति समुदायका बुहारी ल्याइनु र अन्य जाति समुदायका लागि ज्वाइँका रूपमा स्विकार्नु सामान्यझैं भएको छ । प्रेम विवाह गरेका सुरेन्द्रकी पत्नी देवी रिजाल मेहता बाहुनकी छोरी हुन् । उनी पनि सासूससुरा भनेपछि हुरुक्कै हुन्छिन् । ‘खेतदेखि घरसम्मको सुरक्षा बाआमाले गर्नुहुन्छ, नातिनीहरूको हरपल रेखदेख गर्नुहुन्छ,’ बुहारी देवीले भनिन्, ‘परिवारको संरक्षकझैं हुन्, कहिलेकाहीँ काम विशेषले कहीँ जानुपर्दा पनि मैले नानीहरूको चिन्ता लिनुपर्दैन ।’


वृद्धवृद्धा, दीनदु:खी र बालबालिकालाई औधी माया गर्ने बानी देखेर देवीलाई मन पराएको पति सुरेन्द्रले बताए । उनले मैथिली लवाइखुवाइ र लवजलाई मजाले अपनाइसकेकी छन् । असल, मिलनसार र सम्मान गर्ने बुहारी पाएकामा सासूससुरा पनि दंग छन् । ‘घर व्यवहारदेखि खेतीपाती सबथोक सम्हाल्छिन्, आजसम्म चिया, खाजा र खाना देऊ भनेर माग्नुपरेको छैन,’ आमा बिना मेहताले भनिन्, ‘राम्रो कर्म गरेकाले छोरीजस्ती बुहारी पाएँ ।’

प्रकाशित : आश्विन १५, २०७५ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?