हिल्सा–जमुनाह फास्ट ट्रयाकमा समझदारी- समाचार - कान्तिपुर समाचार

हिल्सा–जमुनाह फास्ट ट्रयाकमा समझदारी

कलेन्द्र सेजुवाल

सुर्खेत — - कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण चीनबाट सुरु गरेका छन् । साताव्यापी चीन भ्रमणको क्रममा उनले प्राप्त गरेको प्रमुख उपलब्धि हो– कर्णालीको विकासमा सहयोगको प्रतिबद्धता ।

चीन भ्रमणबाट फर्केपछि कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई सुर्खेत विमानस्थलमा स्वागत गर्दै सामाजिक विकासमन्त्री दल रावललगायत । तस्बिर : कान्तिपुर

चीनसँग मात्र सीमा जोडिएको हुनाले कर्णाली सरकारले वैदेशिक सम्बन्धको पहिलो प्राथमिकतामा चीनलाई राख्ने गरेको छ । चीनसँगका नाका खोल्ने र सडक सञ्जालले जोडिने सपना कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रममै उल्लेख छ । मुख्यमन्त्री शाहीले सिचुवान प्रान्तमा चिनियाँ प्रतिनिधिसँग सपनाको त्यही पोको खोल्ने काम गरे । उनका अनुसार हिल्सा–जमुनाह फास्ट ट्रयाक निर्माणमा चीनले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

सुर्खेत विमानस्थलमा शनिबार आयोजित पत्रकार सम्मेलनमा उनले फास्ट ट्रयाक निर्माणका लागि चीन सरकार मातहतको चाइना हाइवे कम्पनीसँग प्रारम्भिक ‘समझदारी’ भएको जानकारी दिए । उक्त समझदारीमा ‘फिजिबिलिटी’ अध्ययन र प्रारम्भिक सर्भे गर्ने उल्लेख छ । ‘अध्ययनपछि कुरा मिल्यो भने संघीय सरकार र चाइना हाइवे कम्पनीबीच सम्झौता भई काम सुरु हुन्छ,’ उनले भने, ‘हाम्रो भ्रमणमा हिल्सा–जमुनाह फास्ट ट्रयाक महत्त्वपूर्ण उपलब्धिका रूपमा रहयो ।’

नेपाल सरकारले पहल गरे हुम्लाको हिल्सा, मुगुको नाग्चेलाग्ना र डोल्पाको मोरिम्ला नाका पनि छिट्टै खुल्ने अवस्था रहेको उनले बताए । मुख्यमन्त्री शाहीका अनुसार भ्रमणले चीनलाई कर्णाली प्रदेशमा सहयोगका लागि आउने वातावरण निर्माण गरेको छ । संविधानत: प्रदेश सरकारले अर्को देशसँग कुनै पनि सहमति–सम्झौता गर्न नमिल्ने भएकाले संघीय सरकारमार्फत चीन सरकारको सहयोग कर्णालीमा आउने उनको विश्वास छ ।

मुख्यमन्त्री शाहीले चिनियाँ प्रतिनिधिसँग कर्णाली प्रदेशमा विमानस्थल निर्माणका लागि पनि छलफल भएको बताए । सो क्रममा सुर्खेत विमानस्थल स्तरोन्नति र मदानेचौरमा प्रस्तावित क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सहयोगको प्रतिबद्धता व्यक्त भएको मुख्यमन्त्री शाहीको भनाइ छ । प्रदेश सरकारले ‘कर्णाली एयर’ नाममा आफ्नै एयरलाइन्स सञ्चालन गर्ने सोच बनाएको र उक्त योजनाका लागि चीनसँग ऋणबारे छलफल भएको पनि शाहीले बताए । ‘कर्णालीमा आन्तरिक उडान र अन्तरप्रदेशीय उडानका लागि कम्तीमा २ विमान खरिद गर्ने योजना बनाएका छौं,’ उनले भने, ‘यो प्रक्रियामा हामीले चीन सरकारसँग ऋण सहयोगको अपेक्षा गरेका छौं, प्रतिक्रिया सकारात्मक आएको छ ।’

कर्णालीमा लगानी गर्न प्रदेश सरकारले घोषणा गरेका टयाक्स फ्री (कर मिनाह) योजनाबारे पनि चीन सरकारलाई जानकारी गराएको मुख्यमन्त्री शाहीले बताए । यसले चिनियाँ लगानीकर्तालाई भौगोलिक रूपमा विकट कर्णाली प्रदेशमा लगानी गर्न उत्साहित गर्ने उनको भनाइ छ । ‘कर्णालीमा लगानी गर्ने थुप्रै सम्भावनाका क्षेत्र छन्, तीबारे हामीले चिनियाँ सरकारका प्रतिनिधिलाई जानकारी गरायौं,’ उनले भने, ‘चीनसँग मात्र सीमा जोडिएकोले पनि हाम्रो लागि लगानी भित्र्याउन सहज छ ।’

सिचुवान प्रान्तका गभर्नर यिन लीको निमन्त्रणमा मुख्यमन्त्री शाही ३ सदस्यीय टोलीसहित असोज ३ गते चीन गएका थिए । टोलीमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र सांसद धर्मराज रेग्मी सहभागी थिए । भ्रमणका क्रममा मुख्यमन्त्री शाहीको टोली सिचुवानमा आयोजित १७ औंं वेस्टर्न चाइना इन्टरनेसनल फायर बेल्ट एन्ड रोड डेभलपमेन्ट कन्फरेन्समा सहभागी भएको थियो ।

प्रकाशित : आश्विन १४, २०७५ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

मुहार फेरिँदै ताप्लेजुङ अस्पताल

कान्तिपुर संवाददाता

ताप्लेजुङ — सधैं दुर्गन्धित । शौचायल कहिल्यै सफा नहुने । बिजुलीको बल्बदेखि उपकरणसम्म चोरी हुने, यस्तै पहिचान बनाएको जिल्ला अस्पतालको मुहार फेरिने भएको छ ।

नेपाल मेडिकल सपोर्ट जर्मनीको सहयोगमा ताप्लेजुङ विकास मञ्चले अस्पतालको भौतिक संरचना सुधार गर्ने भएको हो । यसका लागि १ करोड २ लाख रुपैयाँको सम्झौता भइसकेको छ ।

मञ्चका अध्यक्ष सन्तोष प्रसाईंका अनुसार पहिलो चरणमा जस्तापाता फेरिनेछ । यसको काम यसै साताको अन्त्यदेखि सुरु हुने उनले बताए । ‘जस्तापाता आइसकेको छ, अब पुरानोलाई निकाल्ने र त्यसका लागि फेर्नुपर्ने काठ फेरेर लगाउन सुरु गर्छौं,’ उनले भने, ‘हाम्रो योजनाअनुसार १ महिनामा यो काम सकिनेछ ।’ अस्पतालको अधिकांश भागमा अहिले पानी चुहिन्छ । यहाँ नीलो रङका जस्तापाता लगाउन लागिएको हो ।

जस्तापातापछि भुइँमा टायल लगाउने, भएको टायललाई घोटेर सफा बनाउने र अस्पतालको पूरै भाग रङरोगन गरिनेछ । शौचालयलाई भने पुन:संरचना गरिने प्रसाईंले बताए । नयाँ नबनाउने र भएकालाई व्यवस्थित गर्ने सम्झौताअनुसार खाल्टा सफा गर्ने, प्यान फेर्ने, टायल लगाउनेलगायत काम गरिनेछ । यहाँका झयाल, ढोका पूरै फेर्ने सहमतिपत्रमा उल्लेख छ ।

खानेपानीका लागि फिल्टर राखिनेछ । यसको व्यवस्था २ ठाउँमा हुनेछ । अहिले प्रयोग भइरहेको पानी शौचालय, कपडा धुन र सरसफाइमा मात्रै प्रयोग गरिनेछ । खानेपानीका लागि छुट्टै व्यवस्था हुनेछ । खानेपानीको मुहान र घरको सेफ्टी ट्यांकी सँगै भएकाले अहिलेको पानी प्रयोगका लागि उपयुक्त नभएको निष्कर्षसहित यस्तो व्यवस्था गर्न लागिएको उनले बताए । अस्पताल सुधारमा प्रतिनिधिसभा सांसद योगेश भट्टराई क्रियाशील छन् । दातृ संस्थासँग उनैले सम्झौता गराएको मञ्चले जनाएको छ ।

अस्पतालमा थ्री फेज लाइनको बिजुली पुर्‍याउने र भएकोलाई पूरै परिवर्तन गर्ने उल्लेख छ । यसका लागि मात्रै संस्थाले ६ लाख रुपैयाँ छुटयाएको छ । पहिलो चरणमा यी काम सम्पन्न भएपछि सीसीक्यामरा जडान गर्ने, उपचारमा प्रयोग हुने उपकरण खरिद गर्ने सम्झौतामा उल्लेख छ । दातृसंस्थाले पहिलो चरणको कामको मूल्यांकन गरेर दोस्रो सम्झौता गर्न लागेको हो ।

दोस्रो चरणमा ८० हजार युरो अर्थात करिब १ करोड रुपैयाँ दिने मौखिक सहमति भएको छ । दातृसंस्थाका प्रतिनिधि स्वयंले आएर अस्पतालको अवलोकन गरेका थिए । स्थानीयको विशेष आग्रहमा उनीहरू सहयोगका लागि तयार भएको अवलोकनमा सँगै रहेका लिटिल बुद्ध माविका प्रधानाध्यापक युवराज गिरीले बताए ।

प्रदेशले एक करोड २० लाख दिने १५ शय्याको जिल्ला अस्पताललाई ५० शय्यामा स्तरोन्नति गर्न प्रदेश सरकारले १ करोड ३० लाख रुपैयाँ दिने भएको छ । एक नम्बर प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले अस्पतालको भ्रमणपछि बजेट घोषणा गरेका हुन् ।

घिमिरे सिरिजंगा गाउँपालिकाको सिकैंचामा आयोजित स्वास्थ्य शिविरमा पुगेर फर्कने क्रममा अस्पतालको अवलोकन गरेका छन् । बजेट खर्च गर्ने योजना अस्पताल विकास समितिले गर्नेछ । अहिले जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा अस्पताल विकास समिति बनाइएको छ ।

प्रकाशित : आश्विन १४, २०७५ ०८:३९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×