कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पर्यटन उकास्न ‘मेची करिडोर’

कान्तिपुर संवाददाता

दमक — पूर्वका ४ जिल्लाका होटल व्यवसायीले पर्यटन व्यवसाय प्रवद्र्धनका लागि ‘मेची करिडोर’ निर्माण थालेका छन् । उनीहरूले झापा, इलाम, पाँचथर र ताप्लेजुङमा रहेका पर्यटकीय स्थलको पहिचान तथा व्यावसायिक प्रवद्र्धनमा जोड दिएका छन् ।

पर्यटन उकास्न ‘मेची करिडोर’

४ जिल्लाका करिब २ सय होटल व्यवसायी करिडोर निर्माणको खाका बनाउन जुटेका हुन् । उनीहरूको पहिलो भेला बिहीबार दमकमा भएको थियो । भेलाले सम्भावित पर्यटकीय क्षेत्रको पहिचान तथा करिडोरमा समेट्नुपर्ने कारणबारे अध्ययन गर्ने निर्णय गरेको छ ।

भेलाले आन्तरिक तथा बाह्य पर्यटकका लागि पर्यटकीय क्षेत्रमा निर्माण गर्नुपर्ने भौतिक पूर्वाधारबारे पनि अध्ययन गर्नेछ । भेलामा चार जिल्लाका होटल तथा पर्यटन व्यवसायीबीच व्यावसायिक सम्बन्ध, अन्तरजिल्ला व्यापार प्रवद्र्धन, स्थानीय एवं प्रदेश सरकारसँग सम्बन्ध तथा समन्वय विस्तार र करिडोरस्तरीय समन्वय समिति गठनबारे छलफल भएको छ ।

‘हामीले यस क्षेत्रमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा तिनलाई व्यावसायिक रूपमा अघि बढाउन खोजेका छौं,’ होटल व्यवसायी संघ माईपश्चिम क्षेत्रीय समिति झापाका अध्यक्ष राजन दंगालले भने, ‘यसका लागि हामीलाई करिडोर बनाएर अघि बढ्न जरुरी छ ।’ करिडोर निर्माण गर्न सके मुलुकको पर्यटन उद्योगलाई ठूलो टेवा पुग्ने उनले दाबी गरे ।

उनले पर्यटन प्रवद्र्धनका लागि राज्य पक्षबाट उचित सहयोग नपाएकाले व्यवसायी मिलेर करिडोर बनाउन लागेको जनाए । उनले करिडोर निर्माण भए, झापाको सतासीधाम, दोमुखा, कन्काईधाम, अर्जुनधाराधाम, विराटपोखरी, किच्चकबध, कचनकवल, इलामको कन्याम, सन्दकपुर, श्रीअन्तु, फिक्कल, माईपोखरी, पाँचथरको राँके बजार, पौवाभन्ज्याङ, फिदिम, भारपाको सल्लेरी वन र ताप्लेजुङको तमोर नदीमा र्‍याफ्टिङ, कञ्चनजंघा हिमालदेखि पाथीभरा मन्दिरको समुचित विकास गराउन सकिने दाबी गरे ।

उनले यी क्षेत्रलाई समेटेर करिडोर निर्माण गर्न लागेको बताए । नेपाल घुम्न आउने विदेशी पर्यटकलाई पूर्वका पर्यटकीय स्थलसम्म ल्याउन करिडोरले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनले जानकारी दिए ।क्षेत्रीय समितिका उपाध्यक्ष सुधीर प्रधानले करिडोरको माध्यमबाट पर्यटकीय स्थलहरू घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सहज र सरल हुने दाबी गरे । उनले भने, ‘करिडोर बन्यो भने पर्यटकलाई एउटा सस्तो प्याकेजमा पूर्वका बढीभन्दा बढी पर्यटकीय स्थल घुम्न सहज हुनेछ । थोरै समयमा सुरक्षित तरिकाले पर्यटकले हाम्रो क्षेत्रको अवलोकन गर्न भ्याउने छन् ।’

होटल व्यवसायी संघ पाँचथर अध्यक्ष महेन्द्रमान थाम्सुहाङले पूर्वमा मुलुककै आकर्षक पर्यटकीय स्थल रहे पनि प्रचारप्रसार र प्रवद्र्धनको कमीले ओझेलमा परेको बताए । सरकारसँगको साझेदारीमा ती क्षेत्रको भौतिक विकास गराउन सके मुलुकको पर्यटन उद्योगलाई स्थापित गराउन महत्त्वपूर्ण अवसर हुने उनको बुझाइ छ । यसका लागि पनि करिडोर बनाउन जरुरी रहेको उनी औंल्याउँछन् ।

होटल व्यवसायी संघ ताप्लेजुङका अध्यक्ष दिनेश खवासले पाथीभरा मन्दिर र कञ्चनजंघा हिमाल हेर्न आउने उल्लेख्य भए पनि उनीहरूबाट पर्यटन व्यवसायीले फाइदा लिन नसकेको बताए । उनले भने, ‘अहिले पनि पाथीभरा दर्शन र कञ्चनजंघा हिमाल हेर्न आउने स्वदेशी/विदेशी पर्यटक प्रशस्तै छन् । तर, हामीले उनीहरूबाट फाइदा उठाउन सकेका छैनौं ।’

अब करिडोरमार्फत ताप्लेजुङसम्म पुग्ने पर्यटकलाई पाँचथरको तरकारी र फलफूल खुवाउने र इलामको चिया तथा कफीको स्वाद चखाउन सक्नुपर्ने उनले बताए । यस्तै झापामा आएर यहाँका आदिवासीका होमस्टेमा बास बसाएर स्थानीय सांस्कृतिक स्वाद पस्किनुपर्नेमा उनले जोड दिएका छन् । पर्यटन बोर्डका अधिकृत कुन्दन शर्माले सन् २०२० सम्ममा नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएकाले ‘मेची करिडोर’ निर्माण भए लक्ष्य पूरा गराउन कोसेढुंगा साबित हुने बताए ।

प्रकाशित : आश्विन १४, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?