बलात्कारको बिकराल स्थिति : ५ महिनामा ७ सय १० जना बलात्कृत, ३ सय ९१ उजुरी (सूचीसहित)

टीकाराम तामाङ

काठमाडौँ — पछिल्लो ५ महिनाको अवधिमा देशभर ७ सयभन्दा बढी बलात्कारका घटना भएका छन् । सरकारले प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिमा पेस गरेको विवरणमा यो तथ्य उल्लेख छ ।  

महिला तथा सामाजिक समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगर र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित भएर महिला हिंसाकोपछिल्लो अवस्थाबारे जानकारी गराउँदै ।

बिहीबार समिति बैठकमा गृहमन्त्री रामबहादुर थापा, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापामगर र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित उपस्थित भएर महिला हिंसाकोपछिल्लो अवस्थाबारे जानकारी गराएका थिए।

त्यसक्रममा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले समितिलाई बुझाएको कार्यप्रगतिसम्बन्धी प्रतिवेदनमा पछिल्ला ५ महिनामा भएका घटना विवरण पनि उल्लेख छ।

नेपाल प्रहरीको स्रोतबाट लिइएको उक्त प्रतिवेदनमा गत वैशाखदेखि भदौसम्म ७ सय १० वटा जबर्जस्ती करणीका घटना भएका तथ्यांक छ।

लैङ्गिक हिंसाको अवस्था शीर्षकमाप्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार सोही अवधिमा ३ सय ९१ जबर्जस्ती करणीको उजुरी परेको छ।

तथ्यांकः नेपाल प्रहरी

त्यस्तै बहुविवाहको ३ सय ४०, बालविवाहका घटना ४० भएका छन् भने घरेलु हिंसाको घटना उच्च देखिएको छ।

तथ्यांकअनुसार घरेलु हिंसाका घटना ५ हजार ४ सय १७ रहेको छ। अवैधगर्भपतनको उजुरी भने १० वटा मात्रै प्रहरी तथ्यांक छ।

पछिल्ला वर्षमा महिला हिंसा र बलात्कारका घटनाका उजुरीको चाप बढेको प्रहरीले बताएको छ। यसो हुनुको कारण मानवीय चेतना कारक भएको महिला अधिकारकर्मीहरुले बताएका छन्।

प्रकाशित : आश्विन १३, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

राष्ट्रसंघमा प्रधानमन्त्रीको सम्बोधन: ‘नेपाल अनुभव बाँड्न इच्छुक’

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले संवाद र सहमतिको आफ्नै प्रक्रियामा अघि बढेको नेपालको द्वन्द्व रूपान्तरण विश्वमै उदाहरणीय रहेको भन्दै अन्यत्र यसको अनुभव बाँड्न आफू इच्छुक रहेको बताएका छन् ।

राष्ट्रसंघीय महासभालाई बिहीबार न्युयोर्कमा सम्बोधन गर्दै ओलीले नेपालको मामिला शान्तिपूर्ण र लोकतान्त्रिक रूपान्तरणको एक अद्वितीय उदाहरण भएको पनि बताए ।


‘यो प्रमाण हो कि संवादले भिन्नताहरूलाई जित्छ अनि मतले बन्दुकलाई,’ उनले भने, ‘हामीलाई विश्वास छ, नेपालले द्वन्द्व रूपान्तरणमा जे हासिल गरेको छ, त्यो शान्तिकामी संसारका विभिन्न भूभागका मानिसका लागि उत्साहप्रद सफलताको कथा हुन सक्छ । (यसका लागि) हामी हाम्रो अनुभव र अन्त:दृष्टि बाँड्न इच्छुक छौं ।’


करिब २७ मिनेट लामो भाषणमा ओलीले १२ वर्षअघि भएको शान्ति सम्झौतायता नेपालमा भएका परिवर्तन, नेपालको वैदेशिक नीति, विश्व मामिलाका विभिन्न घटना र राष्ट्रसंघको प्रयासका सम्बन्धमा बोलेका थिए । ‘मैले सन् २००६ मा यस पोडियममा उभिएर बोलेयता नेपाल ठूलो ऐतिहासिक राजनीतिक रूपान्तरणबाट गुज्रिएको छ,’ ओलीले भने, ‘हामीले संवाद, बहस, आपसी सम्मान अनि समायोजनमार्फत अनुपम रूपले सफल गृह–उत्पादित, राष्ट्रिय रूपले नेतृत्व गरिएको र जस जिम्मा लिइएको शान्ति प्रक्रियालाई अघि बढाएका छौं । यो सशस्त्र द्वन्द्वको शान्तिपूर्ण रूपान्तरणका बारेमा सम्बन्धित थियो अनि राज्यको पुन:संरचना र विविधतामा एकताको प्रवद्र्धनसँग पनि सम्बन्धित थियो ।’


नेपाली जनतालाई साँचो रूपले सार्वभौम र राज्य शक्तिको स्रोतका रूपमा रूपान्तरण गरिएको पनि उनले बताए । जनताको मतबाट निर्वाचित संविधानसभाले सबै उपलब्धिलाई संस्थागत र ठोस बनाएको उनको तर्क थियो । संविधान कार्यान्वयन गर्न गत वर्ष मात्रै तीन तहको निर्वाचन गरिएको र ४१ प्रतिशत महिलाहरू चुनिएको उल्लेख गर्दै ओलीले थप ९ प्रतिशत सहभागिता बढाएर नेपालका हरेक अंगमा लैंगिक समानता कायम गर्ने योजना रहेको सुनाए ।


‘चुनावले सम्भव भएसम्मको फराकिलो ढंगले नेपाली जनताको लोकतान्त्रिक अधिकारलाई सुनिश्चित मात्रै गरेको छैन, यसले वर्षौंपछि स्थिर सरकार पनि दिएको छ,’ ओलीले भने, ‘मैले नेतृत्व गरेको सरकारलाई संसद्को तीन चौथाइ मतले समर्थन गरेको छ, प्रादेशिक सरकारले पनि बलियो बहुमतको समर्थन पाएका छन् । यो निर्वाचनमार्फत हामीले साह्रै आवश्यक राजनीतिक स्थायित्व पाएका छौं ।’


सामाजिक न्यायका हकहरू नीतिको केन्द्रमा राखिएकाले प्रत्येक नागरिकलाई समान व्यवहार गरिने संस्कृतिको सुरुवात नेपालमा भएको पनि उनले बताए ।


नेपालको शान्ति प्रक्रियामा राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले सघाएकामा ओलीले आभारसमेत प्रकट गरे । स्थिरतापछि नेपालमा आर्थिक रूपान्तरणको क्रम सुरु भएकाले आफ्नो सरकारले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को परिकल्पना गरेको उनले बताए । यसका लागि देशमा उपलब्ध प्राकृतिक स्रोत र मानव संसाधनको सावधानीपूर्वक उपयोग आफ्नो गर्ने रणनीति रहेको ओलीको कथन थियो ।


यसका लागि दाता राष्ट्रको सहयोग पनि उनले मागे । ‘हामी हाम्रो विकास–प्रयत्नमा अन्तर्राष्ट्रिय जगतको निरन्तरको शुभेच्छा, सहयोग र सहकार्यको कदर गर्छौं,’ उनले भने, ‘हाम्रो विदेश नीतिले सबैसँग मित्रता राख्न तर वैरभाव कसैसँग नगर्न मार्गनिर्देश गर्छ ।’ यही नीतिले विश्वव्यापी विषयहरूमा गुण र दोषका आधारमा नेपालको स्वतन्त्र दृष्टि रहँदै आएको उनले बताए । सबैसँगको मैत्रीभाव भन्ने नीतिअनुसारै भर्खरै नेपालले बिमस्टेक सम्मेलन आयोजना गरेको र त्यसअनुसारकै पुनर्ताजगी भएको सार्क आफूले देख्न चाहेको अभिलाषा पनि उनले प्रकट गरे ।


गरिबी, हिंसा, अविकास, भोकमरीलगायतका समस्याले विश्व आक्रान्त भइरहेका बेला ‘सबैका लागि सान्दर्भिक राष्ट्रसंघ : शान्त, समतामूलक र दिगो समाजका लागि विश्वव्यापी नेतृत्व र साझा उत्तरदायित्व’ भन्ने भावका साथ सुरु भएको ७३ औं महासभाले समयको मागलाई प्रतिध्वनित गरेको ओलीको तर्क थियो । ‘कसैलाई पनि पछि नछाड्ने’ भन्ने दर्शनसँग ‘राष्ट्रसंघ सबैका लागि सान्दर्भिक’ भन्ने अभियान जोडिएको उनले बताए ।

प्रकाशित : आश्विन १३, २०७५ १०:२५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×