१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अस्तित्व मेटिने खतरामा साततले दरबार

झिँगटी, इँटा, कलात्मक काठ खसेर गारो चिरा पर्न थालेपछि टेको दिएर अड्याउने प्रयास
कृष्ण थापा

नुवाकोट — काठमाडौंबाट आएका एक जोडी साततले दरबारलाई पृष्ठभूमि बनाएर सेल्फी खिच्दै थिए । विदेशी पर्यटक बुधबार त्यसैलाई आफ्ना क्यामेरामा कैद गर्दै थिए । ‘इतिहास बोकेको साततले दरबारको हरिविजोग भएछ,’ खोटाङबाट घुम्न आएका तारानाथ आचार्यले भने ।

अस्तित्व मेटिने खतरामा साततले दरबार

दरबारलाई एकटक लगाएर हेर्दै उनले भने, ‘यो ढल्यो भने त नुवाकोट हेर्न भनेर आउने के नै बाँकी रहन्छ र ?’ पुर्खाले छाडेर गएको चिनो जोगियोस् र भावी सन्ततिले हेर्न पाऊन् भन्ने उनमा चिन्ता थियो ।

यहाँका धरोहर र इतिहासप्रति चाख राख्दै आएका विदुर नगरपालिका २ का अनुप
खड्काले दरबारको दुरवस्थाबारे भने, ‘विदेशी पाहुना हुन् वा स्वदेशी, सम्झना स्वरूप यही दरबारको तस्बिर लैजाने गर्थे । यस्तै हो भने नुवाकोट दरबारको इतिहास मेटिने अवस्था आएको छ ।’

विदुरनगरपालिका २ मा रहेको यो दरबारको पश्चिमको पाँचौं तल्लाको छाना भत्केर दिनहुँ झिँगटी, इँटा, कलात्मक काठ खसिरहेका छन् । गारो चिरा पर्न थालेको छ । तलबाट टेको दिएर अड्याउने प्रयास भएको छ । गोरखाका राजा पृथ्वीनारायण शाहले १८०१ मा नुवाकोट विजयी गरेपछि १८१७–१९ मा ललितपुरका कालीगढ झिकाएर दरबार बनाएका थिए ।

‘कलाकारले काष्ठकलाको अनुपम स्वाद यसमा पोखेका छन्,’ चीनको बेइजिङबाट रसुवागढी हुँदै यहाँ आएका डेनिस पर्यटकले भने, ‘अतिसुन्दर कला छ ।’ उनले अंग्रेजीमा भन्न नपाउँदै उनलाई लिएर आएका किप्लिङ ट्राभल्सका गाइड भरतराज पुरीले उनीहरूको भनाइसँगै थपे, ‘यति सुन्दर दरबारलाई सरकारले किन बनाउन ढिला गरेको होला भनेर सोध्छन् । यस्तो कला उनीहरूले यहीं मात्र देखेको भन्छन् ।’ कुनै बेला देशको शासन व्यवस्था सञ्चालन तथा राजधानी भएको नुवाकोट दरबारको अस्तित्व मेटिने आशंका बढेर गएको छ । चीनले यही कात्तिक मंसिरबाट काम थाल्छु भनेको नगरपालिका २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले बताए ।

साततल्ले वरिपरि मल्लकालीन रंगमहल, गारदघर दरबार, विष्णु, नारायण मन्दिर, बहादुर शाहको बैठककक्ष थिए । तीमध्ये बहादुर शाहको बैठककक्षको अस्तित्व मेटिइसकेको छ । रंगमहलका ढल्ने अवस्थामा छ । भएका कलात्मक काठ कुहिएका छन् ।

दरबारभन्दा माथि तुलजा भवानीको दरबार झारपातले ढपक्क ढाकेको छ । भूकम्पले भत्काएको साढे ३ वर्ष बित्न लाग्दा समेत ऐतिहासिक सम्पदा पुनर्निर्माणमा सरकारको ध्यान नदिएको अनुप खड्काले बताए । दरबारभन्दा दक्षिण रहेको भैरवी मन्दिर निर्माण ठेक्का सम्झौता सकिए पनि ६ महिना थप भएको छ । मन्दिर निर्माणको काम आधा मात्र सकिएको छ ।

प्रकाशित : आश्विन १२, २०७५ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?